विभिन्न जातजाति र समुदायको बसोबास भएको नेपाल साँस्कृतिक हिसाबले समृद्ध छ । हरेक जातजातिका आ–आफ्नै बाजा र नाचगान छन् । एक अध्ययन अनुसार नेपालमा १ लाख हाराहारीमा लोक भाका छन् । त्यस्तै ३ हजार जति नाच । अनि १३ सय ५० भन्दा बढी बाजा । ती बाजाको ताल र सुरमा विविधता छ जसबाट लाखौं किसिमका धुन निकाल्न सकिन्छ ।
लोकबाजाको मिठासले सबैलाई मन्त्रमुग्ध बनाउँछ । काठमाडौंको त्रिपुरेश्वर महादेव मन्दिर हातामा नेपाली लोक बाजा संग्रहालय छ जहाँ ६ सय ५० थरी बाजा सजाइएको छ । त्यहाँ बाजाको साथमा जातजातिका सांगीतिक धुन, जात्रा, गीत आदिको अडियो÷भिडियो अर्काइभ पनि सुरक्षित छ ।
बाजा बिशेषज्ञ रामप्रसाद कँडेलको अगुुवाइमा काठमाडौंको भद्रकाली मन्दिर हातामा ०५८ फागुनमा संग्रहालय खोलिएको । पछि त्यसलाई ०६४ मा त्रिपुरेश्वर सारियो ।
संग्रहालयले सन् २०११ देखि नोभेम्बर अन्तिम साता अन्तराष्ट्रिय लोक संगीत फिल्म महोत्सव गर्दै आएको छ । त्यतिबेला फिल्म देखाइनुका साथै संसारभरका विज्ञहरूसँग अन्तरक्रिया गराइन्छ । महोत्सवले सांगीतिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आएको छ । उसले हालसम्म तीनपटक सारंगी सप्ताह समेत मनाइसकेको छ ।
संग्रहालयले लोपोन्मुख बाजा बनाउने र बजाउने तालिम दिन्छ । बेलाबेला कन्सर्ट गर्छ । उसले द्वैमासिक जर्नल ‘बाजा’ प्रकाशन गर्छ । दुई दर्जन किसिमका बाजाको तालिम पुस्तक समेत छापिसकेको छ ।
संग्रहालयमा सजिलै तीन घन्टा विताउन सकिन्छ ।
संग्रहालय समय: बिहान १० देखि ५ बजेसम्म
सम्पर्क: ९८४१३७३२२२
ठेगाना: त्रिपुरेश्वर, काठमाडौं