नेपालीपन, नेपाली मन
12 May, 2019
नेपालीपन, नेपाली मन

—हातले बुनेको पूर्वेली ढाकाको टोपी
—सेन्ट्रल जेलमा हातले बुनिएको खद्दरबाट पाटनमा सिलाइएको सुरुवाल र कमिज 
—नेपाली मोटो खद्दरबाट ठमेलमा सिलाइएको ज्याकेट
—नेपालमा बनेको साबरको बुट

वरिष्ठ सञ्चारकर्मी भुषण दाहालले आफ्नो तस्बिरसहित माथिका पंक्ति लेखेर एक दिन ट्वीट गरे । नेपालीपनको प्रेम झल्काउने तस्विर र भावनाले धेरैलाई भावुक बनायो । कतिले त्यसलाई रिट्वीट गरे । अनि कतिले लाइक ठोकिदिए ।
दाहाल जस्ता सेलिब्रिटी मात्र होइन, सबै पेशा वा व्यवसायमा सामेल तन्नेरीहरू माझ नेपालको मौलिक पोशाक मोह बढ्दै गएको छ । यो सुखद खबर हो ।

समय चक्कर लाइरहन्छ । घुम्दैफिर्दै पुरानै फेशनले महत्व पाएको छ अहिले । विवाह, ब्रतबन्ध तथा कुनै पनि पर्वमा ढाकाको दौरा–सुरुवाल लगाउनेहरूको संख्या ठूलो देखिन्छ । 

केही वर्ष अघिसम्म विवाहमा बेहुलाले कोटपाइन्ट लगाएको देखिन्थ्यो । अचेल त जन्तीहरूमा समेत दौरा–सुरुवालको क्रेज बढेको छ । 

Bhusan Dahal In nepali Attaireदौरा–सुरूवाल नेपालमा मात्र होइन, भारतका सिक्किम र दार्जिलिङ लगायतमा लगाइने पोशाक हो । सदियौंदेखि पहाडी भेगमा बढी प्रयोग हुँदै आएको पोशाक । त्यसमाथि कोट र शिरमा ढाका वा भादगाउँले टोपी पनि लगाउने चलन छ ।
विसं १६८० को दशकमा सिद्धिनरसिंह मल्लले एउटा रेखाचित्रमा तुना बाँधेको पोसाक पहिरेका छन् । अरू अनगिन्ती मल्लकालीन मूर्तिमा पनि यो पोसाक देखिन्छ । १५ देखि २० हजार वर्षअघि लेखिएको ऋग्वेद र त्यसपछिको अथर्ववेदमा पोसाकबोधक द्रापी शब्द छ । यसलाई भाष्यकारहरूले क्लोक ‘लबेदासरहको’ हुन्थ्यो भनेका छन् ।

द्रापीबाट दौरा भएको मानिन्छ । लामो बाहुला भएको र अगाडि छातिमा दुई फेर गरी दुवैतिर तुना बाँध्न मिल्ने कुमदेखि घुँडासम्मको हुन्छ दौरा । यो दायाँबायाँ कल्ली गाँसेर घुमाउरो फेर पारिएको, दायाँ र बायाँका तलमाथि चार ठाउँ तुना बाँधिने, दोबरी पारेर वा कठालो र फेरका भित्रपट्टी छेउमा सेप्टी लगाएर सिइएको हुन्छ । यसमा आठवटा तुना हुन्छन् । ती तुना चार ठाउँमा बाँधिन्छन् ।

दौरासँग सुरूवाल, टोपी र इस्टकोट लगाइन्छ । यति कुरा लगाएका मानिसलाई नेपाली भनेर चिन्न सजिलो हुन्छ । राष्ट्रिय पोसाकका रूपमा लगाइने दौरा सुरुवाल अचेल फेसनका रूपमा पनि लोकप्रिय हुन थालेको छ ।

विशेष गरेर विवाह, पास्नीजस्ता उत्सवमा दौरा–सुरुवाल लगाउने चलन अनिवार्य जस्तै बन्दै गएको छ । अझ विदेशमा बसेका नेपालीले आफ्नो पहिचानका लागि भन्दै ढाकाको कपडा नेपालबाट मगाउने गरेका छन् ।

विवाहमा दुलाहाले मात्र नभएर सरिक हुने पुरुषहरू सबैले दौरा सुरुवाल प्रयोग गर्ने चलन बढ्दै जाँदा महिला पनि ढाकाकै पहिरनमा देखिन थालेका छन् । यसले व्यापारमा फाइदा पुगेको व्यापारीको अनुभव छ ।

