
पोखरादेखि उत्तर माछापुच्छ्रे हिमालको आँगन अर्थात् अस्ताम(१,५०० मिटर) चम्किँदै छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका - ६ मा पर्ने यो गाउँबाट आँखै सामुन्ने देखिने माछापुच्छ्रे र अन्नपूर्ण हिमालले मोहित बनाउँछन् । त्यसैले स्वदेशी तथा विदेशी पर्यटक अस्ताममा भुतुक्कै बन्छन् ।
अस्ताम गाउँमा ७ सय घरधुरी छन् । यहाँका ६० प्रतिशत बासिन्दा ब्राह्मण–क्षेत्री हुन् भने करिब २५ प्रतिशत दलित छन् । केही पर अर्को रमणीय गाउँ छ, हेम्जाकोट । हेम्जाकोट भने गुरुङ बस्ती हो ।
सखारै हिमालमाथि सूर्यको लाली पोतिएको दृश्य देख्दा आँखा झिम्क्याउनै मन लाग्दैन । सुनौला हिमशृङ्खलाले भुतुक्कै बनाउँछन् । घाम छिप्पिँदै जाँदा हिमाल टलक्क टल्किन्छन् । अनि मन तुलबुल गरिरहन्छ ।
हिमाली सौन्दर्य बाहेक यहाँको अर्को आकर्षण नौमती बाaजा हो । यहाँका दमाई समुदाय पन्चैबाजा बजाउन निपुण छन् । कुनै शुभकार्य हुँदा पोखरामा मात्र होइन, कास्की जिल्लाभरबाट उनीहरुले निम्तो पाउँछन् ।
डाँडामा गाउँपालिकाको सहयोगमा ‘पन्चेबाजा पार्क’ बनाइएको छ । पार्कमा विभिन्न बाजाका प्रतिमा राखिएका छन् ।
‘नौमती पन्चेबाजा पार्कले संस्कृति र परम्परा जर्गेना गर्ने सन्देश दिन्छ’, स्थानीय वडा सदस्य गुरूदत्त अधिकारीले भने ।

बाग्लुङ–पोखरा राजमार्गको हेम्जा मिलनचोकबाट ४ किलोमिटरमा उभिएको अस्तामसम्म फराकिलो सडक छ । सडक पक्की भएकाले पोखराका होटलमा बसेर बिहानै ट्याक्सी र मोटरबाइकमा जान सकिन्छ । त्यसो त साँझपख अस्ताम, हेम्जाकोट पुगेर बसेमा सूर्यास्तको सुन्दर दृश्य पनि अवलोकन गर्न पाइन्छ ।
उज्यालो, शान्त एवम् शीतल गन्तव्य अस्ताममा योग र ध्यान गर्न पर्यटक आउँछन् । उनीहरु केही दिन यतै बस्छन् । मनको शान्तिका लागि र ह्याङ्आउट हुन अस्ताम निकै उपयोगी छ ।
अस्ताममा पर्यटकीय होटल र रिसोर्टको दुःख छैन । ‘कन्दरा’ नामक एउटा पाँचतारे होटल भने निर्माणाधीन छ । यस क्षेत्रमा प्रशस्त ससाना होटल, टेन्ट हाउस, फार्म हाउस र टोलटोलमा होमस्टे खुलेका छन् ।
यस क्षेत्रको आय आर्जनको प्रमुख माध्यम, कृषि, वैदेशिक रोजगारी र पर्यटन हो । गाउँमा अर्गानिक तरकारी र नेपाली दालभात पाइन्छ । साथै पर्यटकीय होटलमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाइन्छ ।
गाउँघरका बारीमा कोदो, मकै र धान फल्छ । त्यसैले यहाँको ब्रेकफास्ट सेटमा मकै र कोदोको रोटी तरकारी पाइन्छ ।
करिब २० वर्षदेखि अस्ताममा ‘अन्नपूर्ण इको भिलेज रिसोर्ट’ चलाउँदै आएका पर्यटन अभियन्ता विश्व अधिकारी भन्छन्, ‘सडक बिस्तार भएसँगै पर्यटक बढेका छन् । शुक्रबार वा बिदाका दिनमा त हाम्रो क्षमताभन्दा बढी पर्यटक आउँछन् ।’
