आध्यात्मिक पर्यटन

आध्यात्मिक पर्यटन
देवभूमि नेपालमा आध्यात्मिक पर्यटनको प्रचुर संभावना छ । ध्यान र योग मार्फत मानसिक शान्ति खोज्न आउने पर्यटकको संख्या बर्सेनी बढ्दो छ । नेपालले आध्यात्मिक पर्यटन प्रोेडक्टलाई विश्व बजारमा प्राथमिकतासाथ पस्कनु पर्छ ।

दार्शनिक अरविन्दले भनेका छन्, ‘परमात्माले दिएका उपलब्धि, प्रतिभा, शिक्षा र भौतिक साधन सबै उहाँकै हुन् । परिवार पाल्न जति आवश्यक पर्छ त्यति मात्र मेरो हो, बाँकी सबै भगवानकै लागि उपयोग हुनुपर्छ । सुखसयल र विलासमा खर्च गरें भने म चोर हुँ ।’

ठिकै भनेका हुन् उनले । मनको शान्ति विना जीवन सार्थक बन्दैन । मानसिक आनन्दको खोजीमा दौडिँदादौडिंदै मान्छे अशान्त बन्छ । धन कमाउँछ, नाम कमाउँछ तर शान्ति कमाउँदैन । वास्तवमा महत्वाकांक्षा नै दुःखको मुहान हो ।

सुखको खोजीमा संसारभर ध्यान र योगको अभ्यास हुँदै आएको छ । अचेल आध्यात्मिक ज्ञान बटुल्न पनि घुमफिर गरिन्छ । यस्ता घुमन्तेको संख्या थोरै छ तर यस वर्गका पर्यटक बढी खर्चालु र फुर्सदिला हुन्छन् । यसबाट मुलुकले राम्रो विदेशी मुद्रा आर्जन गर्न सक्छ ।

ध्यान–सुख र आनन्द प्राप्तिको माध्यम हो । ध्यान चेतनाबाट परमचेतनाको यात्रा हो । स्वस्थ शरीर र स्वस्थ मनसँगै आध्यात्मिक अनुभूति मिल्छ । 
नेपालमा ध्यान र योगमार्फत मानसिक शान्ति खोज्न आउनेको संख्या बढ्दो छ । त्यसो त देवभूमी नेपालका हिमाल, पहाड र तराई सबैतिर आध्यात्मिक पर्यटनको प्रचुर संभावना छ । हिन्दु र बौद्ध धर्मका मन्दिरमा मात्र होइन, रारा र खप्तड जस्ता भूःस्वर्गमा समेत योग र ध्यान गराउन सकिन्छ ।

नेपालका प्रमुख सहरहरू काठमाडौं, पोखरा, चितवन, लुम्बिनीमा ध्यान केन्द्रहरू खुलेका छन् । तिनले एक दिनदेखि महिनौंसम्मको प्याकेज बनाएका छन् । त्यहाँ साकाहारी भोजन गरेर अध्यात्मिक अभ्यास गरिन्छ । विपश्यना ध्यानकेन्द्र बाहेक अरु संस्थाले निश्चित शुल्क तोकेर पर्यटकलाई सहभागी गराउँछन् । 

नेपाल योग र ध्यानको तपोभूमि हो । अध्यात्म अभ्यास गर्नै भनेर भारतको ऋषिकेशमा ठूलो संख्यामा विदेशी पुग्छन् । त्यस्तै अबस्था नेपालमा पनि सृजना गर्न सकिन्छ । त्यसका लागि नेपालले आध्यात्मिक पर्यटन प्रोेडक्टलाई विश्व बजारमा प्राथमिकतासाथ पस्कनु पर्छ । 
सिङ्गो नेपाल नै आध्यात्मिक भूमी हो ।

