जिरीको स्वाद

जिरीको स्वाद

दोलखाको जिरी उपत्यका घुम्न लायक छ । उत्तर–दक्षिण फैलेको र पूर्व–पश्चिम साँघुरो हरित उपत्यका । यसलाई पहरा दिइरहेका डाँडापाखा एवं वस्ती पनि लोभलाग्दा छन् । त्यसैले कम्तिमा तीन रात जिरी बस्ने गरी यात्रा योजना बनाउनु बेस हुन्छ ।

सरकारले दोलखाका गाविसहरू माली, ठूलो पातल, श्यामा र जिरीलाई मिलाएर जिरी नगरपालिका बनाएको छ । जिरी बजार नजिकै जिरेश्वर, ढुँगेश्वरी, राङराङेश्वरी, हलेसीधाम र देवी मन्दिर छन् । त्यस्तै अग्लो छोर्तेन, बुद्ध बगैंचा, गुरु पद्यसंभवको मूर्ति र गुम्बा छन् । 

जिरीबाट च्र्योदोङ चिज कारखाना, च्योर्दोङ डाँडा, बुद्ध पार्क, सिक्री गाउँ, यलुङ गाउँ, लौती झरना, हनुमन्ते डाँडा, चिया बगान लगायत धेरैतिर हाइकिङ गर्न सकिन्छ । त्यसैले जिरी क्षेत्र घुम्न एक साताले पनि पुग्दैन । 

जिरीका आदिवासी हुन–जिरेल । किरातको एउटा शाखा–जिरेल । उसको आफ्नै भाषा, संस्कृति, जीवनशैली र परिकार छन् । त्यसैले दोलखाको जिरी उपत्यकामा जिरेल संस्कृति अवलोकन गर्न पाइन्छ । 

जिरीमा आज जिरेल मात्र होइन, शेर्पा, सुनुवार, विश्वकर्मा, तामाङ, नेवार, क्षेत्री, बाहुन लगायत समुदाय मिलेर बसेका छन् । जातिय हिसाबले समेत थरिथरिका फूलहरू फूल्ने फूलबारी जस्तै छ बनेको छ जिरी । 

अन्य जातिका परिकार त अन्यत्र पनि पाइन्छ तर जिरेल परिकार जिरीमा मात्र पाक्छ । मौसम अनुसारका परिकार पाइन्छ जिरेलका भान्छामा । ती परिकार स्वादिलो र लाभदायक हुन्छ । 

हुन त जिरीमा पर्यटकीय सुविधाका दर्जन भन्दा बढी होटल छन् तर, त्यहाँको पुरानो होटल ‘गाबिला’ले मात्र पर्यटकको डिमाण्ड अनुसार जिरेल परिकार बनाउँछ । केशर जिरेलले ०५४ मा खोलेको होटलमा थरिथरिका जिरेल परिकार पाक्छ । 

‘होटल गाबिला’को मेनुमा आलुको रोटी, मोरे, फाल, रिल्दोक, सिल्मा, जरिंगो, ऐरे, फूलौरा, पोल्देक, पुवा लगायत परिकार छ । अचेल चिज, छुर्पी, छ्याङ, तोङबा र सुकुटी पनि जिरी परिकारका रुपमा चिनिइसके । 

‘हाम्रा मौलिक परिकार पर्यटकलाई चखाउन पाउँदा खुशी लाग्छ’, होटल गाबिलाका सञ्चालक केशर दाई भन्छन्, ‘यस्ता परिकार बनाउन हामीलाई केही घन्टा अगाडि अर्डर दिनु पर्छ ।’ 

रोटी:  आलु राम्रो उत्पादन हुन्छ जिरीमा । त्यसैले जिरेल समुदायमा आलुको रोटी बनाउने चलन छ । काँचो आलुलाई घोटेर मसिनो बनाइन्छ अनि ढुँगाको तावामा पकाइन्छ । त्यसपछि घ्यु र खुर्सानीको छोपसँग खाँदा स्वादिलो हुन्छ ।


सिल्मा: कोदो भुटिन्छ । त्यसलाई छ् याङ जस्तो पकाएर छिप्पिएपछि चिसो पानी राखेर खाइन्छ । यस्तो परिकार विशेषतः विवाह, व्रतवन्ध जस्ता शुभकार्यमा खाने चलन छ । त्यस्तै पदमचाल जडीबुटी मिसाएको कोदोको रक्सी पनि पाइन्छ । 

रिल्दोक:  हिउँदमा रिल्दोक खाने चलन छ । कोदोको पिठो पानीमा मुछेपछि त्यसलाई कि त हाँडीमा छोपेर पकाइन्छ कि त खरानीभित्र पोलिन्छ । अनि अचारसँग खाइन्छ । खान मिठो र आडिलो हुन्छ रिल्दोक । 

मोरे:  मोरे मुलाको अचार हो । मुलालाई सिलौटो वा ओखलमा कुट्ने र त्यसमा नुन, खुर्सानी र सिलामको छोप राखेर अचार बनाइन्छ । मुला हुने जुनसुकै सिजनमा मोरे बनाइन्छ । खाजा र खानासँग यो अचार खाइन्छ । 
फाल:  यो विशेष परिकार हो । आँटा मुछेर त्यसलाई दुधमा पकाइन्छ । विशेषतः जिरेल समुदामा साउने संक्रान्तिका दिन घरघरमा खाने चलन छ । 

ऐरे: जिरेल समुदायमा साउन १ गते ऐरे खाने चलन छ । गहुँको पिठो मुछेर डल्लो पारिन्छ, त्यसलाई पानीमा पकाइन्छ र पछि घ्यू वा तेलमा भुटिन्छ । स्वादिलो हुन्छ ऐरे । देख्दै खाउँ खाउँ लाग्छ । 

फूलौरो:  माघे संक्रान्तिका दिन फूलौरा खाने चलन छ । फापरको रोटी स्यानो आकारमा बनाइन्छ । र, त्यसलाई अचारसँग खाइन्छ । तिते र मिठे दुबै फापरबाट फूलौरा बन्छ ।

पोल्देक:  भुटेको गहुँको पिठो छयाङसँग मोलेर डल्लो पारिन्छ । विशेषतः असारको रोपाइँ होस् या धान गोड्दा खाजाका रुपमा यो पोल्देक दिने चलन छ । पोल्देक आडिलो हुन्छ । 

पुवा: कोदोको पिठोलाई घ्युमा रातो हुने गरि भुटिन्छ । आवश्यक स्वाद अनुसार गुलियो वा नुन हालेर खाइन्छ । केही दिनसम्म राख्दा पनि पुवा बिग्रिँदैन । 

जरिंगो: जिरीको रैथाने साग हो जरिंगो । फागुनदेखि भदौसम्म यो साग पाइन्छ । यसलाई भुटेर अण्डा राखेर वा आलुसँग मिसाएर खाइन्छ । भिटामिन र खनिज तत्व हुन्छ यसमा । 

Buddha Air