Panchpokhari Trek - Complete Guide to Nepals Sacred Lakes

Panchpokhari Trek - Complete Guide to Nepal’s Sacred Lakes

डाँडाको बिचमा पाँचवटा पोखरी । छेउमा मन्दिर । काठमाडौँ नजिकैको पावन भूमि। सिन्धुपाल्चोक जिल्ला, पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ३ मा पर्दछ, पाँचपोखरी (४,१५० मिटर)। 

प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचपोखरी हिन्दु र बौद्ध धर्मावलम्बीको साझा आस्था केन्द्र । हरेक वर्ष भाद्र शुक्लपक्ष पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म पाँचपोखरीमा मेला लाग्छ । मेला भर्न पुगेकाहरु कुण्डमा स्नान गर्छन् । त्यस्तै तामाङ समुदाय ‘गोन्ह्य’ पर्व मनाउँछन् ।

मनोकामना पूरा हुने विश्वासले तिर्थालु पूजापाठ गर्छन् । मेलामा तामाङ समुदायले बोम्बो, डम्फु, झाँक्री नाचलगायत प्रदर्शन गर्छन् ।

Trek to Panchpokhari Samagri Village

पाँचपोखरीको मूल कुण्ड अरूभन्दा ठुलो छ । मूल कुण्डको बाटो हुँदै उत्तरतर्फका अग्लो डाँडा (४,२०० मि.) चढेमा उत्तरपूर्वमा गौरीशङ्कर, जुगल र दोर्जेलाक्पा हिमशृङ्खला नजिकै देखिन्छन् । यहाँबाट पाँचपोखरीको बेग्लै मुहार देखिन्छ। 

इन्द्रावती नदीको उद्गमस्थल पाँचपोखरी विश्वकै अग्लो स्थानमा रहेको सिमसार क्षेत्रमा पर्दछ । कुण्डमा हाँसका बथान डुबुल्की मार्छन् । मनसुनी याममा यात्रा गर्दा हरिया डाँडामा रङबिरङका फूलले स्वागत गर्छन् ।

ट्रेकिङका लागि मात्र होइन, हाई अल्टिच्युड म्याराथनका लागि समेत पाँचपोखरी प्रख्यात छ । स्थानीय गाउँपालिकाले वि.सं. २०७४ देखि बर्सेनि पाँचपोखरी हाई अल्ट्च्यिुड म्याराथन आयोजना गर्दै आएको छ । पाँचपोखरीबाट सुरु भएर रैथाने (१,६०० मिटर)मा म्याराथन समापन गरिन्छ । जनैपूर्णिमाका दिन महिला र पुरुषको छुट्टाछुट्टै विधामा म्याराथन गराइन्छ । उनीहरु पाँचपोखरीको फन्को मारेर दौडन्छन् । 

त्यस्तै साहसिक साइक्लिङ पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले वडां.५ गुन्सादेखि नलखुट्टे, च्योच्योडाँडा, हिले, नोस्यामपाटी, पाँचपोखरी साइक्लिङ रुट अध्ययन गरिसकेको छ । साइक्लिङमा रोमाञ्चक अनुभूति सँगाल्न पाइन्छ । 

प्याराग्लाइडिङका लागि समेत थामडाँडा (२,६०० मिटर) उपयुक्त छ । यहाँबाट उडान भरेर मानेखर्कमा ल्यान्ड गर्न सकिन्छ । 

You may also like: Kanchenjunga Trek - A Journey Through Solitude and Sublimity

पाँचपोखरी मात्र होइन, समग्र गाउँपालिका पर्यटनधाम बन्न सक्छ । कुल १८७.२९ वर्ग किलोमिटरमा फैलिएको यस गाउँपालिकामा ८ ओटा वडा छन् । साविकका बाँसखर्क, बरुवा, भोताङ, थाङ्पालकोट, गुन्सा, थाङ्पालधाप, भोटेनाम्लाङ र लाँगर्चे गरी ८ गाविस मिलाएर वि.सं. २०७४ मा पाँचपोखरी थाङ्पाल गाउँपालिका बनाइएको । 

