उडिरहेको वायुयानको ककपिटबाट पाइलटले ‘यात्रु महानुभावहरु आजको उडान डेकमा म एक्लै छु । अर्को पाइलट साथी बिदामा छन् । तर, यो उडानमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पाइलट मेरो साथी छ । अहिले उसले पाइलट इन कमान्डको भूमिकामा विमान उडाइरहेको छ । म कोपाइलटका रुपमा मोनिटरिङमा सहयोग गरिरहेको छु !’ भनेर एकाएक ब्रिफिङ् गरे भने यात्रुमा कस्तोे मनोभाव पैदा होला ?
सधै दुई जना मानव पाइलटले उडाएको विमानको यात्रा–अनुभव भएका यात्रुहरुलाई ककपिटमा एउटा मन र अर्को अत्याधुनिक मेसिन भएको सुन्दा बेचैनीले मुटुको धड्कन बढाउन सक्छ । वा कतिपय एआईमैत्री यात्रुको अनुहारमा कौतूहलले उज्यालो पनि पैदा गराउन सक्ला ।
विमान उत्पादक कम्पनीहरु मानवीय हस्तक्षेप घटाउँदै स्वचालित वा मानवरहित उडानको सम्भावना देखाइरहेका छन् । पाइलटको भूमिका कम गर्दै एआईले आकस्मिक निर्णय तथा जहाज नियन्त्रणको जिम्मेवारी लिने विषयमा अनुसन्धान अघि बढेका छन् ।
आधुनिक कम्प्युटर, उड्डयन प्रविधिमा भएको विकास, स्वचालित प्रणालीले गर्दा लामो दुरीको उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले ‘टेकअफ र ल्यान्डिङमा बाहेक जहाज क्रुजमा रहँदा अब एउटा मात्रै पाइलट भए पनि हुने’ भन्न थालेका छन् ।
तर, संसाभरका पाइलटहरुले यात्रुको सुरक्षा तथा जहाजले आकस्मिक सामना गर्नुपर्ने परिस्थितिसँग जुध्न कम्तीमा दुई दिमाग, चारवटा आँखा अर्थात् दोस्रो पाइलटको उपस्थिति अनिवार्य हुनुपर्ने भनिरहेका छन् ।
विश्वव्यापी उडानसम्बन्धी साझा नियमहरु बनाउने संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको विशिष्ट निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले उसका १ सय ९३ वटा सदस्य राष्ट्रहरुमा कम्तीमा ७ सय वटा वायुसेवा कम्पनी सञ्चालनमा रहेको भनेको छ ।
ती वायुसेवा कम्पनीहरुले दैनिक औसतमा १ लाख उडान गर्छन् । सन् २०२४ को तथ्याङ्क अनुसार यी उडानबाट संसारभर १ करोड ३७ लाख यात्रु दैनिक हवाईयात्रा गरेका थिए ।
अन्तर्राष्ट्रिय वायु यातायात सङ्घले सन् २०२५ मा विश्वव्यापी हवाईयात्रुको वृद्धि झन्डै ६ प्रतिशतले हुने अनुमान गरेको छ । उडान सङ्ख्या पनि २ दशमलव ४ प्रतिशतले वृद्धि हुने भनिएको छ ।
उडान र यात्रुको सङ्ख्या वृद्धिदर कोभिड महामारीअघिको अवस्थामा लगभग आइसकेका बेला, ‘हवाई जहाज उडाउने पाइलटको सङ्ख्या कति राख्ने ?’ प्रस्तावले चर्चा मात्रै होइन चिन्ता पनि बढाएको छ ।
विमानका प्रकार र दुरीका आधारमा वायुसेवा कम्पनी तथा नियमनकारी निकायले पाइलटको सङ्ख्या निर्धारण गर्छन् । छोटो दुरीका आन्तरिक उडानहरुमा सामान्यत एकजना कप्तान र कोपाइलट गरी दुई जना हुन्छन् ।
नेपालले पनि यही नियमनलाई आन्तरिक उडानमा अपनाएको छ । नेपालबाट बाहिर जाने हवाई दुरी जापानको नारिता काठमाडौबाट ८ घन्टाभन्दा बढी नभएकाले अन्तर्राष्ट्रिय उडानमा पनि दुई जना पाइलट राख्ने प्रणाली नै नेपालको नागरिक उड्डयन कार्यालयले अपनाएको छ ।
८ घन्टाभन्दा बढी समय लाग्ने गन्तव्यमा नेपालबाहेक अन्य देशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले ३ वा ४ जनासम्म पाइलटहरु राख्ने गरेको छन् । उडानमा उनीहरु पालैपालो जहाज उडाउने र विश्राम लिने गर्छन् ।
तर, युरापेली उड्डयन सुरक्षा एजेन्सी, जहाज निर्माता कम्पनी एयरबस लगायतका केही कम्पनीहरुले लामो दुरीको उडानलाई दुई जना पाइलटमै सीमित गर्नुपर्ने विचारहरु उड्डयनसम्बन्धी पोर्टलहरुमार्फत् सार्वजनिक गरिरहेका छन् ।