काठमाडौंको बाङ्गेमुढामा विगत ५ दशकदेखि दौरा सुरूवालको व्यापार गर्दै आएका विश्व बज्राचार्यका अनुसार पञ्चायतकालमा हुने झैं अचेल व्यापार फस्टाएको छ । ‘त्यतिबेला नेपाली ढाका तथा पोशाकको व्यापार ठूलो थियो, बीचमा केही सुस्त भएको यसको व्यापार हिजोआज फेरी चम्किएको छ ।’

युवामा बढ्दो राष्ट्रियता मोह, सभा–समारोहमा जाँदा विशेष पहिरनका रूपमा नेपाली दौरा–सुरुवालको प्रयोगले पनि व्यापार चम्किएको हो । राजनीतिमा राष्ट्रियताको मुद्दाले स्थान जमाउँदै गएपछि राष्ट्रिय पोसाकको व्यापारले समेत तीव्रता पाएको छ ।
सरकारले पनि दौरासुरुवाल र साडी–चोलोलाई पुनः राष्ट्रिय पोशाकका रुपमा मान्यता दिएको छ । सरकारले औपचारिक रुपमा आयोजना गरेका कार्यक्रममा पुरूषका लागि लवेदा–सुरुवाल र महिलाका लागि साडी–चोलो अनिवार्य रुपमा लगाउनुपर्ने प्रावधान ल्याएको छ ।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर राष्ट्रिय पोशाकको सूचीबाट दौरासुरुवाल र साडी–चोलोलाई हटाउँदै नेपालमा लगाइने सबै पोशाकलाई राष्ट्रिय पोशाक घोषणा गरेका थिए । उनको निर्णयको चौतर्फी आलोचना भएको थियो ।

‘देश अनुसारको भेष १ जीवनमा पहिलो पटक दौरासुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो १’ जाजरकोट पुगेका उनै पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका नेता बाबुराम भट्टराईले दौरा सुरुवाल लगाएको आफ् नो तस्बिर सामाजिक सञ्जालमा हाले ।

त्यसपछि उनकी पत्नी एवं नयाँ शक्ति पार्टीकै नेतृ हिसिला यमीले पनि भट्टराईसँग खिचिएको आफ्नो तस्बिर प्रेषित गर्दै लेखिन्, ‘मेरो खस श्रीमान् बाबुराम भट्टराई जिन्दगीमा पहिलो पटक दौरा सुरुवाल लगाएर खसान प्रदेश कर्णाली पस्दैं १’
जाजरकोटबाट प्रेषित ती तस्बिर र सन्देशले नेपालमा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक र ट्विटर तताए ।

Baburam Bhattara Traditional Attireआफू प्रधानमन्त्री भएका बेला राष्ट्रिय पोशाकबाट दौरा सुरूवाललाई सामन्ती पोशाक भन्दै हटाएका बाबुरामले आफैंले दौरा सुरुवाल लगाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यसबारे विभिन्न खालका टिप्पणी गरिरहेका छन् । कसैले भट्टराईप्रति व्यङ्गय गरेका छन् भने कसैले उनको आलोचना नै ।

तर उनलाई दौरा सुरूवाल सजिलो लाग्यो । पहिले सानो छँदा भोटो र दौरा लगाएका उनले दौरा–सुरुवालचाहिँ पहिलोचोटि लगाएको हुन् रे । जाडो धेरै हुने ठाउँमा पुग्दा पनि न्यानो लागेकाले लगाउन सहज भएको उनले प्रतिक्रिया दिएका छन् ।
‘नेपाली पोशाक भन्नाले नेपाली नागरिकले लगाउँदै आइरहेको महिलाको निमित्त जुनसुकै शैलीको चोलो–साडी र जुत्तासहितको पोशाक र पुरुषका निमित्त सेतो रंगको लवेदा–सुरुवाल, खैरो–कालो कोट, भादगाउँले टोपी र छालाको कालो जुत्ता सम्झनुपर्ने छ,’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाली युवामा यतिसम्म दौरा सुरुवाल र ढाका टोपीको महत्व बढेको छ कि, स्वःस्फूर्त रुपमा ‘राष्ट्रिय पोशाक दिवस’ मनाउन थालेका छन् । हरेक वर्षको पुस १७ गते अर्थात् अंग्रेजी नयाँ वर्षको दिनलाई नेपाली पोशाक दिवसका रुपमा मनाउँदै काठमाडौं लगायत देशका विभिन्न ठाउँमा युवाले परम्परागत पोशाक लगाएर प्रदर्शन तथा झाँकी निकाल्न थालेका छन् ।

