वाराणसीको फरक आकाशमा सपनाको उडान

वाराणसीको फरक आकाशमा सपनाको उडान
बुद्ध एयरको एटिआर ४२ विमानले हामीलाई त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टबाट लिएर उड्यो । जम्मा एक घण्टाको हवाइ यात्रामा बनारस मेरो कल्पनाभरि खेलिसकेको थियो । मामाको बिहेमा हाम्रा लागि किनिएको बनारसी लेहेङ्गादेखि 'खाइके पान बनारसवाला' भन्दै बलिउड स्टार अमिताभ बच्चन टाउकोमा गुलाफी फेटा बाँधेर नाँचेको दृश्यसम्म सबै कल्पनामा खेलिसकेका थिए । मन उडेर बनारस पुगिसकेको थियो । भारत भ्रमण पहिलोपटक हुनुले पनि उत्साह चुलिएको थियो ।

हजुरआमाले पटकपटक भन्नु हुन्थ्यो 'काशी' जान्छु, कतिपटक त जिस्किएर नै । कतिपटक चाहिँ बाबासँग जाने सल्लाह गर्नुभएको पनि थाहा छ । अनि पटकपटक हामीलाई घुर्की लगाउँदै भन्नु हुन्थ्यो- म अझै बुढी भएपछि हात खुट्टा चल्दैन । मैले तिमीहरुलाई पापा ल्याएर दिन सक्दिन । तिमीहरु मलाई माया गर्न छोड्छौ । त्यसपछि म काशी जान्छु । उतै बस्छु, भगवानको शरणमा । 

हजुरआमाले व्याख्या गरिराख्दा लाग्थ्यो काशी भनेको भगवान नै भगवान भएको ठाउँ हो, जुन ठाउँ आकाशजस्तै हुन्छ । किनकि, हजुरआमाले नै भन्नुहुन्थ्यो- ‘भगवान् आकाशमा हुन्छन् ।‘ टेलिश्रृङ्खलामा देखाइने शिव, पार्वती, विष्णु, लक्ष्मीहरु बादलभित्रै हुन्थे । सुनको कुर्सी, गर गहना र फूलले भरिएको कोठामा बस्थे । लाग्थ्यो, त्यही नै हो काशी । 

थोरै बुझ्ने भएपछि नै काशीसँग जोडिएको भ्रम टुट्यो । एक किसिमको कल्पना टुट्यो । त्यसपछि मैले देखेको काशीमा आकाश, बादल, मान्छेजस्तै देखिने भगवानहरु रहेनन् । काशी भनेको त बनारस रहेछ । अर्थात् वाराणसी । हिन्दुहरुका लागि महत्व बोकेको धार्मिक स्थल । जुन शहरसँग विभिन्न धार्मिक, ऐतिहासिक किम्बदन्तीहरु मात्र नभएर विश्वास पनि जोडिएको छ । आस्था गाँसिएको छ । वाराणसीका केही दृश्य टिभीमा देखेँ । इन्टरनेटमा हेरेँ । लागेको थियो- यति धेरै मठ मन्दिर भएको शहर आकाशमा नभए पनि आकाश जतिकै फराकिलो होला, ठूलो होला । 
त्यो ठूलो शहर पुग्ने रहर मेरो पनि भयो । 

'आमा म बनारस जान लागेको नि ।' 
- हँ? 
हजुरआमाको कानै नजिक गएँ र ठूलो स्वरमा भनेँ- ‘म बनारस जान लागेको । काशी क्या । हजुरलेभन्दा अगाडि मैले देख्ने भएँ ।‘

