
डाँडाबाट झलक्क हेर्दा माछा आकारको विशाल ताल । करिब एक किलोमिटर लम्बाइ र पाँच सय मिटर चौंडाइको । पृष्ठभूमिमा हाँसिरहेका हिमालचुली, बुद्ध र ङादीचुली । ताल किनारमा चरिरहेका भेडा, कस्तुरी, झारल आदि । आकाशमा भुर्रभुर्र उडिरहेका डाँफेमुनाल । बेग्लै भूस्वर्ग हो, लमजुङको ‘मेमेपोखरी’ (४,४४९ मिटर) । जनबोलीमा यसलाई ‘पोखरी’ भनिन्छ । तर, यहाँका विशेषताहरु अध्ययन गर्दा तालको वर्गीकरणमा आउँछ ।
मेमे क्षेत्रमा ७ ओटा पोखरी छन्, क्रुन्क्यु पोखरी, ढालक्यु पोखरी, तरवाल पोखरी, आरी पोखरी, प्रिङ्येपोखरी, दुधपोखरी र वैकुण्ठ पोखरी ।
मेमेपोखरी अतुलनीय छ । यहाँबाट दुई घण्टा पदयात्रामा हिमालचुली (वेस्ट)को आधारशिविर पुगिन्छ । अर्को एक घण्टा उकालो चढेमा मेमे भन्ज्याङ (५,०४३ मिटर) । भन्ज्याङबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, मनास्लु, ङादी र मर्दी हिमालको लामो लर्कन देखिन्छ । यस क्षेत्रमा हिउँचितुवा पाइन बुढापाका बताउँछन् । भन्ज्याङभन्दा मुन्तिर गुरू रिम्पोचे अर्थात् पद्यसम्भवको आकृति पनि देखिन्छ ।
शीतल अनि शान्त वातावरण छ । शरीर र मनमा ऊर्जा बढ्छ । नाचौ नाचौ लाग्छ । धार्मिक हिसाबले हिन्दु र बौद्धमार्गीको साझा आस्थाकेन्द्र हो, मेमेपोखरी । यहाँ जनैपूर्णिमाका दिन मेला लाग्छ । मेमे माईको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ । योग र ध्यानका लागि मेमेपोखरी उत्कृष्ट गन्तव्य बन्न सक्छ ।
मेमे क्षेत्रमा फराकिला खर्क छन् । बर्खा यामका तीन महिना असारदेखि भदौसम्म गाउँका गोठ लेकका खर्कमा राखिन्छ । विशेषतः भेडीगोठ, भैंसीगोठ र गाईगोठ देखिन्छ । यहाँ थरीथरीका जडीबुटी पनि पाइन्छ ।
लमजुङको दोर्दी गाउँपालिकाको शिरमा अवस्थित ‘मेमेपोखरी’लाई पर्यटकीय गन्तव्य बनाउन गाउँलेहरु जुर्मुराएका छन् । उनीहरुले खिन्चोक गाउँका युवा कन्यालाल घलेको अगुवाइमा वि.सं. २०८२ असार २८ गते ‘दोर्दी ग्रामीण पर्यटन प्रवद्र्धन समिति’ बनाएर अभियान चलाएका छन् । समितिले ‘मेमेपोखरी कल्चर टे«ल’को अवधारणा अघि बढाएको छ । उसले दशदिने पदयात्रा प्याकेज बनाएको छ । पदयात्रामा हरक दिन हिमाल, जङ्गली जनावर, चराचुरूङ्गी र हरियाली भू–दृश्यावलोकन गर्न पाइन्छ ।
समितिले पदमार्गको नक्सा, भिडियो, बुकलेट आदि विकास गर्दैछ । मेमेपोखरीको काखका गाउँघरमा घले, गुरुङ, तामाङ, मगर, दलित र क्षेत्री समुदायको बसोबास छ । उनीहरु आफ्नो संस्कृतिमा गर्व गर्छन् । पदयात्रामा यी जातजातिको जीवनशैली, संस्कृति पनि अध्ययन गर्न सकिन्छ । साथै, यहाँका तोब्रोस्यो झरनामा क्यानोनिङ खेल, ङावलडाँडामा रक क्लाइम्बिङ तथा प्याराग्लाइडिङ, क्होब्रो भिरमा हनी हन्टिङ मेलाको सम्भावना देखिन्छ ।