लण्डनमा बस्ने राजकुमार थापा स्वदेशी पहिरनमा रमाउन चाहन्छन् । उनले भर्खरै काठमाडौंमा रहेका आफन्तमार्फत दौरा–सुरुवाल मगाए । मौलिक पोसाक भए पनि उनको रोजाई भने आधुनिक शैलीमा छ । दौरा–सुरुवालमा केही मोडिफाइ गरिएका डिजाइन उनी रुचाउँछन् ।

युवा पुस्ताको चाहना अनुकूल मौलिक पहिरनको शैलीमा पनि परिवर्तन आइरहेको भन्दै डिजाइनर निरू लिम्बु आङ्बुङले यसलाई स्वाभाविक मानेकि छिन् । उनी मौलिक पहिरन पनि समयसापेक्ष मोडिफाइ हुनुपर्ने धारणा राख्छिन् । एकातिर पुख्र्यौली पहिचान, अर्कातिर त्यसको व्यवसायीकरण । यी दुबै चुनौती एकसाथ पार गर्न मौलिकता माआधुनिकता मिसाउनुपर्ने उनको तर्क छ ।

परम्पराप्रति युवाहरूको मोहलाई डिजाइनमा आएको परिवर्तनसँगै हातैले बुनेको ढाकाका पहिरनको माग बढेको छ । नीरू क्रियटिभ डिजाइनर हुन् । बजारमा पोलिस्टरदेखि सुतीसम्मका दौरा–सुरुवाल पाइन्छ । यद्यपी खाडीको रामो मानिन्छ ।

पश्चिमी संस्कृतिले गाँजेको हाम्रो मुलुकमा केही वर्षयता ट्रेण्डी युवाले मोडिफाइड पहिरन रुचाएको देखिन्छ । सामान्यतः नेपाली राष्ट्रिय पोसाकको मूल्य २५ सय रुपैयाँ देखि १ लाख रुपैयाँसम्म पर्छ । कपडा र सिलाइको गुणस्तरले मूल्य फरकफरक पर्न जान्छ ।

पछिल्लो समय दौरासुरुवालको माग बढे पनि दक्ष जनशक्ति कम भएको व्यवसायीको दुखेसो छ ।
जे होस, नेपालीपनमा ठाँटिँदैछ नयाँ पुस्ता ।

हातैले बुनेको तेह्रथुमे ढाका

कुनै पनि काम नयाँ ढँगले गरेमा सफलता मिल्छ । त्यस्तै भयो क्रियटिभ डिजाइनर 

नीरू आङबुङ लिम्बूको जीवनमा पनि । उनी ढाका कपडाबाट आधुनिक शैलीका पहिरन बनाउँछिन् । परम्परा र आधुनिकताको फ्यूजन हुँदा ती राम्रा देखिन्छन् ।

Nepali-Dhaka-Buddha-Air-Yatra-Magazine-May-2019

ललितपुरको नख्खीपोटमा ‘तेह्रथुमे ढाका बुटिक’ चलाउँदै आएकी उनलाई ग्राहकको अर्डर टिप्न र डेलिभरी दिन भ्याई नभ्याई हुन्छ । अझ उनले डिजाइन गरेका कपडा मिस नेपाल, भ्वाइस अफ नेपाल, मिस लिम्बू आदि रियालिटी शोका प्रतिस्पर्धिहरूले लगाउन थालेपछि उनको चर्चा चुलिएको छ ।

उनले डिजाइनिङको कक्षा लिएकी छैनन् । इन्टरनेटलाई आफ्नो गुरू मान्छिन् । रातभर इन्टरनेटमा विभिन्न डिजाइन हेरेर, बुझेर उनले आफ्नै डिजाइन तयार पारेकी हुन् ।
एक समय ढाकाबाट चोली, खास्टो, टोपी, मफलर, गलबन्दी र पर्स मात्र बनाइन्थ्यो । अचेल धेरै खाले डिजाइन गरिन्छ । ‘पहिला निश्चित जातिमा सिमित थियो’, नीरू भन्छिन्, ‘अचेल सबैमाझ लोकप्रिय छ ।’
पहिला चोलो, टोपी, सल मात्र बनाउँथिन् । अचेल वानपिस, गाउन, लेहंगा, सारी–ब्लाउज, स्कर्ट, ज्याकेट, वेस्टकोट, टिसर्ट, सर्ट, ट्राउजर, दौरासुरुवाल आदि बनाउँछिन् । ‘युवा, वृद्ध सबैका लागि फरक–फरक डिजाइन गर्छु, लिम्बूले भनिन् ‘नेपालीपनमा जोड दिन्छु।’ 