गत जुलाई १३ तारिखका दिन, बुद्ध एयरको एटिआर ४२ विमानले हामीलाई त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टबाट लिएर उड्यो । जम्मा एक घण्टाको हवाइ यात्रामा बनारस मेरो कल्पनाभरि खेलिसकेको थियो । मामाको बिहेमा हाम्रा लागि किनिएको बनारसी लेहेङ्गादेखि 'खाइके पान बनारसवाला' भन्दै बलिउड स्टार अमिताभ बच्चन टाउकोमा गुलाफी फेटा बाँधेर नाँचेको दृश्यसम्म सबै कल्पनामा खेलिसकेका थिए । मन उडेर बनारस पुगिसकेको थियो । भारत भ्रमण पहिलोपटक हुनुले पनि उत्साह चुलिएको थियो, सायद । 

जब प्लेनले भारत उत्तर प्रदेशको बबतपुरस्थित लालबहादुर शास्त्री इन्टरनेशल एयरपोर्ट लगेर छोड्यो, तातो हावाले हान्यो । सिमसिम पानी परिरहेको थियो तर पनि हावा नसोचेको तातो । मलाई बनारसको हावा मन परेन । 

एयरपोर्टबाट २२ किलोमिटर टाढा मन्दिरहरुको शहरसम्म पुग्यौं । मन नपरेको हावालाई एसी र पङ्खाको कृतिम हावाले यस्सै बिर्साइदियो । त्यसपछि मनपर्न पर्ने धेरै कुराहरु भेटिए, मान्छेहरु भेटिए । बनारस मनपर्नु पर्ने कारणहरु भेटिए । 

१४ जुलाई २०१८ 

मेरो अर्को भ्रम टुटेको दिन । बनारस आकाशजस्तो फराकिलो रहेनछ । यो शहर त सानो रहेछ । 
बिहानको ५:३० बजे होटल तल आएर पर्खिरहेका थिए, बब्बु पल । अर्थात् हाम्रा ड्राइभर । ८:०० बजे मात्र होटलको ढोकाबाट निस्किएको हाम्रो टोलीलाई हेर्दै भने- 'अलिकति ढिला भयो नि । अब सन राइज देखिँदैन ।' 

भनें- ‘अलिकति होइन । २ घण्टाभन्दा बढी ढिला भयो । नरिसाउनु है दाइ?’ 

'काशीको मान्छेको दिल हो बहिनी । सङ्का नगर्नु । धर्मले पनि हामीलाई क्रोध राख्न, कसैको नोक्सान गर्न दिँदैन ।' 
उनको कुरा सुन्दा लाग्यो यो सानो शहरका मान्छेको दिल ठूलो छ, आकाशजस्तै फराकिलो । 

घाटको किनारमा वाराणसी- नेपाल सम्बन्ध सेतु

हाम्रो यात्रा बनारस घाटतर्फको थियो । ढिला उठ्नुले नदीको माथि भएर उदाउने रातो सूर्य हेर्न छुट्यो । तर, हामीसँग हेर्न बाँकी धेरै कुरा थिए । 
होटलबाट निस्किएपछि देखेँ बनारस शहर । साँघुरो सडक, बढ्दो सवारी साधन र मान्छेको भिड । छोडिएका जनावरहरु । अव्यवस्थित ट्राफिक- मलाई बनारसको अस्तव्यस्थता मन परेन । तर, मनपर्ने कुराहरु त हेर्न बाँकी नै रहेछ ।

जब बनारस शहरको बीचमा धनुषाकार बनाएर रहेका घाटमा पुगियो तब लाग्यो हृदयलाई शितल बनाउने धेरै चिज बोकेर बसेको छ यो शहर । धार्मिक र ऐतिहासिक महत्वसँग जोडिएका मान्छेहरुको नाममा स्थापित घाटहरु । काखमा बग्दै गरेको गंगा नदी । नदीको बीचमा सल्बलाइ रहेका डुंगाहरु र पारी बालुवाको किनारमा यताउति गरिरहेका मान्छेहरु । कोही खोलामा डुबुल्की मार्दै त कोही घामलाई अर्घ दिँदै । त्यो घाम उदाउँदै गर्दाको दृश्य हेर्न नपाउनुले भने थकथकी लगाइ रह्यो । यसपटक मलाई आफ्नो ढिला उठ्ने बानी मन परेन । 