करिब २० करोड रूपैयाँको लगानीमा ८ जना परिवारका सदस्य र बाहिरी कर्मचारीलाई रोजगारी दिएका उनको रिसोर्टमा ५० प्रतिशत खाना स्थानीय उत्पादन हुन्छ ।
पर्यटनकर्मी प्रेमराज अधिकारीका अनुसार पहिलापहिला सराङकोटबाट नागडाँडा र धम्पुसबाट आएका पर्यटक बास बस्न यहाँ आइपुग्थे । त्यसबेला कुनै होटल थिएनन्, त्यसैले उनीहरु बारीका पाटामा टेन्ट टाँगेर बस्थे ।
विगत दुई दशकदेखि यस क्षेत्रमा होटल र होमस्टे खुलेका छन् । वि.सं. २०६५ बाटै होमस्टे चलाउँदै आएकी मञ्जु गुरूङ ह्याङ्जाकोट सामुदायिक होमस्टेकी सक्रिय सदस्य हुन् ।
‘शुक्रबार त पहिले बुकिङ नगरी आउने पाहुना राख्न निकै मुस्किल पर्छ’, उनले भनिन्, ‘कोभिडपछि होमस्टेमा पर्यटकको चाप बढ्दै गएको छ । अहिले नयाँ सडक बनेपछि त पोखराका युवायुवती यहाँका गाउँघरमा रमाउन थालेका छन् ।’
नेपाली र विदेशीको बसाइ शैली फरक हुन्छ । विदेशी शान्त र सुन्दर प्रकृति तथा आत्मीय पारिवारिक वातावरणमा लामो समय बिताउँछन् । नेपाली पर्यटक बिदाका दिन मात्र आउँछन् । नाचगान गर्छन् । आगो ताप्छन् । हतारिएर फर्कन्छन् ।
यहाँ विदेशी पनि पटकपटक आउँछन् । १८ वर्षदेखि अस्ताम आउँदै गरेका फ्रान्सेली जोडी रोजमेरी चेजे भन्छन्, ‘संसारमा प्राकृतिक सुन्दरताले भरिएका धेरै ठाउँ छन् । तर, नेपालीजस्ता मिलनसार मानिस भएका देश अन्यत्र छैन । यहाँ त प्रकृति, संस्कृति, र आत्मीयताको सङ्गम छ ।’
अस्तामलाई उनीहरु दोस्रो घर मान्छन् । त्यसैले उनीहरु बर्सेनि यता आइरहन्छन् ।
पोखराबाट १५ किलोमिटर उत्तरमा पर्दछ, अस्ताम । अस्ताम हुँदै धम्पुस जाने सडक जोडिएको छ । धम्पुसबाट अस्ट्रेलियन क्याम्प, पोथाना हुँदै मर्दी हिमालको आधारशिविर, अन्नपूर्ण आधारशिविर, लान्दुरक र घान्द्रुकतिर पदयात्रा गर्न सकिन्छ ।
पोखराबाट नजिकैको अस्ताम पर्यटकीय गन्तव्यका रुपमा उदाउँदो छ । त्यसैले सराङकोट, पुम्दीकोट र बेगनासलेझै अस्तामले पर्यटकलाई मोहनी लगाउँदै छ ।
आँखै सामुुन्ने कुमारी हिमाल माछापुच्छ्रे र अन्नपूर्ण हिमाल देख्न पाउँदा पर्यटक भावुक बन्छन् । हिमालको उज्यालोमा योग र ध्यान गर्दा मनमा शान्ति मिल्छ ।
विश्व अधिकारी
सञ्चालक, अन्नपूर्ण इको भिलेज रिसोर्ट
पोखराका युुवा हाम्रो गाउँमा रमाउँछन् । होमस्टेमा बास बस्न आउनेहरुले पहिल्यै बुकिंङ् गर्नुपर्छ । शुक्रबार, शनिबार र बिदाका दिनमा त धेरै पाहुना आउँछन् ।
मन्जु गुरुङ
सदस्य, ह्याङ्जाकोट सामुदायिक होमस्टे