मेमेपोखरी कल्चरल ट्रेल विकासमा पूर्वका पर्यटनविज्ञ इन्सुहाङ राईले गाउँलेलाई सहयोग पुर्याउँदै आएका छन् । मेमेपोखरीमा मानवीय बस्ती छैन । त्यहाँ पुग्न दोर्दी गाउँपालिका वडा नं. ८, खिन्चोक गाउँबाट तीन दिन पदयात्रा गर्नु पर्दछ । पर्यटकले बिचको कोम्रोडाँडा (३,६६५ मिटर)मा अक्लमटाइज हुन थप एक दिन बिताउनु पर्ने हुन्छ ।
खिन्चोक गाउँमा होमस्टे सुविधा छ । मास्तिर कुनै होटल वा लज सुविधा छैन । ठाउँठाउँमा धर्मशाला बनाइएको छ । हालका लागि क्याम्पिङ ट्रेकको विकल्प छैन । त्यसैले बन्दोबस्तीका सामान बोकेर पदयात्रा गर्नु पर्दछ । स्थानीय पथप्रदर्शकको सहयोग लिएमा सजिलो हुन्छ ।
काठमाडौँबाट लमजुङको भोटेओडार हुँदै १८० किलोमिटर ढोडेनीसम्म माइक्रो बस चल्छ, बसमा करिब ६ घण्टा । ढोडेनीबाट करिब दुई घण्टा हिँडेपछि खिन्चोक (१,२८७ मिटर) पुगिन्छ । खिन्चोकबाट चार दिन हिँडेमा मेमेपोखरी ।
जनैपूर्णिमाका दिन मेला लाग्ने पवित्र मेमेपोखरीमा हामी वर्षैभरि पर्यटकको चहलपहल बढाउन चाहन्छौ । त्यही भएर ‘मेमेपोखरी कल्चरल ट्रेल विकास कार्यक्रम अघि बढाइएको छ । हामी गाउँमै रोजगारीको वातावरण बनाउँदैछौ।
जनैपूर्णिमाका दिन मेला लाग्ने पवित्र मेमेपोखरीमा हामी वर्षैभरि पर्यटकको चहलपहल बढाउन चाहन्छौ । त्यही भएर ‘मेमेपोखरी कल्चरल ट्रेल विकास कार्यक्रम अघि बढाइएको छ । हामी गाउँमै रोजगारीको वातावरण बनाउँदैछौ।
- कन्यालाल घले
अध्यक्ष, दोर्दी ग्रामीण पर्यटन प्रवद्र्धन समिति
फोन : ९८०५१०१५७८
पहिलो दिन : काठमाडौँ - ढोडेनी १८० किलोमिटर गाडीमा, अनि २ घण्टा पदयात्रामा खिन्चोक (१,२८७ मिटर)
दोस्रो दिन: खिन्चोक - बराहपोखरी (३,०९५ मिटर), ८ घण्टा पदयात्रा
तेस्रो दिन : बराहपोखरी - कोम्रोडाँडा (३,६६५ मिटर), ८ घण्टा पदयात्रा
चौथो दिन : कोम्रोडाँडा क्षेत्रमा एक्लमटाइज
पाँचौ दिन : कोम्रोडाँडा - मेमेपोखरी खर्क (४,३६९ मिटर), ७ घण्टा पदयात्रा
छैटौ दिन : मेमपोखरी घुमफिर
सातौ दिन : मेमेपोखरी - पौलीडाँडा(२,५८५ मिटर), ६ घण्टा पदयात्रा
आठौ“ दिन : पौलीडाँडा - खुरुखर्क (३,११० मिटर), ५ घण्टा पदयात्रा
नवौ दिन : खुरुखर्क - तोब्रोस्यो झरना - खिन्चोक, ९ घण्टा
दशौ दिन : खिन्चोक - ढोडेनी - काठमाडौँ , ८ घण्टा
स्वदेशी तथा विदेशी दुबै खाले पर्यटकका लागि ‘मेमेपोखरी कल्चरल ट्रेल’ अतुलनीय उपहार हो । यहाँको प्रकृति, संस्कृति र गाउँलेको आत्मीयताले सबैलाई मुग्ध बनाउँछ । आउनुहोस्, हामी क्याम्पिङ ट्रेक गराउँछौं ।
- इन्सुहाङ राई
सल्लाहकार, दोर्दी ग्रामीण पर्यटन प्रवद्र्धन समिति
फोन : ९८०५१०१५७८