उनीहरुले भनिरहेका छन्, जहाजको टेकअफ र ल्यान्डिङका बेला दुबैजना पाइलट ककपिटमा हुनुपर्ने तर उडानका क्रममा जहाज क्रुजमा रहेका बेला एउटा मात्रै पाइलटले उडान गर्न सक्ने र एउटा पाइलट विश्राममा जान सक्ने प्रस्ताव गरिरहेका छन् ।
यो प्रस्तावले वायुसेवा कम्पनीहरुको खर्च घटाउने भए पनि पाइलटहरुका संघसंस्था, यात्रु सुरक्षा समूहहरुले यसले उड्डयन सुरक्षामा ठुलो खतरा ल्याउन सक्ने चेतावनी दिन थालेका छन् । जहाजमा आपतकालीन परिस्थितिमा मात्र होइन, सामान्य थकान, ध्यानभङ्ग वा स्वास्थ्य समस्या आएमा दोस्रो पाइलटको अनिवार्य उपस्थिति हुनुपर्ने ती निकायहरुले भनिरहेका छन् ।
समाचार एजेन्सी एपीका अनुसार, ककपिटमा एउटा मात्रै पाइलट हुदा लुफ्थान्साको एयरबस ए३२१ जहाजले गत वर्ष झन्डै दुर्घटना सामाना गर्नुपरेको घटना पछिल्लो पटकको चर्चित परिघटना हो ।
You May also Like: Everything You Need to Know About Aircraft Cockpit
१७ फेब्रुअरी २०२४ मा फ्रैंकफर्टबाट स्पेनको सेभिल जादै गरेको लुफ्थान्साको एलएच–११४० उडान नम्बरको जहाजका कप्तान ककपिटबाट निस्किएर बार्डमा रहेको शौचालय जान्छन् ।
कपिटमा एक्लै रहेका कोपाइलट अकस्मात त्यहीबेला बेहोस हुन्छन् । परिणामस्वरुप जहाज करिब १० मिनेटसम्म मावनपाइलट बिना अटोपाइलट मोडमा उडिरहन्छ ।
कप्तान शौचालयबाट फर्केपछि बन्द ढोका खोल्न सङ्केत गर्छन । पाँच पटक पासकोड प्रयोग गर्छन् । तर, खुल्दैन । जहाजको बोर्डबाट क्याबिनक्रुले ककपिटमा इन्टरकममार्फत् कल गर्छन् । कल कोपाइलटले उठाउँदैनन् । ढोका खोल्न आपतकालीन कोड प्रयोग गरिन्छ ।
संयोगबस त्यहीबेला कोपाइलटले पनि भित्रबाट ढोका खोलिदिन्छन् । तर, उनी अस्वस्थ देखिन्छन् । कप्तानले तत्कालै जहाजको कमान्ड लिन्छन् अनि जानुपर्ने गन्तव्यमा नगई रूट बदलिदिन्छन् ।
१ सय ९९ जना यात्रु र ६ जना क्याबिन क्रुसहित स्पेनकै अर्को नजिकको गन्तव्य म्याड्रिडमा आपतकालीन अवतरण गर्छन् । कोपाइलटलाई अस्पताल भर्ना गराउन उनी सफल हुन्छन् ।
संसारभरका मानिसहरुलाई स्तब्ध तुल्याउने गरी २४ मार्च २०१५ मा फ्रान्सको आल्प्समा भएको लुफ्थान्साकै सहायक कम्पनी जर्मनविङ्सको एयरबस ए३२० विमान दुर्घटनाको कथा भने कहालीलाग्दो छ ।
मानसिक रोगी २७ वर्षीय कोपाइलटले कप्तान शौचालय गएका बेला ककपिटको ढोका लक गरेर विमानलाई जानाजान फ्रान्सको आल्प्सको चट्टानमा ठोक्काएर दुर्घटना गराउँदा १ सय ४४ यात्रु र चालकदलका ६ सदस्यसहित जहाजमा सवार सबै १ सय ५० जनाले ज्यान गुमाए ।
यो दुर्घटनापछी युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सीले आफ्ना सदस्य मुलुकहरुका वायुयान कम्पनीमा पाइलटहरुको मानसिक स्वास्थ्यको पनि जाँच गर्न कडाइका साथ नर्देशन दियो ।
उक्त घटनाको छानबिनपछि कोपाइलट मानसिक बिरामी भएको, उनमा आत्मघाती बिचारहरु उत्पन्न हुने गरेको तर उनको कम्पनीलाई उनको बिरामीबारे जानकारी नै नगराएको पत्ता लागेको थियो ।
यो घटनाको प्रतिवेदन सार्वजनिक भएपछि क्यानडा, अष्ट्रेलिया, टर्की, नर्वे लगायत युरोपेली मुलुकहरुले ककपिटमा सधै दुई जना क्रु अनिवार्य हुनुपर्ने नीति लागु गरे ।
सन् २००१ अघि ठुला विमानका ककपिट पस्ने ढोका सबैका लागि सहज थिए । तर, अमेरिकाको न्युयोर्कस्थित वल्र्ड टेड सेन्टर (टुइन टावर) मा अल–कायदाका १९ जना आतङ्कवादीले दुईवटा अपरहरित विमानमार्फत् आक्रमण गरेपछि अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले ककपिटको ढोकालाई बलियो बनाउने नीति लागु गर्यो।
