झलक्क हेर्नेवित्तिकै चिनिन्छ जनकपुरे कला । बांगाटिंगा रेखाबाट बनेका चित्र । लामा–लामा नाक र ठूल्ठूला आँखा भएका देवदेवी वा मान्छे भएका चित्र । तीनमा सँुगा, मयुर, कुखुरा, माछा, ऊँट, घोडा, हात्ती, बाँस, सूर्यचन्द्र आदिका चित्र हुन्छन् ।
संस्कृतिविद् रामदयाल राकेशका अनुसार जन्म, विवाह, मृत्युजस्ता संस्कार र चाडपर्वमा मैथिल महिलाले घरका भित्ता र भुइँमा चित्रले सजाउने चलन छ । गाउँमा माटो, चामलको पिठो, सिन्दुर, ध्वाँसो, पात, फूल र रुखका बोक्राको रंगबाट चित्र बनाइन्थ्यो । अचेल विकासे रंग प्रयोग गरिन्छ ।
विशेषतः नेपाल घुम्न आएका विदेशी जनकपुरे चित्र झल्कने टिशर्ट, कप, प्लेट, डायरी, क्यालेन्डर, रुमाल, फोटो फ्रेम, ऐना लगायत सामाग्री किन्छन् । नेपालीमा पनि यसको क्रेज बढ्दो छ ।
जनकपुरको कुवा गाउँमा भएको ‘नारी विकास केन्द्र’ले व्यवसायिक रुपमा कोसेली उत्पादन गर्छ । त्यहाँ ४० भन्दा बढी महिला कलाकार सक्रिय छन् । केन्द्रमा मात्रै होइन, जनकपुर र काठमाडौंमा समेत जनकपुरेले पारिवारीक व्यवसायका रुपमा यसको उत्पादन गर्दै आएका छन् ।
आज कागज, कपडा र भाँडावर्तनमा विकासे रंगबाट मिथिला चित्र बनाइन्छ । पहिला यस्तो कला किन्न पाइन्नथ्यो । जनकपुरको परम्परागत सीपलाई व्यवसायीकरण गर्ने अभियान अमेरिकी महिला क्लियर बर्केटले चलाएकी हुन् । उनले सन् १९८९ मा सुरु गरेको जनकपुर महिला कला परियोजनाले भुइँ र भित्ताबाट मिथिला कलालाई नेपाली कागज, कपडा र सेरामिक्सका भाँडावर्तनसम्म ल्याएर व्यवसायीकरण गरायो ।
मिथिला क्षेत्रमा सीमित कला अमेरिका, बेलायत, जर्मनी र जापानसम्म पुगिसक्यो ।
सन् १९८८ मा परिवार नियोजनका छोटा फिल्म देखाउन जनकपुर आइपुगेकी बर्केटले साहित्यकार राजेन्द्र विमलसँगै गाउँघर डुल्दा घरका भित्तामा महिलाले बनाएका चित्र देखिन् । त्यसबाट आम्दानी हुनसक्ने लाग्यो उनलाई । तिनताका भारतको मधुवनीमा मिथिला चित्रले व्यवसायिकता पाइसकेको थियो । बर्केटले त्यसकै सिको गरिन् । र, उनले जनकपुरमा परियोजना चलाइन् जनु सफल भयो ।
कतिपय नेपाली कलाकार मिथिला कलामा नविन प्रयोग गर्न सिपालु छन् । बर्केटको सक्रियतामा सन् १९९० मा काठमाडौंको अमेरिकी लाइब्रेरीमा जनकपुरे कला प्रदर्शनी भएपछि ती चित्र विदेशसम्म पुगे । र, समयक्रममा जनकपुरे कलाका रुपमा स्थापित भयो । यसरी परम्परागत सीपबाट आम्दानी हुन थालेपछि कला जोगियो ।
जनकपुर घुमेर फर्कनु अघि जनकपुरे कला किन्न नभुलौं है । अनि त्यहाँको नारी विकास केन्द्रमा कला बनाउँदै गरेका दृश्य आँखा र क्यामेराले दुबैले खिचौं । त्यसो त जनकपुर बाहिर काठमाडौं, पोखरा र चितवन जस्ता पर्यटकीय केन्द्रमा समेत जनकपुरे कला पाइन्छ । किनेर परिवार, इष्टमित्र वा साथीसंगीलाई उपहार दिने कि ?