ओशो तपोवन 
ओशो तपोवन काठमाडौंको नागार्जुन जंगलमा अवस्थित अन्तर्राष्ट्रिय कम्युन हो । ओशोको समाधिस्थल, रजनीश ध्यान केन्द्र, शिवपुरी बाबाको ध्यान मन्दिर यहाँका मुख्य आकर्षण हुन् । कलकल बग्ने झरनाले मन लोभ्याउँछ । 

तपोवनमा ओशोले प्रतिपादन गरेका ध्यान विधि सिकाइन्छ । ध्यान गर्नेहरूका लागि तपोवनमा खाने र बस्ने राम्रो व्यवस्था छ । त्यहाँ ठूलो संख्यामा विदेशी आउँछन् । कतिपय त महिनौं बस्छन् । 

तपोवनमा बिहान योगाभ्यासबाट साधना सुरु हुन्छ । त्यसपछि सक्रिय ध्यानको अभ्यास हुँदै मौन ध्यान आदि गराइन्छ । साँझ कुण्डलिनी ध्यानपछि आरती हुन्छ । भोजनपछि राति ध्यान, संकीर्तन हुन्छ । यसरी बिहान ६ देखि बेलुका ९ बजेसम्ममा साधनामै समय विताइन्छ । 

अरविन्द आश्रम 
काठमाडौंको थानकोट चेकपोस्ट माथि ‘अरविन्द योग मन्दिर’ छ । त्यहाँ कर्मयोग र अध्यात्मको अभ्यास गरिन्छ । आश्रम (१,४८० मिटर) २२ रोपनीमा फैलेको छ । आश्रम हातामा अग्र्यानिक तरकारी उत्पादन गरिन्छ । त्यहाँ थाङ्का कला र भरतनाट् यम् सिकाइन्छ । 

शान्त वातावरण छ । आश्रम हातामा अरविन्दको समाधि र हनुमान मन्दिर छन् । विदेशीहरू हप्तौंसम्म बसेर साधना गर्छन् । त्यहाँ गेस्ट हाउस छ । साँझ गुरु रामचन्द्र दासले ध्यान शिविर चलाउँछन् । उनको प्रवचनमा जीवनको अर्थ बुझ्न सकिन्छ । 

रामचन्द्र आश्रमका संस्थापक हुन्, जसले २०५० वैशाख ११ गते आश्रम सुरु गरेका थिए । अरविन्दको सामिप्यमा १२ वर्ष पण्डिचेरी बसेर स्वदेश फर्केपछि उनले स्वदेशमै आश्रम खोलेका । 

कपन गुम्बा
साँसारिक झन्झट भुलेर ध्यानमा बस्दा आध्यात्मिक सुख मिल्छ । शरीर र मनमा ऊर्जा बढ्छ । काठमाडौंको कपन गुम्बामा विशेषतः विदेशी पर्यटक ध्यानमा बस्छन् । त्यहाँ खाने, बस्ने र ध्यान गर्ने अलग अलग ठाउँ छन् । 

लामा जोपा रिम्पोचेले अध्ययन र ध्यान गराउन सन् १९७० मा कपन गुम्बा बनाएका हुन् । त्यस अघि सन् १९६७ मा उनले सोलुखुम्बुमा गुम्बा स्थापना गरेका थिए । त्यसैलाई कपनमा सारिएको हो जहाँ बालबालिकालाई निःशुल्क बौद्ध शिक्षा पनि दिलाइन्छ । 

कपन क्षेत्रमा थुप्रै गुम्बा छन् । प्रख्यात कपन गुम्बामा नेपालीलाई प्रवेश निषेध छ । लामाहरूलाई बाधा नपुगोस् भनेर नेपालीलाई प्रवेश निषेध गरिएको गुम्बा प्रशासनको तर्क छ । 

विपश्यना ध्यान
काठमाडौंको बुढानिलकण्ठमा छ धम्मशृंग नेपाल विपश्यना केन्द्र । बौद्ध पद्धतिमा आधारित ध्यानलाई गुरु सत्यनारायण गोयन्काले विश्वभर विस्तार गरेका हुन् । काठमाडौं सहित नेपालका विभिन्न भागमा यस्ता केन्द्र छन् । 

