
पर्यटकीय सहर पोखरामा नेपाली तथा विदेशी परिकार पाइने थुप्रै होटल, रेस्टुराँ र खाजाघर छन् । यहाँ केही विशेष परिकार पनि पाइन्छ, चुल्याजुको जेरी, थिचेको आलु र डढेको चिया ।
पोखरेलीहरुका माझमा प्रख्यात यी परिकारको स्वाद पर्यटकलाई चखाउन सके पोखराले स्वादिलो सहरको चिनारी पनि बनाउन सक्छ । यस्ता विशेष परिकारको प्रचारप्रसारमा सरोकारवालाहरुको ध्यान पुुग्न सकेको छैन ।

पुरानो नेवार बस्ती भैरवटोलमा एउटा जेरी पसल छ । यहाँ कुनै साइनबोर्ड छैन तर बिहानैदेखि भिड लाग्छ । दयालक्ष्मी र राजकुमार चुल्याजुलाई भ्याईनभ्याई हुन्छ । एउटा जेरीको मूल्य ५० रूपैयाँ पर्दछ ।
जेरी नेवारी संस्कृतिसँग जोडिएको छ । पहिले स्थानीय पिठो, घिउ र महबाट बनाइन्थ्यो । हिजोआज आयातित मैदा, शुद्ध तेल र चिनीको चास्नीबाट बनाइन्छ । आकारमा ठुलो र स्वादमा भिन्न भएकाले दुई वटा जेरी खानेबित्तिकै अघाएको महसुस हुन्छ ।
विक्रम संवत् १९९० मा खोलिएको यो पसलमा राजकुमारका बुबा सिद्धिलालले जेरी पकाउन सुरू गरेका थिए । उनी बि.सं. १९८५ मा कामको खोजीमा बर्मा पुगेका थिए । त्यहाँ भर्ती हुन सकेनन् । केही वर्ष उतै बसेर मजदुरी गर्दा जेरी बनाउने कला सिके । अनि नेपाल फर्केर बिन्ध्यवासिनी मन्दिर जाने ठाउँ भैरवटोलमा जेरी पसल सुरू गरे ।
You may also like: Discover the Rich Taste of Karnali: A Foodie’s Guide
उनको जेरी पसल यति प्रख्यात भयो कि, राजा महेन्द्र वि.सं. २०१५ मा पोखरा आएका बेला यहाँको जेरीको प्रशंसा गरेका थिए । त्यतिबेला ‘भुत्ते साहुको जेरी पसल’ नाममा चर्चित थियो । बजारका मात्र होइन, गाउँगाउँका मान्छे जेरी खान र कोसेली किनेर लान आउँथे ।
बुबा सिद्धिलालको मृत्युपछि उनका कान्छा छोराले विगत ३० वर्षदेखि यसलाई निरन्तरता दिएका छन् । बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म र बेलुकी ५ बजेदेखि ८ बजेसम्म पसल खुल्छ । यसको नयाँ ब्रान्ड बनेको छ, ‘चुल्याजुको जेरी पसल ।’
बेलायतमा बस्ने ६० वर्षे विनोद गुरूङ बिदा मनाउन नेपाल आउँदा चुल्याजुको जेरी पसलमा भेटिन्छन् । ‘यो जेरीमा मेरो भावनात्मक सम्बन्ध छ । हामी २०४५ ताका पृथ्वीनारायण क्याम्पसमा पढ्दा साथीसँग मिलेर जेरी खान आउँथ्यौं’, उनले भने, ‘विदेशमा पनि यहाँको स्वाद सम्झिन्छु । बेलायत फर्कंदा पनि कोसेली लिएर जान्छु ।’
पोखरामा कसैको जन्मदिन मनाउँदा वा शुभकार्यमा जेरी बाँड्ने चलन बढेको छ । ‘सबैले चिन्छन् । त्यसैले कुनै साइनबोर्ड राख्नु परेको छैन’, राजकुमारको परिवार सन्तुष्ट छ ।
सम्पर्क : चुल्याजु जेरी
भैरवटोल, फोन : ९८४६०२८१२०

दुध तताउने भाँडो धेरै बेर तताएर त्यसैमा चिया बनाउँदा फरक र मिठो स्वाद आउँछ । डढेको बास्नासहितको बाक्लो चिया ! पोखराको सिमलचौरमा यस्तै एउटा पसल छ, ‘डढेको चिया पसल’ ।
सुमित्रा र तुलसीराम शर्माले १६ वर्षअघि सुरू गरेको पसलमा सधैँ भिडभाड हुन्छ । यहाँ एक कप चियाको मूल्य २० रूपैयाँ पर्दछ । चियाबाहेक उनीहरु तरकारी, पाउरोटी लगायतका खानेकुरा पनि बेच्छन् ।
चियाले शर्मा दम्पतीको जिन्दगी नै बदलिदियो । ‘येहिँ को कमाइले तिन जना छोराछोरी हूरकायौ, सुमित्रा भन्छिन्, ‘पोखरामा घडेरी किनेर घर पनि बनायौ ।’
डढेको चियाको प्रसिद्धिबाट प्रभावित भएर पोखरामा भुटेको चिया, चपाउने चिया आदि पसल पनि खुलेका छन् ।
सम्पर्क : डढेको चिया
सिमलचौर, फोन : ९८४६२५७०७७

थिचेको आलु भनेको के हो ? शुद्ध आलुको एउटा परिकार हो । आलुलाई सफा गरेर ठुलो आकारमा टुक्रा पारेर उमालिन्छ । आलु केही पाकेपछि आलु थिच्ने औजार पन्यु वा मेसिनको मद्दतले आकार दिइन्छ र त्यो थिचेको आलु फेरि तेलमा फ्राई गरिन्छ । बाहिर निकालेर तेल नदेखिने गरी सुक्खा पारेर आफ्नै विशेष चटनीमा मोलिन्छ । अनि प्लेटमा चटनीसहित ग्राहकलाई दिइन्छ । यहाँ पाइने चटनी विशेष प्रकारको स्वादयुक्त हुने गर्दछ, जसलाई थिचेको आलुको आफ्नो ब्रान्ड भन्न सकिन्छ ।
पोखरालाई ‘थिचेको आलु’ पाइने सहरका रुपमा चिनाउने अग्रणी हुन्, राम हमाल । चौध वर्षअघि उनले श्रीमती जुनासँग मिलेर उत्तमचोकमा थिचेको आलु खाजा परिकारलाई स्थापित गरेका हुन् । उनले ८ जनालाई रोजगारी दिएका छन् ।
‘एक पटक खाएका ग्राहक फेरिफेरि आउनु हुन्छ’, हमाल भन्छन्, ‘हाम्रो परिकार बनाउने शैली फरक छ । चटनीको स्वाद पनि विशेष छ ।’
यहाँ एक प्लेट थिचेको आलुको मूल्य १ सय २० रूपैयाँ पर्दछ ।
अचेल पोखरामा धेरैतिर थिचेको आलु पाइन्छ । ‘हेम्जाको आलु’ भनेर चिनिने पोखराको उत्पादनले नपुग्ने भएकाले अन्यत्रको पनि खपत हुन्छ ।
आज पोखराले फेवाताल घुमेर वा माछापुच्छ्रे हेरेर रमाउने मात्र होइन, थिचेको आलु खाएर मज्जा लिने पर्यटक पनि खोजेको छ ।
सम्पर्क : थिचेको आलु
उत्तमचोक, फोन : ९८२७१२०२२४