त्यसपछि हामीले डुंगा चड्यौं । राजा, रानी, देउता, ऋषिहरुको नाममा स्थापित घाटहरुको कथा सुन्यौं । त्यहाँका गाइड हाम्रा साथी बने- ठाउँ चिनाउने, कुरा बुझाउने । यो धार्मिक अनि आध्यात्मिक शहरको एउटा मुहारलाई डुंगामा बसेर हेर्दै थियौं । 
८४ वटामा जम्मा २ घाटमा शवदाह हुने रहेछ । अरु सबै पर्यटकको आकर्षणको केन्द्र । प्राय राजा महाराजले धार्मिक शहर र गंगा किनारमा घाट बनाए मोक्ष प्राप्त गर्ने विश्वासले स्थापित मान्यताहरु । केही देशका महान मानिएका व्यक्तिहरुको स्मृतिमा स्थापित धरोहर । ती धेरैमध्ये एक घाटको साइनो नेपालसँग जोडिएको रहेछ । 

हुन त नेपाल र बनारसको सम्बन्ध सेतु मध्ये संस्कृति, शिक्षा र धर्म सधैं अग्रस्थानमा छ । तर, ललिता घाटको विशेष कथा र महत्व छ ।

किम्बदन्ती र विवादबीचको इतिहासको साक्षी हो यो घाट । भनिन्छ - १८०० देखि १८०४ सम्म नेपालका राजा रणबहादुर शाह काशीमा बसेका थिए । उक्त धार्मिक थलोमै उनले सन्यास पनि धारण गरे । त्यहाँ उनले तपस्या गरेको कुटीलाई उनकै श्रीमती ललिता त्रिपुरा सुन्दरीको नाम दिए- ललिता घाट । तप, ध्यान र प्रेमको अभुतपूर्व संगम । 
ललिता घाटको ठीक माथि छ - साम्राजेश्वरी-पशुपतिनाथ मन्दिर ।

You may also like: Pashupatinath Darshan: Spiritual Journey to Nepal

वरिपरि काष्ठकला कुदिएका झ्याल र ढोका, पुराना राता इँटको प्रयोगले उठाइएको गारो, प्यागोडा शैलीको छानो । झट्ट हेर्दा, ठ्याक्कै नेपालमा रहेको पशुपतिनाथ । मन्दिरको नाम र बाहिरी आवरणमात्र नभएर भित्र रहेको शिवलिंग पनि नेपाली शैलीकै । 
ललिता घाट परिसर पुग्दा मैले मेरी हजुरआमालाई फेरि पनि सम्झिएँ । उनले भनेजस्तै आफ्नो जिन्दगीको उत्तरार्द्ध बिताउन आएका धेरै आमा र बुवाहरु त्यहाँ भेटिए । त्यहाँ रहेको नेपाली आश्रममा कोही बाध्यताले त कोही रहरले पुगेका थिए । 
केही आमासँग मेरी हजुरआमाको आँखा मिल्यो । केहीको बोली अनि केहीको कथा मिल्यो । 'मेरी नातिनी पनि तिमी जत्रै भइन् होला' भन्ने आमासँग मेरो आँशु पनि मिल्यो । 

बोध गयाको शान्तिले जितेको समय 

 त्यसपछि हाम्रो यात्रा अलिक टाढा मोडियो । काशी भारतको उत्तर प्रदेशको सांस्कृतिक राजधानी रहेछ । यो सांस्कृतिक राजधानीलाई छोडेर हामी लाग्यौं नेपालसँगै जोडिएको अर्को प्रदेश बिहारतिर । त्यस दिनको हाम्रो यात्रा बोध गयाका लागि तय भएको थियो । लगभग २ सय ६० किलोमिटर लामो बाटोको यात्रा । मलाई यस पटक दुरी मन परेन । तर, बाटो लोभलाग्दो थियो । 


झण्डै ६ घण्टा लामो यात्रामा सन् १९९० को दशकका हिन्दी फिल्मका गीतहरु हाम्रा साथी बने । 