विपश्यना सबै प्रकारका दुःखबाट मुक्ति दिलाउने बाटो हो । ध्यानको अभ्यास बढ्दै जाँदा चित्त विकार रहित बन्छ । राग, द्वेष र मोह घट्छ । त्यसैले हरेक धर्म, वर्ग र सम्प्रदायले यसको अभ्यास गर्न सक्छन् ।

अंग्रेजी महिनाको १ र १४ तारिखका दिन महिनाको दुईपटक दश दिने ध्यान शिविर गराइन्छ । शिविरमा सहभागी हुन कान्तिपथ, ज्योति भवनस्थित विपश्यनाको सम्पर्क कार्यालयमा फारम भरेर बुझाउनुपर्छ ।

साधना अवधिभर मौन बस्नुपर्ने हुन्छ । साधकले चोरी नगर्ने, हिंसा नगर्ने, नढाँट्ने, यौनक्रिया नगर्ने र धुमपान–मद्यपान नगर्ने जस्ता नियम पालना गर्नुपर्छ । शिविरका सहभागीले स्वेच्छिक दान गर्छन् । 

शिविरमा ६० प्रतिशत नेपाली हुन्छन् भने बाँकी ४० प्रतिशत हाराहारीमा विदेशी । 

पशुपतिनाथ 
पशुपतिनाथको वाग्मती किनारको सूर्यघाटक्षेत्रमा गुफाहरू छन् । ती गुफामा गुरु गोरखनाथ, शिवपुरी बाबा, खप्तडबाबा लगायतले साधना गरेका थिए । हिजोआजा पनि काठमाडौंका केही कम्पनीले पर्यटकलाई त्यहाँका गुफामा ध्यान गराउँछन् । 

पशुपति क्षेत्र विकास कोषले सूर्यघाट क्षेत्रका १० वटा गुफालाई ध्यान केन्द्रका रुपमा विकास गर्दैछ । पूर्वी मोहडा भएको र पूर्वमा वाग्मती बगेकाले सूर्यघाटका गुफा साधनाका लागि महत्वपूर्ण मानिन्छन् । वाग्मतीको कन्दराबाट पूर्व फर्केर बिहान अघ्र्यदान गर्नु उत्तम हुने शास्त्रमा उल्लेख छ । 
मृगस्थली र विश्वरुप क्षेत्रमा पनि मण्डपमा ध्यान केन्द्र बनाइएको छ । 

त्यस्तै पशुपतिको दक्षिण ढोका अघि पञ्चदेवलमा पाशुपत योग साधना केन्द्र स्थापना गरिएको छ । केन्द्रले पाशुपत धर्मको जानकारी गराउँछ । त्यहाँ विदेशीलाई पनि योग सिकाइन्छ । 

भगवान शिवले सिकाएको योग पाशुपत नै थियो । चार वेद र १८ पुराणमा पाशुपत योगको वर्णन गरिएको छ ।

सेतो गुम्बा
काठमाडौं स्वयम्भुनाथको पश्चिमपट्टि डाँडामा अबस्थित गुम्बाको खास नाउँ ड्रुक अमिताव माउन्टेन हो । ग्याल्बाङ रिम्पोछे यसका संस्थापक । गुम्बा क्षेत्र ७ हेक्टरमा फैलेको छ । आनीहरू त्यहाँ बसेर बौद्ध धर्मको साधना, ध्यान, योग र पूजापाठ गर्छन् । 
ध्यान तथा दर्शन सिक्न अमेरिका, युरोपदेखिका विदेशी आउँछन् । त्यहाँ उनीहरूका लागि पाहुना घर छन् । उनीहरू एक सातादेखि महिनौंसम्म बस्छन् । गुम्बाको पूजापाठ, ध्यान र मन्त्र–जप आदिमा पर्यटक सहभागी बन्छन् । 

