परम्परागत रुपमा धार्मिक कार्यमा प्रयोग हुँदै आएको मुकुण्डो अचेल पर्यटकीय प्रोडक्ट बनेको छ । विदेसी त कोसेली किन्छन् नै, स्वदेसी पनि सद् भाव बाँड्न मुकुण्डो रोज्छन् । प्रियजनलाई मायाको चिनोका रुपमा बाँड्छन् ।
मुकुण्डो अर्थात मुखाकृती झल्काउने नक्कली अनुहार । बिशेषतः कालीमाटी, नेपाली कागज, मलमल कपडा, कपास र मैदाबाट बनाइन्छ । काठमाडौं उपत्यकाका नेवार नाचमा देवदेवी, राक्षस र जनावरका भेषमा नाच्न यस्तो मुकुण्डो प्रयोग गरिन्छ ।
काठ, तामा, ढलौट र प्लाष्टिकबाट पनि मुकुण्डो बनाइन्छ । साना, ठूला विभिन्न साइजमा किन्न पाइन्छ । उपहारमा माटो र कागजबाट बनेको कला बढी खपत हुन्छ ।
समयको चक्र घुमिरहेछ । आज नाचगानमा मात्र सिमित छैन मुकुण्डो कला । घरआँगन सजाउन र शुभकामना बाँड्न समेत यसको प्रयोग हुन थालेको छ । विवाह, ब्रतबन्ध, जन्मोत्सवमा मुकुण्डो उपहार संस्कृति बन्दैछ ।
आफ्नोपनले लोभ्याउँदैछ सबैलाई ।
परम्परागत शैलीमा आधुनिकताको लेप लगाएर बनाइएका सुन्दर सृजनामा नलोभिने को होलान् र ! भक्तपुर जिल्ला, मध्यपुर नगरपालिका–६ बहाखा बजारस्थित मध्यपुर मास्क मेकिङका कलाकार सोमराज तामाङले मुकुण्डो कलामा परम्परा र आधुनिकताको फ्युजन गराएका छन् ।
त्यसैले उनको बजार राम्रो छ । व्यक्ति मात्र होइन, सामाजिक संस्था र सहकारीहरू समेत मुकुण्डो कला प्रवद्र्धन गर्दैछन् । पेपर बोर्डमाथि कलाकृति टाँसेर संस्थाको लोगो समेत छापिदिन्छन् उनी । युनिक मायाको चिनो !
मुकुण्डो कलामा सोमराजले गज्जबै गरेका छन् । बिशेषतः नेवार समुदायले बनाउने कलामा उनी पारंगत त छँदैछन्, नयाँनयाँ सृजना गरेर सबैलाई चकित पारिदिन्छन् । उनको बजार विदेशसम्म फैलेको छ । स्पेन, इटाली, फ्रान्स र अमेरिका लगायत देशबाट मुकुण्डोको माग भैरहन्छ ।
समयसँग चल्न सक्नेहरू नै टिक्छन् । क्वालिटी र डिजाइनमा नविनता ल्याएकैले सोमराज चम्केका हुन् । उनको पछिल्लो उत्पादन–फ्रिज म्याग्नेट, जुन विदेश बस्ने नेपालीले पनि रुचाएका छन् ।
विदेशीका लागि बेलाबेलामा सोमराज मुकुण्डो कार्यशाला आयोजना गर्छन । समूहबद्ध भएर विदेशी सहभागी हुन्छन् । उनी मुकुण्डो बनाउन र रंग लगाउन सिकाउँछन् । र, हातहातमा एउटा एउटा मुकुण्डो उपहार दिएर पठाउँछन् ।
नेपालीका लागि नि ? रातो बंगलाजस्ता केही विद्यालयले मुकुण्डो कला जानकारी दिलाउन विद्यार्थीलाई उनकैमा ल्याउँछ । कतिपय विद्यालयले उनलाई बोलाउँछन् । उनी विद्यालयमा पुगेर मुकुण्डो बनाउने विधि सिकाउँछन् । त्यसबाट पनि राम्रै आम्दानी हुन्छ ।
उनको कारखानामा सधैं चार जना व्यस्त बन्छन् । सोमराज, श्रीमति राधिका, भाई अनिल र अर्का एकजना सहयोगी ।
पुख्र्यौली थलो सिन्धुपाल्चोक भएका सोमराज कसरी मुकुण्डो कलाकृतिमा होमिए त ? खासमा उनी उनी मध्यपुर थिमिमै हुर्किएका हुन् । त्यहीँका पूर्णकृष्ण चित्रकारसँग ६ वर्षसम्म कला सिके । र, ०५४ सालदेखि आफैं पसल खोले ।
उनले जान्दा टोलमा मुकुण्डो बेच्ने ९ वटा पसल थिए, आज जम्मा तीनवटा बाँकी छन् । समयसँग हिँड्न नजान्नेहरू बन्द भए । उनी चाहिँ मुकुण्डो कलाकारीतालाई नै नयाँ उचाइमा पु¥याउँदैछन् । उनको भबिश्य सुनौलो छ ।