बोध गया नपुगेको भए त्यो 'दुरी'सँगको वितृष्णा अझै बाँकी रहन्थ्यो होला । तर, त्यहाँको शान्तिले पट्यारलाग्दो गर्मी र तातो हावाको राप भुलाई दियो । 

बोध गया- गौतम बुद्धले २ हजार वर्षअघि १२ वर्ष तपस्या गरेको भूमि । लुम्बिनीमा जन्मिएका उनले यहाँ आएर वुद्धत्व प्राप्त गरेका थिए । त्यही रहेछ, उनले ओत लागेको रुख । थाइल्यान्ड, म्यानमार, बंगलादेश लगायत विभिन्न देशले बनाएको स्तुपाहरु पनि । कति व्यवस्थित तरिकाले सुरक्षा दिइएको छ यो ठाउँको । कति मेहनतले संरक्षण गरिएको रहेछ प्रस्ट देखिन्थ्यो । मैले मनमनै भारत सरकारलाई धन्यवाद दिएँ । यस पटक मेरो मनले- बुद्ध वाज बर्न इन नेपाल भन्नै मानेन । किनकि बुद्धको जन्म भन्दा पनि उनको ज्ञान महत्वपूर्ण हो जसलाई मानव सिर्जित सीमाभित्र कैद गर्नु ठीक होइन बरु त्यसलाई विस्तार गरिनुपर्छ । त्यही विस्तारमात्र देखेँ मैले यहाँ । 
 
विद्युतीय उपकरण डिपोजिट गरिसकेपछि पनि गेटबाट भित्र दुईपटकको प्रहरी चेकिङपछि मात्र पुगियो त्यो आध्यात्मिक ठाउँ जहाँ बुद्धले बुद्धत्व प्राप्त गरेका थिए । त्यत्रो पर्यटक, मान्छे भएर पनि कस्तो शान्ति कायम रहन सकेको । पुगेका मानिसहरु सबै सालिन मुद्रामा देखिँदा चन्चल मन पनि स्थिर हुने रहेछ । साथीहरु रिपोर्टिङका लागि यताउति लागिरहँदा म भने चलायमान बन्न सकिन ।

सँगै गएका मेरा साथी आफ्नो कामसँग रमाइराख्दा मैले त्यहाँ ध्यान गर्ने मौका पाएँ । अरु भिक्षु, ध्यानी बसेकै बीचमा आफ्नो लागि सानो ठाउँ बनाएँ र बसेँ । मलाई यस पटक ध्यान बस्दै गर्दा कानै नजिक आएर मलाई जिस्क्याउने लामखुट्टेको धुन मन परेन । 
बोध गयाको वातावरणले कसलाई आकर्षित गर्दैन होला? यहाँ भेटिने मान्छेहरुको व्यवहारमा शालिनता झल्कन्छ । अनि बोलीमा नम्र भाव । नम्रताको भाषा आफैँमा विश्वव्यापी हो, कुनै भाषिकाले त्यसमा अवरोध गरेन । 
लाग्यो– मेरी हजुरआमालाई बनारस जत्तिनै मन पर्नेछ यो ठाउँ पनि ।

बोध गयामा केही दिन थप बिताउने मन थियो । तर, हामीसँग पर्याप्त समय थिएन । मनले त्यही किला ठोकेर बस्न चाहे पनि सम्भव थिएन । हामीलाई बनारसको प्रमुख मन्दिर विश्वनाथ पुग्नु थियो, ‘टु डु लिस्ट’मा रहेको गंगा आरती हेर्नु थियो । सारनाथ पनि पुग्नु थियो । पुन: बनारस फर्कनु थियो । बिहारबाट फेरि उत्तर प्रदेश । 

फर्किएको साँझ हामीले झेल्ली गर्यौं । हजुरआमाको बोली सम्झिएँ- ‘छल नगर्नु है, भगवानले हेरिरहेका हुन्छन् ।‘ 

