डडेल्धुरा सदरमुकामको शिरमा एउटा ऐतिहासिक सम्पदा छ, अमगरगढी किल्ला । कचौरा आकारको किल्ला । ढुङ्गैढुङ्गाले बनाइएको । यहाँ बन्दुक हान्ने र तोप राख्ने गुफा, सुरुङ, कोतघर आदि छन् । बीचमा छ, कालभैरव मन्दिर । किल्लाकोे प्रवेशद्वारमै बडाकाजीको सालिक छ । सालिकको तल्लो भागमा लेखिएको छ, ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ –बडाकाजी अमरसिंह थापा । किल्ला अर्थात् हाम्रो गौरवगाथा । किल्लामा पुग्दा आत्मगौरव बढ्छ । इतिहासअनुसार श्री ५ रणबहादुर शाहको शासनकालमा अधिराजकुमार बहादुर शाहको प्रत्यक्ष नेतृत्वमा सञ्चालित नेपाल एकीकरण अभियानमा वि.सं.१८४७ भदौ ३१ गते सेती नदीको नारीदाङमा गोरखाली फौजसँग डोटेली सेनाको हार भयो ।
बडादसैंको फूलपातीका दिन गढीको तोप टुँडिखेलमा लगेर बढाइँ गरिन्थ्यो । दशमीमा पनि तोप पड्किएपछि मात्र जमरा काटिन्थ्यो र टीकाको साइत सुरु हुन्थ्यो । २०३५ सालतिर सेनाले यहाँबाट तोपहरू सल्यानमा लगेको सुनिन्छ । तिनलाई फिर्ता ल्याउन सके अमरगढी किल्लाको आकर्षण बढ्ने थियो । वीरबहादुर जैरु - संस्कृतिकर्मी
अनि डोटेली राज्य पनि बृहत् नेपाल राज्यमा गाभियो । त्यहीबेला युद्ध विस्तार गर्न र यस क्षेत्रलाई सम्हाल्न अमरसिंह थापालाई प्रशासक नियुक्त गरियो । उनले त्यही वर्ष किल्ला बनाए । त्यसैले यसलाई ‘अमरगढी किल्ला’ भनिएको । अमरगढीलाई आधार मानी उनले अल्मोडा, गढवाल र काँगडासम्म राज्य विस्तार गरेका थिए ।विजय अभियानको समाप्तिपछि अमरगढीको मातहतमा रहने गरी एउटा किल्ला कुमाउमा पनि राखिएको थियो । यसरी बडाकाजी थापाले नेपालको गौरव बढाए । यही ऐतिहासिक किल्लाको नामबाट अमरगढी नगरपालिका नामकरण गरिएको हो ।
किल्लामा पुराना हातहतियार, बन्दुक, तोप आदि भने देखिँदैन । किल्लाभित्रका भवन जीर्ण भइसके । गढीको राम्रो संरक्षण गरी यसलाई इतिहास अध्ययन केन्द्रका रुपमा विकास गर्नु पर्ने देखिन्छ । किल्ला विगतमा नेपाली सेनाको स्वामित्वमा थियो । अचेल स्थानीय नगरपालिकाले स्वामित्व लिएको छ । नेपालीले ५० रुपैयाँको टिकट काटेर गढी अवलोकन गर्न पाउँछन् । विद्यार्थीले भने २० रुपैयाँ तिरे पुग्छ । गढी भनेकै अग्लो ठाउँमा बनाइने सामरिक महत्वको सम्पदा । यहाँबाट पनि चारैतिरका बस्ती, हिमाली शृङ्खला, सूर्योदय र सूर्यास्तका दृश्यहरू अवलोकन गर्न पाइन्छ । किल्लानजिकै पर्यटकीय सुविधाका होटल तथा रेस्टुराँ छन् । डडेल्धुरा बसपार्कबाट हिँडेर किल्लामा पुग्न ५ मिनेट लाग्छ । किल्ला प्रवेशद्वारमै सडक जोडिएको छ ।
