
काठमाडौ विमानस्थलबाट सीता एयरको डोर्नियर विमान लुक्ला उड्ने तयारीमा थियो । विमानमा १६ यात्रु थिए । मौसमका दृष्टिले सहज अवस्था नै थियो । उडान सुरू हुनैलाग्दा पाइलटले ककपिट बाहिर चरा देखे । बाहिर देखिएको चरा कालो चिल थियो । पाइलट र को–पाइलट दुवैले त्यो चिललाई ध्यानपूर्वक हेर्दै जहाजको गति बढाए । सुरूका केही सेकेन्ड उनीहरुले त्यो चरा हटेको जस्तो महसुस गरे ।
विमानले वेगमा उडान सुरू गर्दैगर्दा दायाँ इन्जिनले एक्कासि समस्या सामना गरयो । इन्जिनमा चरा ठोक्किसकेको रहेछ । विमानको गति घट्न थाल्यो । ककपिटमा जहाजको उचाइ नबढेर ‘स्टल वार्निङ’ (खस्ने सङ्केत) को चेतावनी घन्टी बज्यो । जहाज धावनमार्गभन्दा ३० मिटर उचाइ माथि उक्लिन सकेन । त्यो विमानले १४ सेकेन्डसम्म मात्रै स्थिर उडान गरयो । गति र उचाइमा वृद्धि नभएको देखिएपछि काठमाडौँ टावरबाट हेरिरहेका एयर ट्राफिक कन्ट्रोलरले ‘केही टेक्निकल भएको हो ?’ भनेर भीएचएफ सेटबाट सोधे । ‘चरा ठोक्कियो,’ पाइलटले जवाफ दिए । लोड अनुसार जहाजको इन्जिनले पनि शक्ति पैदा गर्न सकेन ।
जहाजले नियन्त्रण गुमाउदै कोटेश्वरतर्फको रनवेको अन्तिम विन्दुबाट ४ सय ४० मिटर टाढा दक्षिणपूर्वस्थित मनहरा खोलाको किनारको खाली जमिनमा दुर्घटना बेहो¥यो । धनजन सबै मनहरा खोलामा सकियो ।
यो २०६९ असोज १२ गतेको घटना हो । नेपालमा त्यस ताकासम्म भएका ७७ वटा हवाई दुर्घटनामध्ये यो यस्तो घटना थियो, जसले नेपाललाई लगत्तै अर्को वर्ष (सन् २०१३) देखि युरोपियन युनियनको कालोसूचीमा सूचीकृत गराउन बल पु¥यायो । जुन आजसम्म कायमै छ ।
चराको कारण ठुलो क्षति पुरयाएको यो घटना नेपालका लागि ज्यादै दुखदायीमध्येको एक भएको सीता एयरका तत्कालीन सञ्चालक फिजुनाथ नेपाली सम्झछन् ।
जहाज र चराबीचको टक्कर (बर्ड स्ट्राइक) धेरै देशहरुमा गम्भीर दुर्घटनाका कारण भएका छन् । सन् १९६० मा अमेरिकाको बोस्टनमा इस्टर्न एयरलाइन्सको लकहिड इलेक्ट्रामा चराको ठुलो झुन्डमा पसेपछि चारमध्ये तीनवटा इन्जिन बिग्रिए । विमान समुन्द्री खाडीमा खस्यो । ७२ मध्ये ६२ जनाको ज्यान गयो । यो अमेरिकाको व्यावसायिक उडान इतिहासकै चरासँग ठोक्किएर भएको सबैभन्दा ठुलो दुर्घटना मानिन्छ । यो घटना भएको दुई वर्षपछि अमेरिकामै युनाइटेड एयरलाइन्सको जहाज मेरिल्यान्डमा उडानका क्रममा हाँसको झुन्डमा ठोक्कियो । विमान दुर्घटनाग्रस्त हुँदा सबै १७ जनाको मृत्यु भयो ।