तर, छल नगरेको भए हामीले विश्वनाथ दर्शनका लागि धेरै लामो लाइन लाग्नु पर्थ्यो । त्यो लाइनमा बसेको भए, गंगा आरती हेर्न भ्याउँदैन थियौं । गंगा आरती छुटेको भए, धेरै कुरा छुट्थ्यो । ब्ल्याकमा केही रकम पाण्डाहरुलाई दिएपछि हामीले सरासर मन्दिर छिरेर दर्शन गर्न पायौं ।  

मलाई यो छल मन परेको थिएन । मनमनै- एकपटक हजुरआमासँग माफी मागें । अर्कोपटक भगवानसँग माफी मागेँ । 

गंगाको तटमा आध्यात्मिक अनि सांगीतिक आनन्द 

साँझको समय । बनारसको दशाश्वमेध घाटमा भजन गुञ्जन थाल्यो, एकै लयमा । धुपको बासना हावासँग मिसियो । प्रत्यक्ष बजाइने संगीतको धुनमा उपस्थित दर्शक, भक्त, पर्यटक र स्रोताको तालीको गुन्जन मिसिन थाल्यो । माहोल आध्यात्मिकसँगै सांगीतिक बन्यो । 

त्यहाँ एकसाथ गुन्जिएको भजन र श्लोकले निकै आकर्षित तुल्यायो । एउटै रङको लुगा लगाएका सात पुजारीले एकसाथ पूजा सुरु गरे । शङ्ख फुके । सबैले धुप पनि एकैचोटी घुमाए । दियो र बत्तीहरु पनि एकसाथ तल माथि गर्दै घुमेको दृश्यले हामीलाई प्रफुल्लित बनायो । गंगा आरतीको मेलाले यात्राको थकान र धपेडी पूरै भगायो । 

सन् १९९१ यता गंगा आरती हरेक साँझ हुँदै आएको छ । घाट र गंगा नदी सर सफाइ/ संरक्षणका लागि स्थापना भएको गंगा सेवा निधिले आरतीको सुरुवात गरेको रहेछ । त्यो टोलीलाई सम्झिए जसले त्यो माहोललाई अहिलेको अवस्थासम्म ल्याउने सुरुवात गर्योत । गंगा आरतीको कोलाज काठमाडौं आइपुग्दासम्म पनि मनमा घुमिरह्यो ।

गंगा आरती हेर्दा गर्दा महसुस भयो- सुन्दर हुन ठाउँ फराकिलो हुन नपर्ने रहेछ । 

अनि कहिले काँही भुगोल साँघुरिनुले कति धेरै खुशी बनाउने रहेछ । नेपालसँग टाँसिएको परदेशको त्यो आध्यात्मिक माहोलमा नेपाली दाजुभाइ भेटिए । घाटमा उभिएर पूजा गर्ने सात जनामा पाँच जना नेपाली पूजारी रहेछन् । उनीहरुको बसाइको, पढाइको, आगामी योजनाको गफगाफ र आरतीले दिने खुशीको कुरा पनि भयो । यस्तो भेट हाम्रा लागि सुनमा सुगन्ध हुनु स्वभाविक थियो । 

गंगा आरतीले धार्मिक, सांगीतिक माहोल मात्र नभएर ठाउँ दिएको रहेछ फूल, पानी, चिया व्यापारीका लागि पनि । नदी दिएको रहेछ डुंगा खियाएर दैनिकी चलाउनेका लागि । अध्यात्म, संगीत र साधनाको संगम हुने साँझको वाराणसी घाटसँग जोडिएको जीवन र जगको कोलाजले कसलाई नलोभ्याओस् ।

गंगाको आरती हामी उपस्थित घाटमा मात्र हुने होइन रहेछ । अन्य घाटहरु जस्तो कि अस्सी घाट, तुलसी घाट, केदारघाट, अहलियाबाई घाट, ललिता घाट, रविदास घाट लगायतमा पनि आरती हुने रहेछ । तर, सबै घाटको आरती एकैपटक हेर्न सम्भव थिएन । अर्कोपटक वाराणसी जाँदा डुंगा सयरसँगै यी सबै घाटको आरतीको आनन्द लिने रहर साँचेको छु ।


एकै साँझमा सबै घाटका आरतीको रहर पूरा गर्न नपाउँदा मैले सुझाएँ – हजुरआमासँग जब यहाँ हुन्छु, म सोध्नेछु कुन घाटमा आरती हेर्न जाने? कुन देवताको कुन दिन दर्शन गर्ने?