मनोकामना पु¥याइदिने देवी उग्रतारा प्रख्यात शक्तिपीठ हुन् । नवदुर्गामध्येकी एक । भगवतीले उग्र रुप लिएर राक्षस बध गरेकाले उग्रतारा नाम रहेको । यिनको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ । तिर्थालुहरू उनलाई घण्टी, फूलप्रसादी, पञ्चरङ्गी नेजा, सुनचाँदी, बोका र राँगा चढाउँछन् । मन्दिरमा लाखबत्ती पनि बाल्छन् । मन्दिरमा कात्तिक शुक्लपक्ष पूर्णिमाका दिन देहिजाँत (जात्रा) लाग्छ । जात्रामा देवीको प्रतिमूर्ति राखेर गाँज नचाउने चलन छ । उग्रताराको जाँतमा खनमडा, छचोडा, दमडा र जिलोडाबाट ‘चल देवता’ देउरो ल्याउने गरिन्छ । जाँत (जात्रा) भर्न सुदूरपश्चिमेली मात्र होइन, छिमेकका पिथौरागढ, नैनीताल, गढवाल, बनबासा, टनकपुर, खटिमालगायतबाट समेत तिर्थालु आउँछन् । उग्रतारा मन्दिर हातामा विभिन्न देवदेवीका मन्दिर छन् । शिवपार्वती, भैरव, कालिका, सीताराम आदिका । उग्रताराका विषयमा एउटा किंवदन्ती प्रचलित छ । उहिल्यै मन्दिर पूर्वतिर बस्ने साकी जातीको यहाँ खेती थियो । एक दिन हलो जोतिरहेका बेलामा शिलामा फालो लाग्यो, त्यहाँबाट रगत निस्कियो । अचानक महावाणी सुनियो, ‘म भगवती माता हुँ, मेरो सेवा गर । तिम्रो कल्याण हुनेछ ।’
पुजारी बितेको ४० वर्ष नाघिसक्दा पनि वैदिक विधिअनुसार पुजारी नियुक्त हुन सकेको छैन । यस्तो अवस्थामा ब्राह्मणले भगवतीको शिलाभन्दा टाढैबाट पूजा गर्दै आएका छन् । तेजबहादुर साकी - मूल धामी
त्यसपछि ती किसानले शिलालाई पूज्न थाले । यसरी भगवतीलाई फेला पार्ने किसानका सन्तान पुजारी र धामी बन्दै आएका छन् । मूल धामी तेजबहादुर साकीका अनुसार मूल पुजारी नियुक्त हुने वैदिक विधान छ । यसका लागि मन्दिर क्षेत्रको नचनटुक्री भन्ने ठाउँबाट उल्टो सुतेर तल शैलेश्वर महादेव क्षेत्रको श्मशानघाटमा पुगेर विधान पूरा गर्नुपर्छ । पुजारी बितेको ४० वर्ष नाघिसक्दा पनि वैदिक विधिअनुसार पुजारी नियुक्त हुन सकेको छैन । यस्तो अवस्थामा ब्राह्मणले भगवतीको शिलाभन्दा टाढैबाट पूजा गर्दै आएका छन् । विद्यमान मन्दिर वि.सं. ०३८ सालमा प्यागोडा शैलीमा पुनः निर्माण गरिएको हो । यसको रेखदेख उग्रतारा क्षेत्र विकास समितिले गर्दै आएको छ । डडेल्धुरा बजारबाट ४ किलोमिटर दुरीमा बसेकी छिन् भगवती । अमगरगढी नगरपालिका –८ मा अवस्थित रमणीय डाँडाको मन्दिर क्षेत्र रमाइलो छ । मौसम उघ्रिएका बेला यहाँबाट अपिशैपाल हिमशृङ्खला देखिन्छ । मन्दिरसम्म पक्की सडक छ । मन्दिर क्षेत्रमा सामान्य खाजा पसल छन् । यता डडेल्धुरा बजारमा भने सुविधायुक्त होटेल तथा रेस्टुराँको दुःख छैन ।
