​ऊनदेखि सुनसम्म : असन- मुलुककै ठूलो ओपन डिपार्टमेन्टल स्टोर

​ऊनदेखि सुनसम्म : असन- मुलुककै ठूलो ओपन डिपार्टमेन्टल स्टोर
असनको अर्थतन्त्र गज्जबकै छ । त्यहाँका परम्परागत पसलदेखि आधुनिक मलसम्म उत्तिकै भिड हुन्छ । मुलुककै ठूलो ओपन डिपार्टमेन्टल स्टोरभन्दा फरक पर्दैन असन बजारलाई । त्यहाँ नपाइने चिज केही छैन । 

तपाइँलाई थाहा छ–नेपालको सबैभन्दा पुरानो शहर कुन हो ? त्यसैलाई नेपालको पहिलो खुला डिपार्टमेन्टल स्टोर भन्न पनि सकिन्छ । त्यहाँ नपाइने चिज केही छैन, ऊनदेखि सुनसम्म पाइन्छ । त्यो सहरको नाउँ–असन बजार । 

आज पनि उस्तै रौनक छ असनको । किनमेलका लागि दिनहुँ हजारौं ओहोरदोहोर गर्छन । काठमाडौंको भोटाहिटीबाट पसेपछि थाहा हुन्छ, भिड कतिसम्म हुन्छ भनेर । सधैं ठेलमठेल हुन्छ । कहिलेकाहिँ अघि बढ्न वा पछि सर्न सकसै हुन्छ । 

असन गल्लीका खिच्रिकमिच्रिक पसल हुन् या व्यवस्थित शपिङ सेन्टर, जताततै ग्राहकको घुइँचो हुन्छ । दालचामल किन्ने कि मसला, पूजा सामान किन्ने कि कपडा, ऊनी कपडा किन्ने कि जडीबुटी सबै सामान पाइन्छ असन–इन्द्रचोकतिर । 

खोजेजस्तो नुनदेखि सुनसम्म सबै सामान एकै ठाउँमा पाइने भएकाले पनि मान्छेहरू असन धाउँछन् । 

झट्ट हेर्दा प्राचीन बजार र आधुनिक मलको फ्युजनजस्तै लाग्छ असन । मानिसका हातहातमा किनमेलका लिस्ट देखिन्छ । कोही डायरीका पाना पल्टाईरहेका हुन्छन् । बिहानदेखि साँझैसम्म जाग्छ असन । मर्निङ वाकसँगै हरियो सब्जी बोकेर फर्कने पनि हुन्छन् । इन्द्रचोकको अन्नपूर्ण मन्दिरमा दिनैभर भिड लाग्छ । त्यहाँका फूल पसलमा चहलपहल बढ्छ । 

एकैछिन कुरा गरौं किराना पसलका साहुजी लाभरत्न तुलाधरसँग । उनका बाजेले सुरु गरेको पसलमा मासु र सब्जी बाहेक खाद्यान्न, चामल, चिउरा, दाल, घिउ, मसला सबै चिज पाइन्छ । पुराना दिन कोट्याउँदा उनी नोस्टाल्जिक बन्छन् । विसं २०१३ सालसम्म असनका सबै घर माटो वा बज्रबाट बनेका थिए । 

तिनताका घर तीन तले हुन्थे । छाना झिँगटीका । मानिस थोरै थिए । ‘अहिले अग्लाअग्ला घर बनिसके । जनसंख्या पनि बाक्लो भयो’, उनले भने, तीस साल अघि असनमा ४५ फिट अग्ला घर मात्र बनाउन पाइन्थ्यो । मानिस छाना छाउन थिमीबाट नल बोकेर ल्याउँथे । त्यो समयमा मोटर थिएन । मान्छेले नै बोक्नु पथ्र्यो । भक्तपुरतिरबाट ल्याइएको अन्न सुरुमा अन्नपूर्ण माताको मन्दिरमा बिसाइन्थ्यो । बिक्रि गर्नु अघि त्यहाँ एक मुठि चढाइन्थ्यो । 

ganesh-mandir-an-old-shopkeeper-standing-with-locally-grown-groud-in-his-hands-at-the-ason-market-image-buddhaair-yatramagazineबल्ल २८ सालमा मेट्रिक प्रणाली आयो । सामान किलो र पाउमा किनबेच हुन थाल्यो । त्योभन्दा अघि मुरी, माना र पाथीका हिसाबले बेचिन्थ्यो । तुलाधर सम्झन्छन्, ‘नेपाली जातको चामल मात्रै ४ थरिको पाइन्थ्यो । थापा चिनी, मार्सी, बासमति र तौली धानको चामल ।’

तिनताका चामल मानाको ७० पैसा पथ्र्यो । मकै र गहुँ मानाको जम्मा २५ पैसा । मेट्रिक सिस्टम आएर धेरैलाई अलमल भएको लाभरत्नको बुझाई छ । भन्छन्, ‘एक मुरी अन्न नापेको ७२ किलो हुँदो रहेछ ।’ पहिले पहिले १०० किलो बोरासम्ममा आउने चामल अहिले एक दुई पाँच, दश, बीस÷ पच्चिस केजीका बोरामा आउँछ । किन यस्तो त ? तुलाधर भन्छन्, ‘मानिसहरू आजभोली भारी बोक्न चाहदैनन् ।’

ऊबेला प्रशस्त अन्न फल्ने भक्तपुर, काठमाडौं र ललितपुरमा आज धान फल्दैन, घर ठडिइसके । 

