काठमाडौंबासीलाई ०१६ सालदेखि फोक्सो चखाउँदै आएको नछेगल्लीको पसलमा आज पनि उत्तिकै भिड लाग्छ । काठमाडौं, सुन्धाराको छेउमा पर्छ संकटा मन्दिर । संकटा चोकको एउटा गल्लीबाट मात्र एक मिनेट भित्र पसेमा नछेगल्ली पुगिन्छ । त्यहाँको खुल्ला चोकमा एउटा ट्रली (गाडा)बाट खानाको बासना हरर चल्छ ।
गाडासँगैको शटरमा मान्छेहरू जिब्रो फड्कारी फड्कारी विभिन्न परिकार चाख्छन् । उनीहरूका अगाडि टपरीमा खसीको फोक्सो, मम, सेकुवा, आलु स्टिक, चिकेन ड्रमस्टिक, स्याफाले, ससेज लगायत परिकार हुन्छ ।
सस्तो पनि, मिठो पनि !
यो पसलको कथा लामो छ । शुक्रमान श्रेष्ठले २०१६ सालदेखि त्यहाँ खसीको फोक्सो बेच्न थालेका थिए । उनी साँझ ५ देखि राती १० बजेसम्म लालटिनको उज्यालोमा फोक्सो बेच्थे ।
तिनताका ‘गाडाको फोक्सो पसल’ भने पछि न्यूरोड सेरोफेरोमा नचिन्ने कोहि थिएन । सुरुका केही वर्ष फोक्सो मात्रै बेचेका शुक्रमानले पछि ममचा र खसीको मुटु पनि बेचे ।
हिजोआज छोरा शुसिल श्रेष्ठले बाबुको बिँडो धानेका छन् । उनी ग्राहकलाई फोक्सो मात्रै होइन, बफ सेकुवादेखि चिकेन ड्रमस्टिकसम्म खुवाउँछन् ।
आज पनि बढी बिक्रि हुने फोक्सो नै हो । दैनिक १५ देखि २० किलोसम्म फ्राई फोक्सो बेच्छन् उनी । फोक्सोपछि बढी खपत हुने परिकारमा मम पर्छ ।
सामान्यतः फोक्सो चाम्रो हुन्छ । उनको पसलमा तारेको फोक्सो कमलो हुन्छ । कसरी बनाउँछन् त ? बजारबाट किनेर ल्याइएको फोक्सोभित्र मैदा, अण्डा र दुध घोलेर मुखलाई बाँधी उसिनिन्छ । त्यसपछि टुक्रा–टुक्रा पारेर मसला मोलेपछि तेलमा फ्राई गरिन्छ ।
पसल दिउसो १ बजेदेखि साँझ ८ बजेसम्म खुल्छ । त्यहाँ उनीसँगै जीवनसाथी सरस्वती र कर्मचारी लालसिंहलाई भ्याई नभ्याई हुन्छ ।
पुरानो फोक्सो पसल खोज्दै टाढा टाढाका पारखी आउँछन् । दश वर्षको उमेरदेखि बुबासँगै पसलमा बसेका शुसिलले पोहोरदेखि मात्रै शटर भाडामा लिएर व्यवसायलाई नयाँ ढँगले अघि बढाएका ।
उनले पसलमा साइनबोर्ड राखेका छन्–‘पुरानो खसीको फोक्सो पसल ।’
साइनबोर्ड पढ्दा पुरानो खसीको फोक्सो बेच्ने पसल जस्तो लाग्न सक्छ । तर, होइन फोक्सो नयाँ खसीकै प्रयोग गरिन्छ । ०१६ सालदेखि खुलेको पसल भएकाले पुरानो खसीको फोक्सो पसल भनिएको ।
कहिले नछेगल्लीमा, कहिले संकटा चोकमा व्यापार गरे उनले । बीच बीचमा स्थानीय प्रशासन, क्लब र पुलिसले गाडा राख्न नदिँदा विरक्त लागेको थियो उनलाई । मनमा विदेश उडौं उडौं जस्तो पनि लाग्थ्यो ।
‘आफ्नै घर आँगनमा बसेर व्यवसाय गर्न पाउँदा सन्तुष्ट छु’, शुसिलले भने, ‘अब त भाडाको शटर लिएकाले कसैले उठाउलान् भन्ने चिन्तै छैन ।’
छोराको प्रगतीमा रमाउने उनका पिता बाँचेका भए आज कति खुशी हुन्थे होलान् ! बिडम्बना ! निष्ठुर दैबले ८ वर्ष अघि आफैंसँग लग्यो उनलाई ।
पुराना ग्राहक सधैं उनको सम्झना गर्छन् ।