बनारसी सारी बनाउनेको कथा 

जुलाई १६ को बिहान बनारसी कपडा बनाइने सोसाइटीहरु घुम्नुले धार्मिक बाहेक फरक माहोलको सिर्जना गर्योस । 'सारी'को ब्रान्ड जोडिएको  बनारस पुगेपछि यसबारे नबुझ्ने हो भने अर्थ हुन्न । सभ्यतासँग जोडिएको विषयबारे जान्ने रहर अरुमा जस्तै ममा पनि थियो ।

ओहो, हातले कुदिने बुट्टाहरु । कति गाह्रो हुँदो रहेछ कपडामा बनारसी बुट्टा भर्न । एउटा सारी बनाइसक्न २ महिनासम्म कालिगढको मिहेनत पर्ने रहेछ । यही घुम्दा थाहा भयो देश विदेशमा प्रख्यात बनारसी सारी त अठारौँ शताब्दीअघि बनारसका मुगल शासकहरुले यहाँ बनाउन सुर गरेका रहेछन् । त्यससमय सिल्कको सारीनै अर्थतन्त्रको प्रमुख आधार रहेछ यस शहरको । पहिले महाराज तथा धनी वर्गले मात्र किन्ने सारीको बजार समयअनुसार बिस्तार भयो । बनारसी सारी बनाउने र बेच्नेहरु पनि बढ्न थालेका रहेछन् । 

तर, अहिले कालिगढहरु कमाइसँग खुशी देखिएनन् । भेटिएका सारी आर्टिस्ट मोहोम्मद अलीले दु:ख पोखी हाले- 'हामीले कमाएको पैसाले पुग्दैन । त्यसैले घरका ‌औरत पनि काम गर्न जान्छन् । खान लगाउन पाए हुन्छ । जगेर्नाको लागि भए पनि सारी बनाउन छोड्दैनौँ ।'

यी कालिगढहरुले मासिक ६ हजार रुपैयाँमा काम गर्ने रहेछन् । कामको प्रकृति हेरेर दैनिक २०० देखि ३०० सम्म ज्याला लिएर काम गर्नेहरु पनि भेटिए । अनि यिनैका मिहिनेती हातले बनाएको 'ह्यान्डलुम' सारी बजारमा किन्न भने ६ हजार देखि लाखौंसम्म पर्ने रहेछ । 

हातले बुट्टा भर्ने बाहेक मेसिनबाट पनि सारी तयार हुने रहेछ । मेसिनमा काम चाडो सकिने भएकाले वाहरु धेरै मेसिनमा अल्झिएको देखेँ । खुशी लाग्यो कम्तिमा उनीहरु बेरोजगार थिएनन् । 

सोसाइटीबाट निस्किँदै गर्दा आउटलेटमा राखिएको ठूला बुट्टा भएको रातो पच्छ्यौरा मनपर्योस, हजुरआमाले दिदीको विवाहमा खोज्नु भएजस्तै । झल्यास्स सम्झिएँ-  हजुरआमाले हजुरबुवाले धर्ती छोड्नु भएदेखि रातो लगाउन छोड्नु भइसक्यो त । 

बीएचयुको कम्पाउन्ड सफारी 

परम्परादेखि अहिलेसम्म पनि नेपालबाट बनारस पढ्न जानेको लावालस्कर कायमै छ । गंगातटमा वाद्यवादन गर्ने संगीतका विद्यार्थी, पूजा गर्ने संस्कृतका विद्यार्थी हुन् वा खाना खाँदा भेटिएका पत्रकारिताका विद्यार्थी- सबै उत्कृष्ट पढाइको सपना बोकेर आएका रहेछन् । 