Suspension Bridge trail on Paanchpokhari Trek Mountain Views

पाँच वटा पवित्र पोखरीको समूह ‘पाँचपोखरी’ र ऐतिहासिक र सांस्कृतिक पहिचानसँग जोडिएको नाम ‘थाङ्पाल’लाई मिलाएर गाउँपालिकाको नामकरण गरिएको । ‘थाङ’को अर्थ प्राकृतिक देवीदेवताको बासस्थान हुन्छ भने ‘पाल’को अर्थ मङ्गल हो । साथै ‘थाङ’को अर्थ समथर र ‘पाल’को अर्थ भूभाग पनि बुझिन्छ।

भ्रमण तालिका  (Trip Itinerary)

पहिलो दिन

  • काठमाडौँ - छिम्ती
  • गाडीमा : ६ घण्टा
  • छिम्ती - टुप्पीडाँडा
  • पदयात्रा : ३ घण्टा 

दोस्रो दिन

  • टुप्पीडाँडा - नोस्यामपाटी
  • पदयात्रा - ६ घण्टा

तेस्रो दिन

  • नोस्यामपाटी - पाँचपोखरी
  • पदयात्रा - ५ घण्टा

चौथो दिन

  • पाँचपोखरी - टुप्पीडाँडा
  • पदयात्रा : ८ घण्टा

पाँचौँ  दिन 

  • टुप्पीडाँडा - छिम्ती
  • पदयात्रा : ३ घण्टा
  • छिम्ती - काठमाडौँ
  • गाडीमा : ६ घण्टा

सहयोगी ‘काले दाइ’ 

Kale Dai and His Wifeपाँचपोखरी पदमार्गमा ‘काले दाइ’ चर्चित छन् । उमेर त भर्खर ३९ वर्ष पुग्यो, तर सबैले उनलाई ‘काले दाइ’ सम्बोधन गर्दछन् । उनको परिवारले छिम्ती र टुप्पीडाँडामा होटल चलाउँदै आएको छ । उनीहरु मिहिनेती, फरासिला र सहयोगी छन् । 

उनले ६ वर्षअघि छिम्तीमा होटल खोलेका हुन् भने ३ वर्षअघि टुप्पीडाँडामा । खाना तथा बासका लागि मात्र होइन, पाँचपोखरीको जानकारी लिन एवम् भरिया व्यवस्थापन गर्न उनलाई सम्पर्क गरेमा सजिलो हुन्छ । 
सम्पर्क : ९८४७३०९५७० 

जातजातिको सुन्दर फूलबारी हो, यस गाउँपालिका । यहाँ तामाङ, ब्राह्मण, क्षेत्री, शेर्पा, गुरुङ, दनुवार, ह्योल्मो, भुजेल, दशनामी, नेवार, मगर, दलितलगायत समुदाय मिलेर बसेका छन् । 

यहाँका प्रमुख पर्यटकीय स्थलहरुमा पाँचपोखरी, आमा याङ्ग्री, नौलिङ्गेश्वरी, रैथानेश्वरी, ड्रयागन गुफा, हवेली, ड्रुक्खाङ गुफा, नागीथामडाँडा, च्योच्यो डाँडा, मेन्जुम, ज्योमोथान डाँडा, गुरु रिम्पोछेस्थल, जोम्राङ मन्दिर, दोर्जे लाक्पा र गोन्छोम्बो हिमाल, अमिलोपानी, ओख्रेनी, रक्तमाला मन्दिर र तिलमान पास आदि हुन् । 

वैदेशिक रोजगार, कृषि र पर्यटन नै गाउँलेको जीविकाको प्रमुख आधार हुन् । 

लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्दछ, पाँचपोखरी । पदमार्गमा सामान्य होटल तथा होमस्टे सुविधा छ। दिनको दुई हजार रुपैयाँले तीन छाक खाना र बासलाई तिर्न पुग्छ । 

