
परम्परागत परिकारहरु कसले, कसरी र कहिलेदेखि प्रचलनमा ल्याए भन्ने इतिहास पहिल्याउन सजिलो छैन । तिनका बारेमा गहिरो अध्ययन हुनै सकेको छैन । पछिल्लो समय तिनको महङ्खव बढ्दै गइरहेको देखिन्छ । यस्ता परिकारसँगै जोडिन्छ, मौलिक भाषा पनि । भाषा र संस्कृति हरेक समुदायको पहिचान पनि हो ।
सुदूरपश्चिममा पनि डोटेली, थारु र राना थारु लगायतका भाषा बोलिन्छन् । पछिल्लो समयमा यिनै भाषाका मौलिक शब्द चयन गरी सामाजिक तथा व्यावसायिक सङ्घसंस्थाको नामकरण गर्ने लहर चलेको छ । यसले भाषाप्रतिको अपनत्वसँगै समुदायको पहिचान पनि झल्काउँछ ।
रैथाने शब्दहरु होटलका बोर्डमा गर्वका साथ टाँस्न थालिएको छ । मौलिक नाम नभएका होटलमा पनि मौलिक परिकार पाइन्छ । जब मान्छेमा चेतनास्तर बढ्दै जान्छ, तब हरेक कुराका विशेषताहरु पहिल्याउन थालिन्छ । व्यवसायी खेमराज जोशी भन्छन्, ‘फरक स्वादका लागि र कतै स्वास्थ्यमा समस्या देखिँदा पनि हाम्रा मौलिक परिकारले बजार लिइरहेका छन् ।’
आधुनिकतासँगै लोपोन्मुख भएका परिकारले फेरि बजार पाउनु खुसीको कुरा हो । पुर्खाका अनुभवमा आश्रित ज्ञान र परीक्षणबाट प्रचलनमा आएका परिकार स्वस्थकर र वैज्ञानिक पनि छन् । यसपटक धनगढीमा रैथाने परिकार पस्कने केही होटल व्यवसायका बारेमा संक्षिप्त चर्चा गरेको छु ।
भुइँया होमस्टे धनगढीको सामुदायिक प्रहरी कार्यालयबाट दक्षिणतिर दुई सय मिटर अगाडि गएपछि पश्चिमपट्टि झन्डै सय मिटरभित्र छ, भुइँया होमस्टे । यसकी सञ्चालिका हुन्, सुनिता राना । राना थारू भाषामा भुइँयाको अर्थ हुन्छ, गाउँभरिका कुलदेवता । आफ्नो पहिचानकै लागि उनले मौलिक नाम छनौट गरिन् ।
पोहोर मङ्सिरमा धनगढी उपमहानगरपालिकाले महिला उद्यमी मेला सञ्चालनमा ल्यायो, जसले महिलालाई उद्यमी बन्न पे्ररित गर्यो । त्यो मेलामा घरमै पकाएका मासुका परिकारका साथ उपस्थित भएकी सुनिता भन्छिन्, ‘पहिलो दिनमै ठुलो रिस्क मोली बीस किलो मासु पकाएर लगे । तीन घण्टाको अन्तरालमा सबै बिक्री भयो । मनमा एक प्रकारको हौसला बढ्यो । भोलिपल्ट फोनबाट अर्डर गरेर घरमै मासु खान आइपुगे तीन समूह ।’
यसरी दिनहुँ मान्छे आउन थालेपछि उनले केही राना परिकार पनि बनाउन थालिन् । यो क्रम लम्बिदै गएपछि होमस्टे सञ्चालन गर्ने योजना बनाइन्, ‘कुनै होटेल रेस्टुरेन्ट खोल्न मेरा लागि सहज थिएन । तथापि मनमा विभिन्न तरङ्ग पैदा हुन थालेपछि होमस्टे सञ्चालनको सोच बनाई वडा र पर्यटनमा दर्ता गराएँ । अहिले प्रायजसो ग्रुपहरु आइरहेकै छन् । बास बस्ने व्यवस्था गर्न सकेकी छैन । लोकल चामलको भातसँगै आलुको कुचला, फरा, मिसौला, खसी, बङ्गुर र लोकल कुखुराको मासुका परिकारहरु मात्र बनाउन भ्याएकी छु ।’
