एउटा विमानस्थलबाट उडेर अर्को गन्तव्यमा जाँदै गरेका यात्रुहरूको सुटकेस, झोला अनि ह्यान्ड–क्यारी लगेज साथमै हुनु स्वाभाविकै हो । तर, नेपालको सन्दर्भमा बिहान घरबाट डिउटीमा जाने अनि बेलुकीसम्म प्रायः घरै फर्किहाल्ने पाइलट तथा क्याबिन क्रु (विमान परिचारिका/परिचारक, प्राविधिक)ले पनि यात्रुले झैँ विमानस्थलको भुइँमा लगेज गुडाउँदै ओहोरदोहोर गरिरहेका दृश्य थुप्रै देखिन्छन् । ‘बेलुकी निवास फर्किहाल्ने चालकदलका सदस्यहरूले त्यत्रो कालो झोला नबोक्दा हुँदैन होला र ?’ विमानस्थलमा आमयात्रुलाई जिज्ञासा लाग्न सक्छ, ‘के हुन्छ होला है फ्लाइट–ब्यागभित्र ?’विशेषगरी युनिर्फमसँग मिल्दोजुल्दो कालो रङकै त्यो झोलालाई उड्डयनकर्मीहरू 'फ्लाइट–ब्याग’ भन्दछन् । पाइलट तथा क्याबिनक्रुले फ्लाइट–ब्यागलाई युनिफर्मकै एउटा अभिन्न अंश मान्दछन् । पाइलट र क्याबिनक्रुको जतिबेला पनि नागरिक उड्डयन प्राधिकरण वा अरु कुनै तोकिएका नियमनकारी निकाय तथा आफ्नै कम्पनीका निरीक्षकको छड्केजाँचमा पर्ने सम्भावना हुन्छ । त्यस्तो बेला उनीहरूले झोलामा बोकेका कागजात देखाउनुपर्छ । जसको म्याद सकिएको हुनुहँुदैन ।
त्यसैले उनीहरू आफ्ना सरकारी कागजात, तालिमका रेकर्ड, चिकित्सकले दिएका स्वास्थ्य रिपोर्ट, सेफ्टी म्यानेजम्यानेन्ट सिस्टम (एसएमएस), क्रु रिसोर्स म्यानेजम्यान्ट (सीआरएम), फायर फाइटी, फस्ट एड, ह््युमन फ्याक्टर, डेन्जरस गुड्स आदिबारे वर्षभरि लिएका तालिम प्रमाणहरू फ्लाइट–ब्यागमा बोक्दछन् । अन्तर्राष्ट्रिय उडानमा त राहदानी पनि अनिवार्य बोक्नै पर्छ । ‘लाइट–ब्याग बिनाको आन्तरिक होस् वा अन्तर्राष्ट्रिय उडान कल्पना बाहिरको कुरा हो,’ नेपाल वायुसेवा निगममा २८ वर्ष सेवा गरेर हालै अवकाश भएकी प्रशिक्षक परिचारिका सुमिली सुब्बाले भनिन्, ‘ककपिट क्रु र क्याबिन क्रुका लागि झोला एउटा सानो कार्यालय नै हो । त्यसमा हामीलाई आवश्यक पर्ने डकुमेन्ट, अद्यावधिक गरिएको लाइसेन्स, म्यानुअल, चार्ट, लग–बुक आदि उड्डयनसँग सम्बन्धित डकुमेन्ट हुनैपर्छ ।’ आन्तरिक उडानबाट हालै हिमालय एयरलायन्समा उडान भर्न थालेकी एक परिचारिकाका अनुसार महिला क्याबिनक्रुले दुइटा ब्याग बोक्नु पर्छ । एउटा काधमा सोल्डर ब्याग अर्को क्यारिङ ब्याग । ‘आन्तरिक उडानमा एउटै ब्यागले काम चलिहाल्छ,’ उनले भनिन्, ‘तर, अन्तर्राष्ट्रिय उडानमा प्राय एयरहोस्टेसले गुडाउने र सानो गरी दुइटा र केटाहरू (परिचारक)ले गुडाउन मिल्ने फ्लाइट–ब्याग बोकेका हुन्छन् । प्रायः एयरहोस्टेसहरू स्मार्ट देखिन घरबाट हिलसुजमा विमानस्थल पुग्छन् । विमानको बोर्डभित्र हिलसुज लगाउन नमिल्ने र यात्रुको सेवा गर्दा ओहोरदोहोरमा अप्ठ्यारो पर्ने भएकाले अर्को ल्याट–सुज फेरिहाल्छन् ।
यस्तै जुत्ता र जगेडा कपडा, मेकअप किट लगायतका सामान गुडाउने ब्यागमा हुन्छन् भने डकुमेन्टहरू सोल्डर ब्यागमा राख्नुपर्छ । विदेशका विमानस्थलमा बेलाबेला अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र ती विमानस्थलका निरीक्षकले पनि झोला जाँच्ने, प्रश्न सोध्ने गर्छन् । त्यसैले विमानमा यात्रु राख्नुअघि हरेक उडानमा इन– फ्लाइट सुपरभाइजर (आइएफएस)ले जुनियर क्याबिनक्रुका कागजातको मिति जाँच्ने गर्छन् । आन्तरिक उडानमा कुनै पनि बेला जहाज प्राविधिक कारणले अर्को विमानस्थलमै अड्किन सक्दछ वा अरु कुनै कारणले दोस्रो सहरमै बास बस्नुपर्ने हुनसक्छ । अचानक आइपर्ने त्यस्तो परिस्थितीमा पाइलट