काठमाडौंबाट ७७१ किलोमिटरमा डडेल्धुरा सदरमुकाम । काठमाडौंबाट डडेल्धुराका लागि बस छुट्छन् । अथवा काठमाडौं–धनगढी ७५ मिनेट हवाईयात्रा । धनगढीबाट डडेल्धुरा १३७ किलोमिटर । धनगढी र अत्तरियाबाट पनि डडेल्धुराका लागि बस छुट्छन् । धनगढीबाट ४ घण्टामा डडेल्धुरा पुगिन्छ ।
भित्री मधेशको जङ्गल बीचमा मनमोहक ताल वरिपरि जङ्गल । बीचमा तलाउ । पानीमा पौडिरहेका जलहाँस । किनारमा फुर्रफुर्र उडिरहेका पुतली । आकाशमा भुर्रभर्र उडिरहेका चरा । सुन्दर, शान्त र मनोहर । आलितालमा पुग्दा मन रमाउँछ । डडेल्धुराको आलिताल गाउँपालिका–३ मा पर्दछ, ताल (८,०० मिटर) । भित्री मधेशमा, महाभारत पर्वतको जङ्गल बीचमा । ताल किनारमा पदमार्ग छ, हिँडेर तालको फन्को मार्न करिब आधा घण्टा लाग्छ । तालमा डुङ्गा चढ्ने सुविधा छ । यहाँको पानी दक्षिणपट्टिबाट बहन्छ, जसलाई झरन खोला भनिन्छ । यो खोला रंगुन नदीमा पुगेर मिसिन्छ । तालले बेलाबेलामा रङ्ग फेर्छ । तालका कर्मचारी गगनसिंह पुन मगरका अनुसार पुसमाघमा हेर्दा ताल धमिलो देखिन्छ । तर, अञ्जुलीमा पानी उठाएर हेर्दा कञ्चन हुन्छ । प्राकृतिक हिसाबले त सुन्दर छँदैछ, धार्मिक हिसाबले समेत आलिताल महत्वपूर्ण छ । यसलाई देवताको ताल समेत भनिन्छ । यसको पूर्वमा बाराही, उत्तरमा समैजी र उत्तरपश्चिममा भगवतीका मन्दिर छन् । श्रीपञ्चमी र माघे सङ्क्रान्तिमा मेला लाग्छ ।
ताल उत्पत्तिको विषयमा बुढापाकाहरू रोचक कथा सुनाउँछन् । पहिला यो ठाउँमा खेती थियो रे । यसको पूर्वमा मामुर गाउँ थियो । असारका बेला रोपाइँको तयारी भैरहेको थियो । गाउँकी एउटी बुहारीले सपना देखिछन्, ‘अनिष्ट हुन्छ, रोपाइँ नगर्नु ।’बिहान उनले आफ्नो सपना सबैलाई सुनाइन् तर कसैले मानेनन् । उनीहरू हलोजुवा बोकेर रोपाइँमा निस्केछन् । उनीहरू खेतमा पुगेर आली लगाउँदा, भासिएछ । ठुलो पानी परेछ । र, २२ हल गोरुसहित गाउँले सबै पुरिएर मरेछन् । तिनै सपना देख्ने बुहारी खाजा लिएर आउँदा माथिबाटै ताल देखिछन् । उनी त्यहीँ शिलाको रुपमा अलप भइछन् ।
आलिताल हाम्रो गौरव हो । सहज पहुँचका लागि रंगुन नदीमा पक्की पुल आवश्यक छ । घुम्तीबजारमा रंगुन नदी फराकिलो छ । पुुल बनाउन ठुलो रकम चाहिन्छ । गाउँपालिकाको बजेटबाट सम्भव नभएकाले हामीले प्रदेश सरकार र केन्द्र सरकारसँग माग गरेका छौं । मैनाकुमारी रावल - उपाध्यक्ष, आलिताल गाउँपालिका
ताल वरिपरि सामुदायिक वन छन् । असीग्राम, आलिताल, लक्ष्मीनारायण, हरियाली र भूमिराज गरी ५ ओटा सामुदायिक वनले ताल घेरिएको छ । वनक्षेत्रमा जङ्गली जनावर बँदेल, मृग, चितुवा आदिको बसोबास छ । तालमा जाडो छल्न समुन्द्र पारिबाट फिरन्ते चरा पनि आउँछन् । प्रशस्तै पर्यटकीय सम्भावना हुँदाहुँदै पनि आलितालले फाइदा उठाउन सकेको छैन । यहाँ जाडो याममा वनभोज खानेहरूको भिड लाग्छ । कहिलेकाहीँ आन्तरिक पर्यटक आइपुग्छन् । स्थानीय गाउँपालिकाले आलिताललाई पर्यटकीय गन्तव्य बनाउन परिणामुखी काम गर्नुपर्ने खाँचो छ ।