भदौदेखि कात्तिकसम्म पाँचपोखरी घुम्ने उत्तम समय । जाडोमा पाँचपोखरी हिउँले ढपक्कै ढाकिन्छ। पदयात्रामा संरक्षित रेडपान्डासहितका जनावर र रङबिरङका चरा देखिन्छन् । 

एउटा कुरा, पदयात्राबाट फर्कंदा कोसेली ल्याउन बिर्सनु हुँदैन । खानेकुरामा भोताङको आलु, लेकाली च्याउ, अचार टिमुर, निगुरो, छुर्पी, हस्तकलामा निगालोबाट बनेका सामानहरु, भेडाको ऊनबाट बनेको बख्खु, महिलाले उत्पादन गरेको श्यामा, खाप्सी आदि किन्न पाइन्छ । 

साथीसङ्गीसँग मात्र होइन, परिवारै यात्रा गर्न पनि उपयुक्त छ, पाँचपोखरी । 

कसरी पुग्ने ? How to Reach?

Panchpokari Trek Mapकाठमाडौँको जोरपाटी शिवचोकमा रहेको आमा ह्योल्मो बसपार्कबाट छिम्तीका लागि बिहानै बस छुट्छन् । काठमाडौँबाट साँखु, जरसिंह पौवा, बाहुनेपाटी, मेलम्ची हुँदै छिम्ती पुगिन्छ । जोरपाटी - मेलम्ची ३७ कि.मि. । मेलम्ची–छिम्ती २२ कि.मि., गाडीमा । छिम्तीबाट तीन दिने पदयात्रामा पाँचपोखरी ।

मनसुन ट्राभल टिप्स (Monsoon Travel Tips)

  •  मनसुन यात्रा गर्दा विशेष ध्यान दिने । जुका लाग्न सक्छ, त्यसबाट बच्न नुन, सन्चो, बट्टाको खैनी बोक्ने । छाता वा बर्सादी, गमबुट र लौरो अनिवार्य चाहिन्छ । 
  •  उचाइमा लेक लाग्न सक्छ, बिस्तारै हिँड्ने । टाउको दुखेमा उकालो नचढ्ने । त्यहीँ बस्ने । वाकवाकी लागेमा वा घुच्चुक दुखेमा बिरामीलाई ओरालो झारी हाल्ने । 
  • झोलिलो कुरा खाने, तातोपानी बोक्न थर्मस बोक्ने । बेलाबेलामा पानी पिउँदै हिँड्ने । बिहानबेलुका लसुनको सुप खाने, खाजामा सातु खाँदा राम्रो । 
  • प्राथमिक उपचार सामग्रीहरु सिटामोल, ब्यान्डेज, बेटाडिन, मुभ, डाइमोक्स आदि बोक्ने । 
  • होटल तथा होमस्टेमा पहिल्यै सम्पर्क गरेमा सजिलो हुन्छ । 
  • पदयात्रामा होहल्ला गर्नु हुँदैन । जनावर र चरालाई असर गर्ने काम गर्नु हुँदैन । त्यस्तै बोटविरुवा चुँड्ने वा उखल्ने गर्नु हुँदेन । आगो लगाउनु पनि हुँदैन । 
  • पाँचपोखरी मन्दिर क्षेत्रमा माछामासु निषेध गरिएको छ । शाकाहारी खाना मात्र खानु पर्दछ । 
  • यात्रामा चाहिने लौरो आफैं लिएर जाने, त्यहाँका बोटबिरुवा काटेर लौरोका रूपमा प्रयोग गर्न निषेध गरिएको छ । 
  • बर्खामा चिप्लो हुन्छ, होस पु¥याएर हिँड्ने । समूहमा पदयात्रा गर्ने । यात्रामा सूचना बोर्ड र ढुङ्गामा लेखिएका सङ्केत चिह्न अध्ययन गर्ने । 
  • गाउँपालिकाको प्रवेशद्वार खाल्टेमा पर्यटन सूचना केन्द्र छ । त्यहाँबाट आवश्यक जानकारी र सहयोग लिन सकिन्छ।