नयनराज पाण्डेका प्रिय ५ पुस्तक
नयनराज पाण्डेका प्रिय ५ पुस्तक

लोकप्रिय आख्यानकार नयनराज पाण्डे अध्ययनशील एवं बौद्धिक लेखक हुन् । उनी आख्यान र गैर आख्यान दुबै पढ्छन् । आफू बाँचेको समयका आर्थिक, सामाजिक र राजनीतिक पाटा केलाउने गैरआख्यानले उनलाई तान्छ । उनी प्रायः बिहान १० बजेदेखि दिउसो चारबजेसम्म लेखपढ गर्छन । अनि साँझ सात बजेसम्म मित्रमिलनमा व्यस्त हुन्छन् । राति टेलिभिजन समाचार हेरिसकेपछि हल्का लेखपढ गर्छन । राति चाहिँ प्रायः सफल व्यक्ति या लेखकका आत्मकथा या यात्रासंस्मरण पढ्न रुचाउँछन् । सामान्यतः राती १० बजेभित्र सुतिसक्छन् । 

घुमफिरमा निस्कँदा कथासंग्रह, निबन्ध या कविताका किताब लैजान उनी सुझाउँछन् । ती सबै एकैपटक वा एकै बसाईमा पढ्नु पर्दैन । थकाई मार्न रोकिएका बेला एउटा निबन्ध वा दुईचार कविता सजिलै पढ्न सकिन्छ । उपन्यासमा रुचि छ भने पातला खालका उपन्यास बोक्दा घुमफिरसँगै उपन्यास पढ्न भ्याइन्छ । उनी यात्रामा एकै ब्यक्तिको रचना पढ्नुभन्दा विभिन्न लेखकका कथा, कविता या निबन्ध समेटिएका संग्रह पढ्छन् । 

मात्र पाँचवटा पढ्नै पर्ने नेपाली किताबको नाम लिनु पर्दा उनी सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’, लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्ध संग्रह’, लैनसिंह बांग्देलको उपन्यास ‘मुलुकबाहिर’, साझा प्रकाशनबाट प्रकाशित ‘बालकृष्ण समका कविता’ र मदनमणि दीक्षितको ‘माधवी’ को नाम लिन्छन् । उनलाई लाग्छ नेपाली साहित्यका विधार्थीका लागि यी पुस्तक क्लासिक्स हुन् । यी किताबबाट नेपाली अनुन्धान र सिर्जनाको क्षेत्रमा कति गौरवशाली काम भएको छ भनेर बुझ्न र प्रेरणा लिन सकिन्छ । 

उनले विश्व साहित्यका धेरैखाले पुस्तक पढेका छन् । ती मध्ये उनलाई एकदमै प्रभावित गरेका ५ वटा पुस्तकको यहाँ चर्चा गरिएको छ । 

द ओल्ड म्यान एण्ड द सि 

अर्नेष्ट हेमिंग्वेको यो उपन्यासको प्रमुखपात्र बुढो माझी सान्टियागो हो । उसले समुद्रमा निकै ठूलो माछा समात्छ । तर, बीच समुद्रबाट समुद्रको किनारसम्म माछा ल्याउन उसले अनेक संघर्ष गर्छ । सान्टियागोको यो संघर्ष, उसको नियति र जिजीविषाबीचको संघर्षको गजबको गाथा हो । 

थिङ्स फल अपार्ट

विश्वसाहित्यमा मानवताका पक्षधर लेखकका रुपमा चिनिने नाइजेरियन लेखक अचिबेको उपन्यासमा अफ्रिकी समाजले भोग्नु परेको विखण्डन र औपनिवेशिक पीडालाई जीवन्त किसिमले चित्रण गरिएको छ । भनिन्छ कि यस उपन्यासले अफ्रिकालाई हेर्ने पश्चिमी दृष्टिकोण नै पूरै परिवर्तन गरिदियो । लेख्न त उनले आख्यान नै लेखे । तर, उनलाई अफ्रिकी समाजको इतिहासकार पनि मानिन्छ । 

द हाउस फर मिस्टर विश्वास 

यो उपन्यास भिएस नयपालको पहिलो कृति हो । उपन्यासका घटनाक्रमदेखि चरित्र चित्रणसम्मले हाँस्य प्रभाव उत्पन्न गर्छन् । तर, जतिजति उपन्यासको कथानकभित्र प्रवेश गरिन्छ त्यसले भारतबाट त्रिनिदानमा बस्न पुगेका आप्रवासीको पीडा र उनीहरूले आफ्नो साँस्कृतिक मान्यता जोगाउन गर्नु परिरहेको संघर्षलाई उद्घाटित गरेको भेटिनेछ । मिस्टर विश्वास भन्ने पात्रले आफ्नो निजी घर बनाउन गरेको संघर्ष वास्तवमा उसको पहिचानसित जोडिएको संघर्ष हो । त्यसैले यो उपन्यासले ब्यक्तिभित्र अन्र्तनिहित हुने पहिचानको साश्वत चाहनालाई उजागर गरेको छ । 

द थिङ अराउण्ड योर नेक 

चिनुआ अचिबेपछि अफ्रिकी समाजको रंगीन र श्यामस्वेत तस्विर विश्व साहित्यमा बलियो किसिमले प्रस्तुत गर्ने श्रेय चिमामाण्डा अदिचीलाई जान्छ । अदिचीको यो कथा संग्रहमा अमेरिकामा बस्न पुगेका नाइजेरियन पात्र र उनीहरूको आप्रवासी पीडा, एक्लोपन र पारिवारिक विखण्डनलाई निकै मिहिन किसिमले १२ कथामा ब्यक्त गरिएका छन् । 

द प्लेग

४४ वर्षको उमेरमै नोबेल पुरस्कार पाउने अल्बेयर क्यामुको द आउटसाइडरलाई धेरैले उनको सर्वोत्कृष्ट उपन्यास मान्दछन् । तर, मलाई भने उनको द प्लेग उपन्यासले बढी प्रभावित गरेको छ । अस्तित्ववादी लेखक मानिने क्यामुले यस उपन्यासमा प्लेगको महाभारीग्रस्त फ्रान्सको एक शहर र त्यहाँका विविध पात्रहरूको कथालाई प्रस्तुत गरेका छन् । मानवीय नियति, मृत्यु, निराशा र एक्लोपनलाई यो उपन्यासले गजबले अभिव्यक्त गरेको छ ।

 

Table of contents
Share article
facebookinstagramlinkedin