डडेल्धुराकोे बुडरबाट करिब १८ किलोमिटर दुरीमा पर्दछ, ताल । बुडर–जोगबुढा सडक खण्डको घुम्तीबजारसम्म १६ किलोमिटर पक्की सडक छ । त्यहाँबाट उत्तरपश्चिम २७ सय मिटरमा ताल । ताल किनारसम्म सडक ट्रयाक खोलिएको छ । आलिताल क्षेत्रमा खाना र बास सुविधा छैन । नजिकैका गाउँमा सामुदायिक होमस्टेको सम्भावना देखिन्छ । नजिकका घुम्तीबजार र गोदाम बजारमा सामान्य खाना र बास पाइन्छ । तत्कालका लागि आलिताल पर्यटन विकास समाजले ताल नजिकै खाजाघर चलाउनु बेस हुनेछ ।
अरु तीर्थ पटकपटक, परशुराम धाम एकपटक
हिन्दुग्रन्थ स्कन्द पुराणमा महाकालीको ‘विष्णुपुर’ बारे चर्चा गरिएको छ । विष्णुपुर तीर्थ परशुराम नगरपालिका–५, डडेल्धुराको परशुराम धाम हो । यसलाई चक्र तीर्थ भनिन्छ, जहाँ स्नान गरेमा सबै पाप नाश हुने र स्वर्गनजिकै विष्णुलोक पुगिने जनविश्वास छ । रंगुन (ऐला) र महाकाली (श्यामा) नदीको सङ्गममा अवस्थित छ, परशुराम धाम । रंगुन पूर्वबाट पश्चिम बगेकी छिन् भने महाकाली उत्तरबाट दक्षिण । परशुराम धामको महिमा ठुलो छ । त्यसैले जनबोलीमा ‘अरु तीर्थ पटकपटक, परशुराम धाम एकपटक’ भनिन्छ । महाकाली किनारमा स्यानो टापु छ । टापुको बलौटे माटो कालो देखिन्छ । त्यसलाई परशुरामले यज्ञ गर्दा डढाइएको चरु मानिन्छ । उहिल्यै यहाँ देवसभा हुँदा भगवान परशुरामलाई अजम्बरी हुने बरदान मिलेको थियो । भगवान विष्णुका दश अवतारमध्ये परशुराम छैटौं हुन् । सप्तऋषिमध्येका एक जमदग्निका छोरा । उनले शिवको तपस्या गरे । भगवान खुसी भएर बन्चरो उपहार दिए । त्यसैले परशुरामलाई ‘बन्चरो बोक्ने राम’ पनि भनिन्छ ।
विष्णुपुरमा तपस्या गरेर उनी चिरञ्जीवी बने । यहाँ उनले भीष्म पितामह, द्रोणाचार्य र कर्णलाई धनुर्विद्या सिकाएका थिए । त्यति मात्र होइन, असुरहरूको विनाश गरेर पृथ्वीलाई पटकपटक अधीनमा लिएका थिए ।
जीवनमा एकपटक दर्शन गर्नै पर्ने तीर्थ हो, परशुराम धाम । नेपाली त आउँछन् नै, भारतीयलाई आउन भने सजिलो छैन । सीमानजिकैको पूर्णागिरिमा बर्सेनि लाखौं भारतीयले पूजापाठ गर्छन् । महाकालीमाथि भारतले पुल बनाउँदैछ, त्यसपछि परशुराम धाममा उनीहरु पनि बढ्ने आशा छ । गणेशप्रसाद जोशी - अध्यक्ष, परशुराम क्षेत्र विकास समिति