नमोःबुद्ध 
नेपालभित्र पर्ने बौद्धमार्गीका प्रमुख चार तीर्थस्थलमा काठमाडौंको बौद्धनाथ, स्वयम्भू, काभ्रेको नमोबुद्ध र लुम्बिनी पर्छन् । काभ्रेको श्यामपाटीमा शाक्यमुनि गौतम बुद्धको पूर्व जन्म भएको थियो । त्यही उनले बघिनिलाई शरिर दान गरेका थिए । त्यही ठाउँलाई नमोः बुद्ध भनिन्छ । 

अध्यात्म, प्रकृति र संस्कृतिको संगम । शीतल, शान्त र स्वच्छ । हावामा फर्फराइरहेका धज्र्यू र लुङदार । गुलाफी वस्त्रमा सजिएका भिक्षु । स्तुप, गुम्बा, होस्टेल, लाइब्रेरी, क्लिनिक आदिका भवनले डाँडै रंगीन । 

डाँडमा ठाङगु टासी याङचे गुम्बा छ जुन बौद्ध दर्शन अध्ययन केन्द्र बनेको छ । त्यहाँ ध्यान कक्षा चलाइन्छ । ध्यान र साधना गर्नेहरूका लागि गुम्बामै गेष्ट हाउस र भोजनालय छन् ।

लुम्बिनी 
बुद्धको अर्थ ‘ब्युँझेको मानिस’ । दरबारको सुख त्यागेर सिद्धार्थ गौतम ब्युँझिए । लोभ, ईष्र्या, घमण्ड, मोह र रिस त्यागे । शान्ति मन्त्र बाँडेर प्रख्यात भए । तिनै गौतम बुद्धको जन्मथलो लुम्बिनी । 

बोधीवृक्षमुनि कपिलवस्तुका राजा शुद्धोदन र रानी मायादेवीको पहिलो सन्तानका रूपमा इसापूर्व ६२३ मा जन्मेका थिए गौतम बुद्ध । तिलौराकोट दरबारबाट माइती देवदह जान हिँडेकी मायादेवीले पुष्करिणी पोखरीछेउमा सिद्र्धाथलाई जन्म दिइन् । 

लुम्बिनीमा मायादेवी मन्दिर छ । मन्दिरमा इसापूर्व तेस्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका भग्नावशेष छन् । सिद्धार्थको जन्मस्मारक शिला त्यहीँ छ । त्यहाँ विभिन्न देशले विहार बनाएका छन् जहाँ बसेर योग तथा ध्यान गर्न सकिन्छ । बिहारमै खाना र बास सुविधा पाइन्छ । 
बाहिर पनि छन् तीन दर्जन हाराहारीमा पर्यटकीय सुविधाका होटल तथा गेष्ट हाउसहरू ।

राराताल 
नेपालकै ठूलो मुगुको ताल रारा । छिनछिनमा पानीको रङ बदलिन्छ । पानी कहिले नीलो बन्छ, कहिले कालो, कहिले सेतो । आकाशको रङसँगै पानीको रङ बदलिन्छ । बादल लागेर आकाश कालो हुँदा तालको पानी कालो देखिन्छ । आकाश खुलेर निलो हुँदा सिंगो ताल निलाम्मे बन्छ । 
तालको पूर्वमा छायाँनाथ हिमाल छ जसमा वर्षैभर हिउँ हुन्छ । तर, ऋणमोक्षमा सधैं हिउँ हुँदैन । बिहान तालको पानी स्थिर हुन्छ । 

सरकारले विसं २०३२ सालमा रारा निकुञ्ज बनाएको हो । त्यसको क्षेत्रफल १०६ वर्ग किमि छ । सानो उपत्यका हो रारा । वरिपरि जंगल, बीचमा ताल जुन १ सय ६७ मिटर गहिरो, ५.१ किमि लम्बाइ र २.७ किमि चौडाइमा फैलेको छ । किनारको लम्बाइ १४.६ किमि । 
राराताल क्षेत्रलाई योग र ध्यान केन्द्रका रुपमा विकास गर्न सकिन्छ । ताल किनारमा दुईवटा होटल छन् ।