अमेरिकी आकाशमा उड्ने सैनिक÷गैरसैनिक सबै उडानको सुरक्षा नियमन गर्ने फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) का अनुसार, अमेरिकामा हरेक दिन पाइलटहरुले चरासँगको टक्करको सामना गर्छन् । एफएएले सन् १९८८ देिख २०२३ सम्म विश्वभर चरासँग जहाज ठोक्किँदा भएका घटनमा परेर ३ सय ५० जहाज नष्ट भएको र ४ सय ९१ व्यक्तिको मृत्यु भएको जनाएको छ । यसमा १ सय २६ विमान अमेरिकाको स्वामित्वमा रहेका विमान कम्पनीका छन् । जसमा ७६ व्यक्तिको मृत्यु भएको थियो ।
२००९ जनवरी १५ मा न्युयोर्कमा भएको एक चर्चित विमान दुर्घटना उड्डयन इतिहासमा अद्वितीय उदाहरणका रुपमा रह््यो । युएस एयरवेजको विमान टेकअफको केही मिनेटमै क्यानाडियन हाँसको झुन्डसँग ठोक्कियो । जसका कारण विमानका दुवै इन्जिन बन्द भए । यस्तो सङ्कटपूर्ण अवस्थामा कप्तान चेस्ली सलेनबर्गरले तत्काल निर्णय लिएर विमानलाई हडसन नदीमा आपतकालीन अवतरण गराए । अवतरणको समयमा विमानमा १ सय ५० भन्दा बढी यात्रु थिए । कप्तानको विशेषज्ञता र चालकदलको संयमका कारण सबै यात्रुहरु सुरक्षित रुपमै विमानबाट बाहिर निकाल्न उद्धाकर्मी सफल भए । नदीमा भएको विमान अवतरण विश्वभर ‘मिराकल अन द हडसन’ भनेर चर्चित छ ।
जहाजको तत्कालीन गतिका आधारमा चराले इन्जिन वा विमानको संरचनामा पार्ने असर निर्धारण हुन्छ । जब आकाशमा जहाज धेरै छिटो उडिरहेको हुन्छ, त्यसको गति र तौलले मिलेर ठुलो ऊर्जा (काइनेटिक इनर्जी) उत्पादन गर्दछ भन्छन् वरिष्ठ एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ज्ञानेन्द्र भुल । ‘सोचौ“, एउटा सानो चरा जहाजसँग ठोक्कियो भने के हुन्छ ?’ प्राधिकरणका उपनिर्देशक भुलले भने, ‘चरा त सानो तौलको हुन्छ तर जहाजको गति धेरै छिटो हुन्छ । त्यसैले जहाजको ठुलो गति र तौलले गर्दा ठोक्किनेमा धेरै ऊर्जा उत्पन्न हुन्छ । यो ऊर्जा धेरै भएकोले सानो चराले पनि जहाजको नाक, पङ्खा, इन्जिन वा अरु सतहमा ठुलो क्षति पु¥याउन सक्छ ।’
सीता एयरको विमान दुर्घटनाको अनुसन्धानपछि काठमाडौँ सहित देशभरका विमानस्थल वरिपरिका क्षेत्रबाट चराहरुलाई टाढा राख्न चरा नियन्त्रण कार्यक्रम लागु गर्नुपर्ने लगायतका सुझाब दुर्घटना जा“च आयोगले दिएको थियो ।
त्यस्तै विमानस्थल वरिपरि फोहोर व्यवस्थापन हुनुपर्ने, विमानस्थल वरिपरि खुला वधशाला तथा मासु पसल राख्न नपाइने, नदी किनार सफा राख्नुपर्ने र चराहरुको गतिविधि कम गर्ने उपायहरु लागु गर्न स्थानीय निकाय र विमानस्थल कार्यालयहरुलाई सिफारिस गरियो । तर, नेपालका विमानस्थलमा मान्छे हराउने जङ्गल धावनमार्गभित्र छन् । चरामात्रै होइन, वन्यजन्तु पनि विमानस्थलभित्रका झाडीमा हराउछन् ।