उनले आफ्नो बन्चरो हिर्काएर तीन हात लम्बाइ, तीन हात चौंडाइ र तीन हात गहिराइको कुण्ड बनाए । त्यसमा विश्वकर्माले विष्णुको मूर्ति राखे । आज कुण्ड देखिँदैन । नदी किनारमा एउटा द्वार छ । यसलाई युधिष्ठिर स्वर्ग जानुअघि छिरेको धर्मद्वार भनिन्छ । द्वार छेउमा उम्रिएको बाबियो गाँठो पारेमा मनोकामना पूरा हुने, प्रेम सफल हुने र भाग्य बलियो बन्ने भनाइ छ । टापुमा शिवजीको मन्दिर छ । विष्णुपुरमा भगवान ब्रह्माले सत्य युगमा रोपेको भनिएको वर र पिपल छन् । ती बिरुवा न कहिले बढ्छन् न कहिल्यै घट्छन् । तिनलाई विष्णुस्वरुप मानेर पुजिन्छ । यहाँ माघ महिनाभर मेला लाग्छ । भक्तजन कल्प बास बस्छन् ।
साथै साउने सोमबार, अक्षय तृतीया र शिवरात्रिमा पनि मेला लाग्छ । परशुराम क्षेत्रमा देउरा राख्ने घर छन् । देउरा भनेका ‘चल देवता’ हुन् । मकर सङ्क्रान्ति र सूर्यग्रहण लागेका बेला डडेल्धुराका १६ वटा शिवालयका देउरा यहाँ ल्याइन्छ । तिनलाई स्नान गराइन्छ । खिट्केश्वर, भागेश्वर, असीग्राम, बैद्यनाथलगायतका देउरा ल्याइन्छ । परशुराम क्षेत्र विकास समिति पूर्वाधार विकास गर्दैछ । यहाँ ५२ फिट अग्लो परशुरामको मूर्ति पनि बनाइएको छ । परशुराम धाममा खाजा पसल र धर्मशाला पनि छन् । नजिकैका परीगाउँ र जोगबुढा बजारमा भने होटल सुविधा पनि छ । कञ्जनपुरको महेन्द्रनगरबाट ४३ किलोमिटर र डडेल्धुराको बुडरबाट ४१ किलोमिटर दुरीमा पर्दछ परशुराम धाम । महेन्द्रनगर, धनगढी र डडेल्धुराबाट बिहान परशुराम धाम क्षेत्रका लागि गाडी छुट्छन् ।
महाभारतका पात्र घटोत्कच नै घटालबाबा हुन् । उनी पाण्डव पक्षका भीमपुत्र । उनकी आमा राक्षसवंशकी हेडम्बा । घटोत्कच शूरवीर थिए । उनले महाभारत युद्धमा कौरव पक्षको ठुलो क्षति पु¥याए । पछि कर्णले इन्द्रदेवबाट प्राप्त शस्त्र प्रहार गरेर उनको हत्या गरिदिए । यिनै घटोत्कचलाई डडेलधुरामा ‘घटालबाबा’का रुपमा पुजिन्छ । डोटीगाडको बीचमा घटालथान छ । अमरगढी नगरपालिका–३ मा अवस्थित घटालथानमा बाबाका मूर्ति छन् । घटालथान वरपर चारै दिशामा डुडेश्वर मन्दिर छन् । त्यस्तै घटालक्षेत्रमा कैलपाल, असीग्राम महादेव, भगवती आदिका मन्दिर पनि छन् । घटाल दर्शन गरेमा सन्तान प्राप्त हुने, आयु बढ्ने, समृद्धि हुने जनविश्वास छ । समग्रमा यिनलाई मनोकामना पु¥याइदिने देवता भनिन्छ ।
यहाँ हरेक वर्ष वैशाख २ गते र कात्तिक शुक्ल पूर्णिमाका दिन मेला लाग्छ । असीग्राम मन्दिरमा भने विजया दशमीका दिन मेला लाग्छ । घटालबाबालाई पञ्चरङ्गी नेजा, बोका, घण्ट आदि चढाइन्छ । आइतबार, औंसी, एकादशी, साउन, पुस र माघमा बलि चढ्दैन । मन्दिर क्षेत्रमा हरेक मङ्गलबार र शनिबार स्थानीय कलाकारहरूले दमाहा बजाउँछन् । त्यस्तै जाँत (जात्रा)मा पनि बाजागाजाको धुनले घटाल क्षेत्र गुन्जिन्छ ।