विद्यार्थीहरुको लक्ष्य केन्द्र बनेको बनारस हिन्दी विश्व विद्यालय परिसर घुम्न छोटो समय हामीले पनि निकाल्यौं । लागेको थियो कम्तिमा आम सञ्चार र पत्रकारिता डिपार्टमेन्ट घुमिन्छ । केही प्राध्यापकहरुसँग कुरा गरिन्छ । 

तर, बीएचयु त्यत्रो ठूलो कम्पाउन्ड भित्र हामीले खोजेको डिपार्टमेन्ट त कता हो कता? गाडीमा घुम्दा घुम्दै झण्डै २० मिनेट बित्यो । विश्वविद्याल भित्रको वातावरण, खेल मैदान, मानव अधिकार समिति अरु पनि धेरै मैले नसोचेको कुराहरु देखिए त्यहाँ । 

तपश्विहरुको भूमि, सुनसान सारनाथ 

'म तपाईंहरुलाई सारनाथको इतिहास जस्ताको त्यस्तै भनिदिन्छु १०० रुपैयाँमै ।' 

विश्वास गर्नुस् सारनाथ पुग्दा त्यहाँको इतिहास बारे जानकारीको कमी हुने छैन । स्कूल पढ्नेदेखि, मकै पोलेर बेच्न बसेका र कम्पनीमा काम गर्नेको पनि पार्ट टाइम जब हो लोकल गाइड बन्नु । 

सारनाथस्थित मृगवन बुद्धले पहिलोपटक आफ्नो ज्ञान बाढेको भूमि हो । उनले बुद्धत्व प्राप्त गरेपछि पहिलोपटक पाँच शिष्यलाई यही भूमिमा ज्ञान दिएको बताइन्छ । यहाँ बौद्ध धर्मालम्बी एवं अन्य पर्यटक आउँछन् । फैलिएको भूगोल ओगटेर रहेको यो धार्मिक स्थलमा धेरैवटा स्तुपा छन्, संग्राहलय छ, महादेवको मन्दिर छ, बुद्ध भगवानको उभिएको अग्लो मूर्ति छ । यी सबैमध्ये ४३ मिटर अग्लो धमेक स्तुप यहाँको चर्चित रहेछ । 
तपश्विहरुको ध्यानस्थलको रुपमा प्रसिद्ध ठाउँमा मलाई पनि केही बेर रोकिएर ध्यान गर्न मन थियो । तर, मैले हजुरआमाको बोली सम्झिएँ- छिट्टै फर्की है । 

घुम्दा घुम्दै रमाउँदा रमाउँदै हामी एयरपोर्ट फर्कन ढिला भएको जनाउ पायौं । 

फर्कँदा फर्कँदै नयाँ रहर जाग्यो- हजुरआमालाई पनि एकपटक वाराणसी यात्रा गराउने । आमा शरीर र स्वास्थ्यको बाहाना बनाएर टार्नु हुन्छ, थाहा छ । तर, विमानबाटै पुग्न सहज छ अहिले । काठमाडौँ – वाराणसी फ्लाइट सुरु गरेर हवाई मार्गको यात्रा बुद्ध एयरले जम्मा एक घण्टामा सीमित पारिदिएको छ । हवाई यात्राको शुल्क पनि औशत नै छ । त्यसबाहेक प्याकेजमा जाने हो भने मैले देखेर आएको वाराणसी घाट, विश्वनाथ मन्दिर, वोध गया, सारनाथ, गंगा आरती लगायत इच्छाए अनुसार २५ देखि ३५ हजारसम्मको खर्चमा पुग्ने रहेछ । त्यतिमा त खाना, होटल, गाइड, स्थानीय यातायात सबै पुग्ने थाहा पाएपछि म थप उत्साहित भएको छु ।