प्राधिकरणका अनुसार विमानस्थलमा विमानसँग ठोक्किने चराहरुमा हुचिल, सारस, चिल, सुगा, भगेरालगायतका मध्यम र साना आकारका दर्जनौ“ प्रजाति छन् । चराका गतिविधि बढी हुने विमानस्थलमा काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, भद्रपुर, नेपालगन्ज र भैरहवा मुख्य छन् ।
यस्तै, वन्यजन्तुसँग विमानको टकराब सन् २०२४ मा ७ पटक भएका छन् । विमानले धावनमार्गमा बाँदर, स्याल, कुकुर र नीलगाईलाई ठक्कर दिएका थिए । यस्ता घटना प्रायः रनवे नजिकै भएका थिए ।
नेपालमा चराको टकराब सबैभन्दा धेरै उडान भर्ने र अवतरणका क्रममा हुने गरेका छन् । सन् २०२४ मा टेकअफमा ४५ र अवतरणका क्रममा २७ पटक चरा ठोक्किएका थिए । सन् २०१८ देखि २०२३ सम्म नेपालमा विमानसँग चराको टकराब लगातार बढ्दो क्रममा रहेको सेफ्टी प्रतिवेदन–२०२३ मा देखिन्छ ।
जेठ अन्तिमदेखि मध्यसाउनसम्म बुद्ध एयरका एटीआर विमानले उडान र अवतरणका क्रममा ९ वटा घटना सामाना गरयो । साँझपख जनकपुरमा चरासँग ठक्कराब बेहोर्दा दुइटा इन्जिनको प्रोपेलर क्षतिग्रस्त भए । करोडौँ रूपैयाँ बराबरको क्षति बेहोर्नु परेको प्राधिकरणलाई बुझाइएको विवरणमा उल्लेख छ ।
धावनमार्गमा स्याल देखिएपछि जनकपुरमा जहाज अवतरण हुन नसकेर एउटा उडान काठमाडौँ नै फर्कियो । भद्रपुरमा अवतरणका क्रममा चराको झुन्ड देखिएपछि ओभरसुट गर्नुप¥यो । बेलाबेला जहाजहरु गन्तव्यमा पुग्न नसक्नु, अवतरण गर्नै लाग्दा ओभरसुट गर्नु वा पहिलेकै गन्तव्यमा फर्किनुमा चरा तथा वन्यजन्तुका गतिविधि पनि कारण भइदिन्छन् । वर्षायाममा रनवे वरिपरि घँस र झाडी मापदण्ड अनुसार कटान नगर्दा किरा अनि चराका गतिविधि बढ्ने गर्छ । चरा ठोक्किएपछि जहाजलाई पूर्ण परीक्षण र मर्मतसम्भार गर्नुपर्छ । जसले उडानमा ढिलाइ वा रद्द हुन जान्छ ।
‘चराको गतिविधि प्रायः विमानस्थल वरिपरिकै क्षेत्रमा बढी हुने भएकाले टेकअफ र ल्यान्डिङका बेला पाइलट र एयरपोर्ट व्यवस्थापन दुबै सचेत रहन जरूरी देखिन्छ,’ डिभिजनका एक प्रवन्धकले भने । प्राधिकरणले रनवे नजिकै चराको आवास व्यवस्थापन गर्न बर्ड–स्केयरिङ प्रविधि र वातावरणीय नियन्त्रणमार्फत् जोखिम कम गराउने उपाय अवलम्बन गर्दै आइरहेको उनले बताए ।