घटालबाबा साक्षात् देवता हुन् । यस क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्य बनाउन डोटीगाडमा बाँध बाँधेर ताल बनाउने योजना छ । त्यसपछि डुङ्गा चलाउने छौं । साथै यहाँका प्राचीन सम्पदा उत्खनन, संरक्षण एवम् सजावट गर्ने योजना छ । कृष्णराज बोहोरा -
अध्यक्ष, घटाल क्षेत्र विकास समाज
घटालथानको सम्बन्ध अजयमेरुकोटसँग जोडिएको छ । अजयमेरुकोटका राजा नागी मल्लले भारत, उत्तराखण्डको कतुर भन्ने ठाउँकी राजकुमारी बिहे गरेका थिए । दाइजोमा घटालबाबाको मूर्ति पनि ल्याइएको थियो । तिनै घटालबाबालाई यहाँ स्थापना गरिएको हो । दाइजोसँगै घटालबाबाको सेवामा पठाइएकाहरू घटालथान वरपर बसे । डडेल्धुरा बजारबाट साँढे ६ किलोमिटर पश्चिममा पर्दछ, घटालथान । थानसम्मै पक्की सडक बनाइएको छ । यहाँको चम्साल गाउँमा खाजाघर छन् । होटल तथा लज सुविधा भने छैन । त्यसैले डडेल्धुरा बजारमा बसेर घुमफिर गर्नुपर्छ ।
अजयमेरुकोट ऐतिहासिक सम्पदा हो । बाइसे राज्य अन्तर्गत डोटी राज्यको ग्रीष्मकालीन राजधानी अजयमेरुकोट र शीतकालीन राजधानी दिपायल थियो । अजयमेरु गाउँपालिका–२ मा पर्ने कोटमा ऐतिहासिक सम्पदा छन् । दरबारका भग्नावशेष, देवल, गुफा, नाउला, सुरुङ, पोखरी आदि सम्पदा यहाँ देख्न सकिन्छ । अजयमेरुकोटमा बसेर केही राजाले शासन चलाएका थिए । दरबारको निर्माण सम्बन्धमा धेरैथरी भनाइ प्रचलित छन् । एउटा भनाइअनुसार कत्युरी वंशका राजा अजयपाल देवले एघारौं शताब्दीमा यसको निर्माण गरेका हुन् । उनकै नामबाट अजयमेरुकोट भनिएको हो ।
हामीसँग पर्यटकीय सम्भावना बोकेका थुप्रै प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा छन् । तर, तिनको राम्रो प्रचारप्रसार हुन सकेको छैन । सरोकारवालाले पर्यटकीय पूर्वाधार विकास गर्दै हाम्रा महत्वपूर्ण सम्पदाको डिजिटल मार्केटिङमा जोड दिनै पर्छ । गणेशबहादुर मगर - पत्रकार
रैका वंशका नागी मल्लको शासनकालमा यहाँ ढुङ्गाका धेरै कलाकृति निर्माण गरिएको अजयमेरुकोट गाउँपालिकाका अध्यक्ष उमेश भट्ट बताउँछन् । उनले वि.सं. १४४१ देखि करिब ९ वर्ष शासन चलाएका थिए । यहाँका ऐतिहासिक सम्पदाको संरक्षण र इतिहासको गहिरो अध्ययन एवम् विश्लेषण हुनै बाँकी छ । यसमा पुरातत्व विभाग र स्थानीय गाउँपालिकाले सक्रियता देखाउनु पर्छ । बल्ल अजयमेरुकोट ऐतिहासिक पर्यटनधामका रुपमा चम्किने छ । यो क्षेत्रलाई इतिहास, प्रकृति र संस्कृतिको त्रिवेणीधामका रुपमा चिनाउन सकिनेछ ।डडेल्धुरा सदरमुकामबाट करिब ८ किलोमिटर पश्चिममा पर्दछ, अजयमेरुकोट । कोटबाट ५ सय मिटर नजिकसम्म कच्ची सडक छ । खाना र बास सुविधाका लागि यहाँको हाटगाउँमा होमस्टे सञ्चालित छन् ।