उनकोमा लगानी गर्ने प्रस्ताव पनि आइरहेका छन् । अब उनलाई लगानीकर्ताको आवश्यकता छैन । आर्थिक रुपले सशक्त हुँदै गएकी छन् । दिदीबहिनी मिलेर सुरूवात गरिएको उक्त होमस्टेमा यतिखेर एकजनालाई रोजगारी दिएर यसको दायरा बढाउन गइरहेको छनक दिइसकेकी छन् । निकट भविष्यमै खरले छाएका तीनचार वटा कटेज बनाई राना थारू समुदाय चिनाउने परिकारहरु पस्किने योजना छ ।
खेमराज जोशी निजामती कर्मचारी हुन् । पछिल्लो समय उनको पहिचान थपिएको छ, कुशल व्यवसायीका रुपमा पनि । केसर राखेर शुद्ध दुधमा पकाइएको चियालाई ‘महाराजा’ नाम दिई बेच्न थालेको पनि दुईतीन वर्ष नाघिसक्यो । जोरायली बासमती चामल पकाउँदै गर्दा वरपरका पसलसम्म पुग्छ, बास्ना । उनी १५० रूपैयाँमा खाना खुवाउँछन् । बिदाका दिनमा उनी त्यतै भेटिन्छन् । परिवारका तीन सदस्यसहित दश जनालाई रोजगारी दिएका जोशी विगत सम्झिन्छन्, ‘बुबाले भन्नुहुन्थ्यो जागिर खाएर मात्र हुँदैन, अरु काम पनि गर्नुपर्छ । सोही कुरा मनन गरी सन्तोषी टोलमा इन्टरलक ब्लक उद्योग सुरू गरेको थिएँ । केही समयपछि नेपालमा कोभिड भित्रियो । अनि सुरू भयो लकडाउन । त्यो समयमा तातोपानी, चिया लगायत झोलिलो खानेकुराको प्रचार हुन थाल्यो । घरमा चिया बनाउने, पिउने क्रममै सोच पलायो, चिया बेच्ने ।’


एकदिन आफैले पकाएको चियाको स्वादमा गम्दै सोच्न थाले यत्तिको चिया त बिक्छ होला ! अनि वि.सं. २०७७ सालमा मालपोत रोडस्थित आफ्नै घरमा सुरू गरे, ‘चियाकफी घर’ । त्यसपछि व्यवसाय विस्तार गर्ने योजनाका साथ २०८० मा रातोपुल नजिक सुरू गरे, ‘चियाकफी दरबार’, जुन अहिले प्रहरी पेट्रोल पम्पको अपोजिटमा छ । वि.सं. २०८१ माघमा एल ऐनचोकमा पनि ‘चियाकफी घर’ नाम राखेरै सुरू गरे । चियासँग के दिने त भन्ने सोचेर उनले डोटेली परिकार निसोसे बनाउन थाले । भोलिपल्टदेखि ग्राहक खोज्दै आउन थाले । कैलालीमा यसरी निसोसे बनाएर बेच्ने व्यवसायीमध्येमा उनी पहिलो हुन् ।
एकदिन युट्युबमा सर्च गर्ने क्रममा एकजना डाक्टरको भनाइ सुन्न पुगे जोशी । ती डाक्टरले भनिरहेका थिए, ‘हामीले बच्चाहरुलाई केक हैन, बिष खुवाइरहेका छौ ।’ त्यसपछि उनले योजना बनाए, निसोसेलाई केकमा परिणत गरी बेच्ने र साथमा माटोको पाला र सलेदो उपहर दिने । अचेल चामलको पिठोमा, दही, घिउ, चिनी मिसाई ओभानमा पकाएको केकका लागि अडर गर्नेहरुको सङ्ख्या थपिँदै गइरहेको छ । बनाउन भ्याइनभ्याई हुन्छ । सुरूमा चिया मात्र बनाउने सोचले नामकरणमा त्यति ध्यान नदिएको बताउने जोशीको भावी योजना छ, अन्नी सेट बेच्ने ।