वा क्याबिनक्रुले उडानमा लगाइएको पोसाकमै रात बिताउन सक्दैनन् । नयाँ कपडा किनेर फेर्न पनि व्यावहारिक हुँदैन । होटल वा क्रु–क्याम्पमा बास बस्दा पोसाक फेरेर घरमा झैं लगाउने सामान्य पोसाक, हिँडडुल गर्न हलुका जुत्ता चाहिन्छ । त्यसैले काठमाडौंबाट सुरु हुने र बेलुकी काठमाडौंमै फर्किने एयरलायन्सका चालकदलका सदस्यहरूले कागजातबाहेक फ्लाइट–ब्यागमा एक सेट जगेडा कपडा बोकेका हुन्छन् । कतिपय विमान एक साताका लागि काठमाडौंबाहिर नेपालगन्ज, पोखरा, विराटनगरबाट दुर्गम उडान गर्छन् । त्यस्ता उडानमा जाने पाइलट र क्याबिनक्रुले मौसमअनुसार आफूलाई चाहिने कपडा, औषधी फ्लाइट–ब्यागमा बोकेर उडान गर्छन् । अर्कोथरी अन्तर्राष्ट्रिय उडान गर्नेहरूले पनि आन्तरिक उडानमा जस्तै कति दिन बास बस्नुपर्ने हो, त्यति दिनका लागि जगेडा पोसाक लैजानुपर्छ ।
बुद्ध एयरको एटीआरका एक प्रशिक्षक पाइलट मनोज केसीका अनुसार उडानमा क्याबिनक्रुले यात्रुसँगै लगेज राख्ने कम्पार्टमेन्टमा तोकिएको स्थानमा लाइट–ब्याग राख्नुपर्छ भने पाइलटहरूले फ्लाइट–ब्याग ककपिटमै लैजान्छन् । ती ब्यागमा अरु यात्रु वा सहकर्मीलाई टाउको दुखाउने, उडानका क्रममा दुर्गन्ध फैलिन सक्ने खानेकुरा राख्न वा लैजानु पाइँदैन । उनका अनुसार पाइलटहरूको ब्यागमा हवाईरुट समेटिएको जेप्सन चार्ट, एरोनटीकल इन्र्फमेसन (एआईपी), ककपिटमा सञ्चार गर्ने प्राधिकरणले अनुमति दिएको हेडसेटलगायतका उडानलाई अत्यावश्यक पर्ने सामग्री हुन्छन् । ‘अहिले धेरै पाइलटको ब्यागमा डिजिटल ट्याब वा आइप्याड हुन्छ,’ ती प्रशिक्षक पाइलटले भने । पाइलट वा एयरहोस्टेसले एकआपसमा झोला सेयर गर्न मिल्दैन । जहाजमा सबैले एउटै खाना बाढेर खान पाइँदैन । अरुलाई असर पर्ने तयारी खानेकुरा वा पकुवा, सामान्य औषधीबाहेक चिकित्सकले निषेध गरेका औषधी पनि फ्लाइट–ब्यागमा राख्न पाइँदैन । विदेशी वायुसेवाले आफ्नो जहाज वा कम्पनीको ब्रान्डसँग मिल्दोजुल्दो रङमा लाइट–ब्याग बनाउने गरे पनि नेपालमा भने धेरैजसो कालै रङको लाइट–ब्याग बोक्ने प्रचलन छ ।
झोलाजस्तै वायुसेवा कम्पनीहरूले पाइलट र क्याबिनक्रुलाई पोसाकमा पनि एकरुपता हुनुपर्ने नियम बनाएको छ । नेपालका दुर्गम तथा हिमाली भेगमा १२ वर्ष अनि पछिल्ला १६ वर्ष अन्तर्राष्ट्रिय उडानको अनुभव लिएकी वरिष्ठ विमानपरिचारिका सुमिली सुब्बाका अनुसार विशेषगरी वायुसेवाहरूले क्याबिनमा यात्रुको सेवासँग जोडिने परिचारिका वा परिचारकले कपाल कत्रो राख्ने, घाँटीमा गहना कति लगाउने, नाक, कानमा गहना कति लगाउने, नङमा कुन रङको पोलिस लगाउने, ओठमा कुन रङको लिपस्टिक लगाउनेबारे मापदण्ड तोकेको छ । त्यस्तै टाटु देखाउन नमिल्ने, कपाल छाड्न नमिल्ने, मोजाको रङ, घडीको आकारदेखि चस्मासम्म लगाउनेबारे मापदण्ड बनाएको छ । केटा परिचारकलाई दारीजुँगा राख्न पनि दिइएको छैन । फेन्सी पोसाक पनि लगाउन पाइँदैन । पहिलेपहिले नेपाल एयरलायन्सको जहाज लिएर उडेका चालकदल काठमाडौं कहिले फर्किन्छन् पत्तो हुदैनथ्यो,’ उनले भनिन्, ‘अहिलेको उडानमा आकाशपाताल फरक छ । हरेक उडान निगरानीमा हुन्छ । चालकदलका सदस्यहरूले पनि अनुशासन पालना गर्नुपर्छ । त्यो अनुशासन हामीहरूलाई पोसाक लगाउने बित्तिकै महसुस भइहाल्छ । ‘डिउटी पोसाकमा हामीले अनुहारमा तनाब देखाउनु हँुदैन,’ सुब्बाले भनिन्, ‘एउटा होइन सयौं मानिसहरूको मनोभावअनुसार व्यवहार गर्नुपर्छ । पोसाकले हामीलाई दायित्वबोध गराउँछ । अनुशासन सिकाउछ ।’