पहिला असनमा वैद्य पसल धेरै थिए, अचेल थोरै छन् । त्यसो त असनमा फलाम, तामा र पित्तलका भाँडावर्तन पनि पाइन्छ । सुनचाँदी र कपडाको कारोबार पनि राम्रो हुन्छ । 

असनमा सवारी साधनको पनि भिड लाग्छ । तुलाधर सम्झन्छन्, ‘३० साल आसपासमा गाडी आएसँगै । गाडीमा इँटा बोक्ने लोरीहरूमा इँटासँगै मानिस ओहोरदोहोर गर्थे असनमा ।’ घर र बस्ती पनि पातलै थियो असनको । प्रत्येक घरका नाम हुन्थे । पछि तिनै घरका नाम टोलका नाम भए । 
पुराना केही घर बाँकी छन् । ०७२ सालको भूकम्पले केही घरमा क्षति पु¥यायो । भूकम्पले क्षति गरेपनि बजार जिउँदो जाग्दो नै छ ।

मठमन्दिरका लागि समेत असन चर्चित छ । चोकमा मन्दिर छन् । अन्नपूर्ण र गणेश यहाँका चर्चित मन्दिर । अन्नपूर्ण मन्दिरको शिलापत्रमा लेखिए अनुसार यहाँ मन्दिर बन्नुमा सम्राट अशोककोे ठूलो हात छ । त्यसैले पहिला असनलाई अशोक मण्डप भनिन्थ्यो । सम्राट अशोकले नै भिक्षु-भिक्षुणी पठाएका थिए । मन्दिर स्थापना गर्न भिक्षुुहरू असन आएका थिए । उनीहरूले ठाउँ ठाउँमा चैत्य बनाए । पछि अरु मन्दिर पनि बने । 

असनमा किनमेल गर्न जाँदै हुनुहुन्छ भने राम्रै बार्गेनिङ पनि गर्नुस है । हैन, रमिता मात्रै हेर्ने हो भने असनको फन्को मारेर फर्किनुस् ।

महँगी बढ्यो
प्रविणरत्न तुलाधर, व्यापारी 
हाम्रो बाजेले सुरु गरेको घिउ तेलको व्यापार ८० वर्ष पुरानो भैसक्यो । मेरा बाजे नै अहिले १०४ वर्षको हुनु भयो । हाम्रो पसलमा घिउ, तोरीको तेल, चाकु, सख्खर र मिठाईका मसला साथै पूजा सामग्री पाइन्छ । पहिला बाजेले सुदुरपश्चिमबाट घिउ झिकाउनुहुन्थ्यो । अचेल पनौतीबाट आउँछ । डेरीबाट पनि ल्याउँछौं । पहिला पहिला ३५ रुपैयाँ किलोमा घिउ बेच्थ्यौं । अहिले त महँगी कहाँ पुगिसक्यो । पहिला अन्नपूर्ण मन्दिर छेउमा एक दर्जन घिउ पसल थिए । अहिले आधा दर्जन जति मात्र बाँकी छन् । बाउबाजेले थालेको काम घरमै भएको हुँदा अरु काम गर्ने जाँगर आएन । मलाई यही पेशा नै रमाइलो लाग्छ ।

niranjan-joshi-a-shopkeeper-at-ason-marketदौरा सुरुवाल 
निरन्जन जोशी, व्यापारी
बाजेले भेडासिंमा सुरु गरेको दौरा सुरुवाल पसललाई भाई, म र छोरा मिलेर चलाउँदै आएका छौं । अनुभवी भएकाले ग्राहकहरू खोजी खोजी आउँछन् । अचेल दौरासुरुवाल लाउनेहरू कम छन् । पहिला राजकाजका काममा दौरा सुरुवाल अनिवार्य थियो । अहिले राष्ट्रिय पोसाक के हो भन्ने नै छैन । बरु विदेश जाँदा एक सेट दौरा सुरुवाल बोकेर जाने चलन छ । मैले बिए पास गर्दा ३५ सालतिर १७ रुपैयाँको कोट लगाएको थिएँ । मेरो पसलमा कोट, इस्टकोट, ज्वारी कोटहरू बन्छन् । उहिले बाजेले कोलकाता पुगेर व्यापार गर्थे । अहिले पनि हाम्रो दौरा सुरुवाल भारतसम्म पुग्छ । हामी भोजपुर, ताप्लेजुङ र शंखुवासभाबाट खाडीका कपडा ल्याउँछौं । 

फूलै संसार
श्याम माली, व्यापारी
म बिहानदेखि साँझसम्म फूल उनेर माला बनाउँदै बस्छु । चाडबाडमा मात्र होइन, सधैं फूल र मालाको राम्रो व्यापार हुन्छ । दुई दशक भयो मैले shyam-mali-a-flower-seller-at-ason-market-also-called-bazarयसरी बेच्न थालेको । पहिले पहिले त स्थानिय फूल बेच्थें, अहिले यहाँ फूल फुलाउनेहरू छैनन् । भारत र बैंककबाट ल्याइएका फूलको माला बेच्छु । विवाह, व्रतबन्ध र पूजाको समयमा माग बढ्छ । मलाई आमाले सघाउनु हुन्छ । फूल धर्मसँग जोडिएको छ । असनमा सबै असल चिज पाइन्छ । हामी मालीको पेशा फूलसँग जोडिएको छ । अहिले जात अनुसारका मात्र काम गर्नेहरू कम छन् । मेरै छोरालाई हेर्नुस न उनीहरूको कलंकीमा इलेक्ट्रिोनिक्स पसल छ ।
Buddha Air