मानसिक रोगी कोपाइलटले ककपिटको ढोका लक गरेर जर्मनविङ्सको विमानलाई जानाजान फ्रान्सको आल्प्सको चट्टानमा ठोक्काएको दुर्घटनापछि संसारभर सधै ककपिटमा दुई जना क्रु सदस्य अनिवार्य रहने नियम लागु भयो ।
नेपालमा एक जना मात्रै पाइलटले उडान गर्न मिल्ने सानो प्रकारका हेलिकोप्टर मात्रै हो । २४ सिटभन्दा ठुलो रसियन एमआई–१७ हेलिकोप्टरमा इन्जिनियरसहित तीन जना ककपिट क्रु अनिवार्य गरिएको छ ।
नेपालजस्तो भौगोलिक जटिलता भएको देशमा उडान अनुभव भएका दुई जना पाइलटको आवश्यकता हुन्छ नै।
नागरिक उड्डयन प्राधिकरणले मनसुन सक्रिय रहँदा हेलिकोप्टरमा यसपटकदेखि दुई जना पाइलट अनिवार्य गरेको छ।
पर्यटन मन्त्री सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेपछि भीभीआईपी उडानमा २०७५ फागुनपछि दुई जना पाइलट अनिवार्य गरिएको छ । ‘मनसुनमा पनि अनिवार्य दुई जना पाइलट राख्नु पर्ने नियम नेपालले अबलम्बन गरेको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणको फ्लाइट सेफ्टी विभागका निर्देशक प्रभाकर मल्लिकले भने, ‘सफा मौसम भएको अवस्थामा चार्टर उडानका हेलि पाइलटलाई कति घण्टा काम गर्ने, न्यूनतम कति घण्टा आराम गर्ने समय पनि तोकिएको छ । थकानबाट मुक्त गर्न यस्तो समय व्यावसायिक आन्तरिक उडानमा पनि लागु गरिएको छ ।’
दुईटा पाइलट ककपिटमा भए पनि जिम्मेवारी फरक फरक हुन्छन । ककपिटमा क्रु रिसोर्स म्यानेजमेन्ट (सीआरएम) सिद्धान्त अनुसार दुबै जनाको काम बाँडफाँड गरिएको छ ।
जहाज उडाउने जिम्मेवारीमा हुने पाइलट इन कमान्डले उडान सुरक्षा, सञ्चालनको अन्तिमसम्म जिम्मेवारी लिनुपर्छ । उडानका सबै चरणहरुमा निर्णय लिने, आपतकालीन अवस्थामा अन्तिम निर्णय लिने, एयर ट्राफिक कन्ट्रोलरसँग सम्र्पक गर्ने काम पनि यिनकै हुन्छ ।
फ्लाइङ पाइलटले विमान उडाउने जिम्मेवारी लिएका हुन्छन । टेकअफ, चढाइ, झार्ने, अवतरण लगायतका चरणहरुमा उनले विमानको नियन्त्रण लिन्छन् । अर्कोतर्फ पाइलट मनिटरिङको भूमिकामा रहने पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क गर्ने, जहाजमा भएका यन्त्रहरु तथा प्रणालीहरु अनुगमन गर्ने, चेकलिस्ट पढ्ने, नेभिगेसन तथा रेडियो सेटिङहरु व्यवस्थापन गर्ने लगायतको जिम्मेवारी हुन्छ।’
क्याप्टेन डी आर निरौला
अर्का पाइलटले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । उडानका विभिन्न चरणमा पाइलट इन कमान्डलाई सघाउने, उपकरण, प्रणालीको निगरानी गर्ने आवश्यक पर्दा रेडियो सेटमार्फत् सम्पर्क गर्ने, ब्याकअपका रुपमा सहयोग गर्नुपर्छ । दुई पाइलट ककपिटमा रहँदा त्रुटि कम हुने गर्दछ ।
‘पाइलट फ्लाइङले विमान उडाउन जिम्मेवारी लिएका हुन्छन,’ क्याप्टेन डी.आर. निरौलाले भने, ‘टेकअफ, चढाइ, झार्ने, अवतरण लगायतका चरणहरुमा उनले विमानको नियन्त्रण लिन्छन् वा अटोपाइलटमार्फत् सञ्चालन पनि उनैले गर्नुपर्छ । अर्कोतर्फ पाइलट मनिटरिङको भूमिकामा रहने पाइलटले जहाज उडाइरहेको पाइलटलाई सहयोग पुर्याउने काम गर्नुपर्छ । उनको काम एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क गर्ने, जहाजमा भएका यन्त्रहरु तथा प्रणालीहरु अनुगमन गर्ने, चेकलिस्ट पढ्ने, नेभिगेसन तथा रेडियो सेटिङहरु व्यवस्थापन गर्ने लगायतको जिम्मेवारी हुन्छ ।’