डोटेली भाषामा खाजालाई ‘अन्नी’ भनिन्छ । अन्नी सेटमा निसोसे, बिरुडा, कसार र अचार हुनेछ ।
वि.सं. २०६८ सालमा उद्योग वाणिज्य सङ्घ कैलालीले आयोजना गरेको सुदूरपश्चिम महोत्सवमा शीतकुमारीका पाँच दिदीबहिनी मिलेर केही सामान बेचे । त्यसपछि पलायो उनमा नयाँ सोच । घरसल्लाह गरेर धनगढीको चकमेली बजारमा सञ्चालनमा ल्याइन्, ‘सम्झना दिदीबहिनी होटल’ ।
‘सुरूमा ३ ओटा टेबुल थिए, जहाँ ६ जनालाई मात्र बस्ने ठाउँ हुन्थ्यो । ग्राहक बढ्दै गए । १ लाख ५० हजार रूपैयाँ खर्च गरेर टहरो बढाएँ’, उनले भनिन् ।
अचेल २० जना बस्न सक्छन् । दिउँसो २ देखि राती १० बजेसम्म ग्राहकको चहलपहल हुन्छ । होटल श्रीमानश्रीमतीले नै धानिरहेका छन् । हरियो मटर, तारेको लोकल लसुन अनि तारेकै खसीको मासु र माछा खान कतिपय कार्यालयका हाकिमहरु पनि पुग्छन् । शीतकुमारीका अनुसार दैनिक सिध्दिन्छ, ६ किलो खसीको मासु, ५ किलो माछा, २ किलो हरियो मटर, २ किलो स्थानीय लसुन र १ वटा लोकल कुखुराको मासु । होटलको कमाइले धनगढीकै शिवनगरमा अढाइतले घर बनाएका छन् ।
Book a Flight to Dhangadhi and Taste Authentic Raithane Parikar
‘छोराछोरी पढाएका छौ । खानलाउन पुगेकै छ । खुसी नै छौ’, उनी भन्छिन्, ‘कर्म त गर्नैपर्छ । आखिर कर्म नगरी कहाँ चल्छ र जिन्दगी ।’

समाजशास्त्रमा स्नातकोत्तर गरेकी वसन्ती र वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका वीरेन्द्र चौधरीले लामो समय थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी सङ्घसंस्थामा काम गरे । यसरी काम गर्दा जागिरको स्थायित्व नहुने कुरा मनन् गर्दै यो जोडीले होटल व्यवसाय अपनाउने योजना बनाए । धनगढी उपमहानगरपालिका ४, घरेलुचोकको उत्तर बेहडीमा भाडामा जमिन लिए । आँपका रुखहरुबिच शान्त परिवेशमा रहेको जमिनमा २५ लाख लगानी गरी टहरा बनाए । मौलिक भाषा र परिकारको पहिचान गराउने हेतुले वसन्तीले नाम चयन गरिन्, ‘दहिटान घर’ ।
दहित थरका थारुहरुले बस्ने घरलाई ‘दहिटान घर’ भन्छन् । पछिल्लो समयमा यहाँ लोकल चामलको भातसँगै थारू परिकार खान आउनेहरु भरिभराउ देखिन्छन् ।
छोटो समयमै व्यवसायले यसरी गति लिएको देख्दा सञ्चालनको सुरूवातीमै २५ लाख लगानी गरी रिक्स मोलेको सम्झिन्छिन् उनी, ‘हामीलाई लामो समय टिक्लान् भनी कसैले कल्पना गरेका थिएनन् । थारूले खाने सबै परिकार पकाउन आउँथ्यो । त्यही परिकार बेच्ने सोच बनाएर सुरू गरेका हौं ।’
ती परिकारहरु पहाडी समुदायका मानिसले अझ बढी मन पराइदिए, जसले उनीहरुमा सुरूदेखि नै हौसला बढ्दै गयो । अहिले त दिनहुँ भ्याइनभ्याइ छ ।