मुक्तिनाथ 
हिन्दु र बौद्धमार्गिको साझा तिर्थ हो मुक्तिनाथ । मन्दिर भित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गिले आ–आफ्नै ढंगले व्याख्या गर्छन । हिन्दुले मुल मूर्तिलाई बिष्णु मान्छन् । बिष्णुको दायाँ र बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती भनेर पूज्छन् । 

हिन्दुले जुन मूर्तिलाई बिष्णु मान्छन्, बौद्धमार्गिले त्यसलाई लुवाङ ग्याल्बो अर्थात नाग राजाका रुपमा पूज्छन् । लुवाङको दायाँ बायाँका मूर्ति चाहिँ नागदेवी । तिनका छेउमा छन् बुद्ध र गरुडका मूर्तिहरू । 

हिन्दुका बाहुनले नित्य पूजा गर्छन भने बौद्ध समुदायका झुमा (आनी)ले । त्यहाँ दर्शन गरे र १०८ धारा र जलकुण्डमा नुहाउँदा पाप पखालिने दुबै धर्माबलम्बिको विश्वास छ । 

मनाङ भएर थोराङ पास गर्ने हुन् या लोमन्थाङ घुम्नेहरू मुक्तिनाथ पुग्छन् । मुक्तिनाथमा नरसिंह गुम्बा छ । गुम्बाभित्र गुरु पद्धमसंभवको मूर्ति छ । उनले मुक्तिनाथमा बसेर ध्यान गरेका थिए । त्यसैले ध्यान केन्द्रका रुपमा मुक्ति क्षेत्रको विकास गरिनु पर्छ । 
मुक्तिनाथ वेस क्याम्प रानीपौवामा होटल, लज र रेस्टुँरा छन् । 

हलेसी 
हलेसीधाम अत्यन्तै पवित्रधाम हो जहाँ बसेर ध्यान गरेपछि गुरु पद्मसंभव चिरञ्जीवी बनेका थिए । खासमा हलेसीधाम हिन्दु, बौद्धमार्गी र किरातीको साझा तीर्थ हो । हिन्दुका भगवान् शिव, बौद्धमार्गीका गुरु पद्मसंभव र किराती पुर्खा रैछाकुलेसँग सम्बन्धित हलेसी खोटाङमा पर्छ । 

हलेसी दर्शनले दुःखबाट मुक्ति, पदोन्नति, खडेरीबाट मुक्ति, सन्तान लाभ र निरोगी हुने जनविश्वास छ । दुइटा ठुला गुफा छन् । वरपर अरू गुफा । गुफामा आ–आफ्नै हिसाबले पूजा गर्छन् । बत्ती बाल्छन् । ध्यान गर्छन् । किरातीका पुर्खा रैछाकुलेले गुफा पत्ता लगाएका हुन् । 

गुफा छेउमा मारातिका क्षिमेत ताग्तेन क्षोलिङ गुम्बा र गणेश मन्दिर छ । हलेसी गुफा पश्चिमपट्टि बसाहा गुफा छ । त्यसको पल्लोछेउमा पुगेर हेर्दा माथि आकाश खुला देखिन्छ । गुफा भएको पर्वतलाई बौद्धमार्गी अवलोकितेश्वर पर्वत मान्छन् । बसाहा अघिल्तिरको बज्रपाणी र उत्तरपट्टिको मञ्जुश्री पर्वत । डाँडा बौद्ध मन्त्र लेखिएका ध्वजापताकाले रंगीन छ । हलेसीमा खान, बस्न होटल, लज र रिसोर्ट छन् । 

