सस्ता र हल्का सामानमा लोभिँदैछन् पर्यटक । बजारमा २५० देखि १२५० रुपैयाँमा पाइने सामानको माग छ
एक समय थियो, नेपालबाट फर्कने बेला पर्यटक कार्पेट, थाङका, पश्मिना, मूर्ति, चाँदिका गहना, थाङका चित्र, काष्ठकला लगायत सामान लैजान्थे । समय बदलियो, अचेल यस्ता सामान किन्नेहरू थोरै हुन्छन् । अधिकांश पर्यटकहरू बोक्न हल्का र किन्न सस्तो पर्ने सामान रोज्छन् ।
‘हातबुना सामानको व्यापार कम छ’, कोसेलीजन्य सामान उत्पादन गर्दै आएको हिमालयन म्याप हाउस, काठमाडौंका निर्देशक पवन शाक्य भन्छन्, ‘अचेल बोक्न हल्का हुने र पैसा पनि सस्तो पर्ने सामान बढी बिक्छ ।’
आज नेपालको कला, संस्कृति र प्रकृति झल्कने फ्रिज म्याग्नेट, प्लेट, प्लेइङ कार्ड, स्नो ग्लोब, कप, कि रिङ, टकिला ग्लास, चम्चाले बजार पाएको छ । त्यसपछि आकर्षक तस्बिर भएका क्यालेन्डर, पोष्टर, पोष्टकार्ड र फोटो बुकको माग हुन्छ ।
अचेल पोष्टर र पोष्टकार्डको व्यापार पनि घट्दो छ । डिजिटल क्यामेरा र स्मार्टफोनको विकाससँगै पोष्टकार्ड र पोस्टर युग सकियो । बजारमा दुई सय ५० देखि १२ सय ५० रुपैयाँसम्म पर्ने सामान बढी बिक्छ ।
विदेशीका साथै बाहिर बस्ने नेपाली पनि यताबाट कोसेली लान्छन ।
धातु, सेरामिक्स र रबरबाट बन्छ प्रिज म्याग्नेट । विदेशमा यसको धेरै प्रयोग हुन्छ । कोटमा सिउँरिने पिन–व्याज पनि राम्रो कोसेली हो । नेपालको झण्डा, हिमाल र वन्यजन्तुका तस्बिर हुन्छ व्याजमा । टेबलमा सजाइने स्नो ग्लोबमा सगरमाथा, अन्नपूर्ण, बौद्धनाथ, स्वयम्भुनाथ, बुद्धका मूर्ति राखिन्छ ।
हिमालयन म्याप हाउसले दुई दशकदेखि कोसेलीजन्य सामान, पर्यटकीय नक्शा र गाइड बुकहरू उत्पादन गर्दै आएको छ । उसले जातजातिका अनुहार, हिमाल, जनाबर, फूल आदिका तस्बिर राखेर खेल्ने तास पनि उत्पादन गर्दै आएको छ ।
सस्तो सामानबाट मुलुकले खासै फाइदा लिन सक्दैन । हाम्रा मौलिक हस्तकला प्रवद्र्धन गर्न सके एकातिर रोजगारी सृजना हुन सक्छ भने अर्कोतिर राज्यले राम्रो आम्दानी गर्छ । त्यसैले सरकारले मौलिक हस्तकला प्रवद्र्धन अभियान चलाउनु पर्छ ।