उनले दालभात तरकारीसँगै लोकल कुखुरा र बङ्गुरको मासु, थारू आलुको चटनी, ढिक्री, माछाजस्ता परिकार बेचिरहेकी छन् । एक पटकमा ५० जनालाई खुवाउन मिल्थ्यो । अहिले १६ कोठे घर पनि भाडामा लिइसके । होटलभित्र प्रवेश गर्नेबित्तिकै थारूको पहिचान झल्कने संरचना, हलको व्यवस्थादेखि थारू खाजासेटको समेत परिकल्पना गरिसक्यो, यो जोडीले । सहरभित्रको गाउँ र आँप बगियामुनिको होटलका रुपमा चिनिएको यो होटलमा परिवारका तीन सदस्यसहित ८ जनाले काम गर्छन् ।
विवेक बिनाडी विद्यालयमा पढ्दै गर्दा सोच्थे, व्यापार गर्ने कुरा । एस्.एल्.सी. परीक्षा दिनेबित्तिकै उनी भारतमा गए । भारतमा तीन महिना बसी कमाएको रकमले व्यापार गर्न खोजे । आमाबाले मानेनन् अनि कलेजमा भर्ना भई पढ्न थाले ।
दिन बित्दै गए । उनको व्यवसाय गर्ने सोचमा परिवर्तन आउन सकेन । उनी धनगढीका अधिकांश चिया पसल धाउन थाले । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका चिया पसलको सङ्ख्या थाहा पाउन निवेदन दिए, ‘घरेलु कार्यालयले सजिलै डाटा नदिने हुँदा आफू थेसिस लेखिरहेको भनेर ढाँटेको थिएँ । यसरी डाटा लिनुको कारण थियो कति पसल छन्, कति जना दैनिक ग्राहक हुन सक्छन् र मैले कति ग्राहक पाउन सक्छु भन्ने योजना बनाउनु ।’
You may also like: Delicious Nepal - Best Nepali Cuisines You Must Try
सडक किनारमा ठेला राख्ने सोचले ठेला बनाउन अर्डर पनि गरे । आफूले मन पराएको ठाउँमा चाँडै नै नगरपालिकाले सडक विस्तार गर्दै छ भन्ने जानकारी पाएपछि ठेलाको अर्डर क्यान्सिल गरिदिए र सटर खोजे । हसनपुर पिपल चौतारो नपुग्दै सडकछेवैको सटर फेला पारे । ‘गोठालो’ नाम चयन गरी दर्ता गरे, ‘गोठालो डेरी उद्योग’ ।
व्यवसाय सुरू गर्दा १ लाख पचास हजार आफूसँग रहेको र बाँकी साथीभाइ र इष्टमित्रबाट सरसापट लिएको उनले बताए ।
‘सुरूमै ५ लाख लगानी लगाएँ । खै, कतिको चल्ने हो भन्ने चिन्ता नभएको होइन । दिनप्रतिदिन गोठालोको चियाले बजारमा चर्चा पाउन थाल्यो । एकदिन बिहानै धनगढीका मेयरसाब् गोपी हमाल क्यामरामेन र सुरक्षाकर्मीसहित एकाएक आइपुग्नुभयो । म डराएँ, खै के गल्ती भयो मबाट भन्ने सोचेर । तर, उहाँ त चिया पिउन आउनुभएको रहेछ । उहाँले चिया मात्र पिउनु भएन, भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा राखिदिनुभयो । अनि त हाम्रो लोकप्रियता बढीहाल्यो ।’
व्यवसायले गति लिदै गएपछि उनी बाध्य भए, अर्को ठाउँमा समेत सुरू गर्न । हाल कबर्डहल चोकस्थित सडकछेउको घरमा गोठालो बेकरी सुरू गरेका छन्, जहाँ कोदो, मकै र फापरको रोटी, निसोसे, कोदोको मःमः जस्ता स्वस्थकर खानेकुरा पनि पाइन्छ । उनले दैनिक न्यूनतम दुईसय जना ग्राहकलाई सेवा दिइरहेका छन् ।