चराका कारण जहाजलाई उडान र अवतरणमा अवरोध हुने घटना वृद्धिका कारण नागरिक उड्डयन प्राधिकरणले २०८२/८३ को बजेटमा करिब साढे ४ करोड रूपैयाँ विनियोजन गरेको छ । ‘वन्यजन्तु तथा चराचुरुङ्गी नियन्त्रणका लागि यस वर्ष सबैभन्दा धेरै बजेट काठमाडौँ विमानस्थललाई ४ करोड रूपैयाँ विनियोजन गरिएको छ,’ प्राधिकरणका सहप्रवक्ता भुलले भने, ‘त्यस्तै भैरहवा विमानस्थलका लागि २० लाख, पोखराका लागि ३ लाख, नेपालगन्जका लागि १ लाख र बाँकी अरु विमानस्थलमा भइपरी आउने वन्यजन्तु तथा चरा नियन्त्रणका लागि आवश्यकताका आधारमा २५ लाख रूपैयाँ विनियोजन भएको छ।’
चरालाई पुरै रोक्न सकिँदैन, गतिविधि घटाउन सकिन्छज्ञानेन्द्र भुल, सहप्रवक्ता, नेपाल नागरिक उड्डयन प्राधिकरण
काठमाडौँ लगायत सहरी क्षेत्रका विमानस्थल वरिपरि चराचुरूङ्गी आकर्षित हुने मुख्य दुइटा कारण छन् । एउटा, उनीहरुका लागि सहजै हरियालीमा किरा, फट्याङग्रा, गड्यौलालगायतका खानेकुरा पाइने । अर्को, सुरक्षित बासस्थान । घरैघरको जङ्गल भइसकेको काठमाडौँ सहरमा ठुलो हरियाली क्षेत्र ७ हजार रोपनीमा फैलिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भइदिएको छ । बागमती र मनहरा नदी यसैको सिमानाबाट बग्छन् । चराहरुसँग नदीको गहिरो सम्बन्ध गाँसिएको छ । नदी पनि चराहरुको आहारा र बासस्थानको स्रोत हो । नदीहरु चरा ओहोरदोहोर गर्ने मार्ग पनि हुन् ।
यो केवल सिद्धान्तमा मात्र सम्भव छ । चरालाई पुरै रोक्न सकिँदैन । किनकि उनीहरु पानी र खाना पाइने ठाउ खोज्दै आइहाल्छन् । त्यसैले विमानस्थलमा चरा आउनै नदिने होइन, उनीहरुको गतिविधि कम गर्ने उपाय मात्र अपनाउन सकिन्छ ।
नेपालमा यस्तो कुनै विशेष क्षतिपूर्ति दिने व्यवस्था छैन । चरासँग ठोक्किँदा छुट्टै बिमा वा क्षतिपूर्ति पाइने व्यवस्था छैन । तर, चराको गतिविधि कम गर्नका लागि केही उपाय भने विमानस्थलले अपनाउछन् । विमानस्थल वरिपरि चरा धपाउन ग्यास क्यानन प्रयोग गरिन्छ । आवश्यक परे सिकारी परिचालन गरिन्छ ।
नागरिक प्राधिकरण उड्डयन ऐन २०५३ अनुसार, हरेक विमानस्थलको सञ्चालन र सुरक्षासम्बन्धी काम सोही विमानस्थलले गर्ने व्यवस्था छ । एरोड्रममा सबैभन्दा प्रभावकारी चराहरुको बास नियन्त्रण उपाय भनेको घासे क्षेत्रको व्यवस्थापन हो । त्यहाँ १५–२० सेन्टीमिटर भन्दा सानो र ४० सेन्टीमिटरभन्दा अग्लो घास राख्नु हुदैन । नेपालमा पर्यटन सचिवको अध्यक्षतामा राष्ट्रिय चरा नियन्त्रण समिति पनि छ । यसले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नीतिगत मार्गदर्शन गर्नुपर्छ । त्यस्तै नागरिक उड्डयन नियमावलीले विमानस्थलको ३ किलोमिटर वरिपरि वधशाला स्थापना गर्न निषेध गरेको छ ।