ढाकाबाट पहिरन मात्रै नभई कुसन कभर, पर्दा, ल् यापटप ब्याग, जुत्ता, पर्स, ब्यागलगायत सामाग्री पनि उत्पादन गरिन्छ । स्वदेशमा मात्र होइन, विदेसमा समेत उनका सामान निर्यात गरिन्छ । हङकङ, युके, सिंगापुर र अमेरिकाबाट बढी माग आउँछ ।

उनी गृहजिल्ला तेह्रथुमबाटै ढाका झिकाउँछिन् । बुटिकमा तीन जना सहयोगी राखेकी छिन् । उनको प्रचारको मुख्य माध्यम सामाजिक सञ्जाल नै हुन् । सिजन हेरेर मासिक ७ लाखदेखि १० लाख रुपैयाँसम्म कारोवार गर्छिन् । ‘बिस्तारै सो रूम बढाउने लक्ष्य छ’, उनले भनिन्, ‘भाटभटेनीजस्ता सुपरमार्केटमा राखेर बेच्ने छु ।’

उहिले उहिले ‘लिम्बूको ढाका’ भनिन्थ्यो । अचेल नेपालीको भनिन्छ । ढाकाको बजार बढाउने उनीसँग एउटा आइडिया छ– राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा सेलिब्रेटीहरूले ढाका लगाउने हो भने एकाएक बजार बढी हाल्छ ।

फेशनको दुनियाँमा उनको आगमनको कथा रोचक छ । तेह्रथुमबाट उच्च शिक्षा लिन १४ वर्षअघि काठमाडौं झरेकी थिइन् उनी । पढाईसँगै काम पनि गर्नुपर्ने बाध्यता थियो । त्यसैले ब्यूटीपार्लरमा काम सिक्न थालिन् ।

त्यहाँ सिकिरहेका बेला विदेशमा बसेका आफन्तले ‘तेह्रथुमको ढाका किनेर पठाइदेउ भन्न थाले । उनी डिल्लीबजार गएर ढाकाका सारी र चोली किनेर पठाउँथिन् । तेह्रथुमको भनेर मेसिनले बुनेको ढाका पो रहेछ त्यो १

उनले व्यूटीपार्लरको ज्ञान लिएपछि आफैं पार्लर खोलिन् । अनि घर गएका बेला ढाकाका सारी, कुर्ता, टोपीलगायत सामान लिएर आइन् । ती सामानको माग बढ्दै गएपछि उनले ढाका पसल खोल्ने निर्णय लिइन् ।

‘एक जना साथी र म मिलेर पार्लरसँगै तेह्रथुमे ढाका पसल खोल्यौं’, उनले सुनाइन्, ‘हामीले टेलर्स पनि राख्यौं । अनि दौरा सुरुवाल पनि सिलाउन थाल्यौं ।’ उनको माग बढ्दै गयो र आज सम्मानित व्यवसायी बन्न पुगिन् । यसरी मिहिनेत गरे स्वदेशमै सून फलाउन सकिन्छ भन्ने उदाहरण बनिन् नीरू । 

उनका उत्पादन र डिजाइन

तागा, मेख्ली, कोट साडी, टोपी, टाई, पछ्यौरा, मफलर, रूमाल, वालेट वेष्ट कोट, जुवारी कोट, दौरा सुरूवाल, सिलाम साक्मा, सर्ट, लङ कोट, लेहेंगा चोली, वान पिस, कुर्ता सलवार, गाउन, आउटर, ढाका बोर्डर जर्जेट सारी, मेख्ली, गाउन, कि रिङ, सिलाम साक्मा प्रिन्टेड ऊनीको झोला, ढाका प्रिन्टेड सारी आदि ।

Nepali-DHaka-and-Buddha-Air-Yatra-Magazine-May-2019

मूल्य कति पर्छ

तागा मेख्ली  ५००० देखि २०,०००
सारी  ७,००० देखि २५,०००
टोपी  ५०० देखि ६,०००
कोट ५,००० देखि १३,०००
किरिङ २५०
सिलाम साक्मा १००
थैली २००
टाइ ५००
जुहारी कोट  १५०० देखि ३५००
लेहङ्गा चोली    १२,५०० देखि माथि
खादा ५००

 
 

 

Table of contents
Share article
facebookinstagramlinkedin