पञ्चासे 
कास्की, स्याङ्जा र पर्वतको संगम पञ्चासे डाँडामा (२,५१७ मिटर) आध्यात्मिक भूमी हो । डाँडाबाट हिमालको लामो लर्कन देखिन्छ– धौलागिरी, अन्नपूर्ण, गंगापूर्ण, हिउँचुली, माछापुच्छे«, लमजुङ र मनास्लु हिम शृङखलासम्म । 

पञ्चासेमा पाँच पवित्र टाकुरा छन् । सिद्ध वराह, पञ्चशील बुद्ध, कुटी, पञ्चकोशी ताललगायत सम्पदा यहाँका आकर्षण । बाला चर्तुदशीका दिन भक्तजन यहाँ सत् बीज छर्छन् ।

भञ्ज्याङ (१,६४० मिटर)मा जम्मा तीन होटल छन् । भञ्ज्याङमास्तिर पञ्चासे टाकुरामा एउटा लज छ । सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्य एकै थलोबाट देखिन्छ । फागुन–चैतमा गुराँसको लालीले डाँडै राताम्मे बन्छ । 

जैविक विविधताको बगैंचा पञ्चासे ५,५०० हेक्टरमा फैलिएको छ । पञ्चासे क्षेत्र ७८४ देखि २,५१७ मिटर उचाइमा छ । जहाँ ६ सयभन्दा बढी प्रजातिका वनस्पति र जडिबुटी पाइन्छ । 

पोखराका टे«किङ कम्पनीले बेला–बेलामा यहाँ विदेशीलाई योगा ट्रेक गराउँछन् । 

स्वर्गद्वारी 
अध्यात्मको एउटा सुन्दर अर्को केन्द्र हो प्युठानको स्वर्गद्वारी । डाँडाबाट हिमालको लामै लर्कन देखिन्छ । तर, प्राकृतिक सौन्दर्यले भन्दा धार्मिक कारणले स्वर्गद्वारी चर्चित छ । 

स्वर्गद्वारी (२,०४८ मिटर) पवित्र भूमि मानिन्छ । त्यहाँ ब्रह्माले तपस्या गरेका थिए । पाँच पाण्डव यतैबाट स्वर्ग गएका थिए । स्वर्ग जाने ढोका भएकाले स्वर्गद्वारी भनिएको किंवदन्ती छ । 

स्वर्गद्वारीमा यज्ञशाला छ । झट्ट हेर्दा नौ वाट मन्दिरजस्तो देखिन्छ, तर भित्र एउटै । त्यहाँ पाञ्चायन देवदेवी, गणेश, सूर्य, विष्णु, शिवका मूर्ति छन् । चार दिशाका कोठामा अग्निकुण्ड । बीचको मूल कुण्डबाट धुवाँ आइरहन्छ । वटुकले पूजा, वेदपाठ, भागवत पाठ, हवन, रुद्राभिषेक गर्छन् । 
स्वर्गद्वारीमा सयौं गाई छन् । गुरुकुल विद्यालय छ । त्यहाँ वेद, रुद्री, चण्डी र व्याकरण पढाइन्छ । यज्ञशालासँगै महाप्रभुको मूर्ति छ । 

बालतपस्वी हंसानन्द गिरीले विसं १९५२ मा त्यहाँ आश्रम स्थापना गरे । तिनले विश्व कल्याणका लागि अखण्ड महायज्ञ सुरु गरे । रोल्पाको रुम्टी गाउँमा विसं १९१६ मा जन्मेका नारायण गौतम पाँच वर्षको उमेरदेखि तपस्यामा लीन भए । कालान्तरमा आध्यात्मिक चिन्तक बने । उनै महाप्रभु विसं १९९७ मा बिते । 

धार्मिक सम्पदा, इतिहास र प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्वर्गद्वारीलाई योग, ध्यान र अध्यात्म केन्द्र बनाउन सकिन्छ । त्यहाँ मनको शान्ति पाइन्छ ।