
ध्यानस्थ भएर शान्त पदमार्गमा हिँड्न चाहनेका लागि सङ्खुवासभाको मकालु क्षेत्र उपयुक्त छ । यात्रामा अध्यात्मको सागरमा चुर्लुम्म डुबुल्की मार्न पाइन्छ ।
इच्छाशक्ति, आँट र पैसा हुनेहरु हिमाल चढ्छन् । आम पदयात्री भने मकालुको फेदसम्म पुगेर फर्कन्छन् । हिमालको फेदसम्म पुग्न पनि स्वस्थ शरीर, उत्साही मन र पैसा चाहिन्छ ।
मकालु हिमाल ‘मकालु–बरूण राष्ट्रिय निकुञ्ज’ मा पर्दछ । सरकारले वि.सं. २०४९ मा बनाएको निकुञ्जको क्षेत्रफल १,५०० वर्ग कि.मि. छ । त्यस्तै मध्यवर्ती क्षेत्र ८३० वर्ग कि.मि.मा फैलिएको छ । निकुञ्जको उचाइ ४३५ मिटरदेखि ८,४८५ मिटरसम्म छ । यसको पश्चिममा सगरमाथा राष्ट्रिय निकुञ्ज र उत्तरमा तिब्बतको चोमोलोङ्मा प्रकृति संरक्षण क्षेत्र छन् ।
निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ । यहाँका उच्च पहाडी खर्कमा यार्चागुम्बा, पदमचाललगायत थरीथरीका जडीबुटी पाइन्छन् । पदयात्रामा मृग, घोरल, याकजस्ता विभिन्न जनावर देखिन्छन् । त्यस्तै पन्छीहरुमा डाँफे, मुनाल, हिमाली काग आदि उडिरहन्छन् ।

निकुञ्ज क्षेत्रमा भोटे, राई, शेर्पा लगायत जातजातिको बसोबास छ । पर्यटकहरु तुम्लिङटार विमानस्थल वा खाँदबारीबाट ८ दिनमा मकालु बेसक्याम्प पुग्छन् । बेसक्याम्पबाट फर्केर तुम्लिङटार आइपुग्न ३ दिन मात्र लाग्छ ।
शेर्पा बस्ती टासीगाउँ भन्दा माथि कुनै गाउँ छ्रैन । बास बस्नका लागि ठाउँ ठाउँमा होटल सुविधा भने छ । पदयात्रीहरु सेदुवा, टासीगाउँ, खोङ्मा डाँडा, दोबाटे, याङ्लेखर्क, लाङमाले हुँदै मकालु बेसक्याम्पमा बास बस्छन् । यात्रामा सिप्टन्ला भन्ज्याङ (४,२५६ मिटर) पार गर्नुपर्छ ।
बेसक्याम्प फराकिलो छ । त्यहीँ छ, बरूण ताल पनि । यही ताल बरूण नदीको मुहान हो । तालबाटै सर्लक्क माथि उठेको मकालु । बेसक्याम्पबाट २ घण्टामा स्विस क्याम्पमा पुगिन्छ । त्यहाँबाट सगरमाथा र ल्होत्सेको मनोहारी दृश्य देखिन्छ ।
प्राकृतिक, जैविक र सांस्कृतिक हिसाबले मात्र होइन, धार्मिक हिसाबले पनि निकुञ्ज क्षेत्रको ठुलो महत्त्व छ । ताडोसा, शिवधारा आदि प्रमुख तीर्थस्थल हुन् । अर्को धार्मिक केन्द्र हो, मनकामना मन्दिर । यो तुम्लिङटार नजिकै अरूण नदी किनारमा छ । यसकै कथामा गायक खेम गुरुङले गाएको गीत ‘वारि जमुना, पारि जमुना, जमुनाको फेदैमा मनकामना’ लोकप्रिय छ ।
ध्यानस्थ भएर हिँड्न चाहनेका लागि मकालु क्षेत्र उपयुक्त छ । यात्रामा अध्यात्मको सागरमा चुर्लुम्म डुबुल्की मार्न पाइन्छ । असोजदेखि मङ्सिर, चैतदेखि जेठसम्म मकालु बेसक्याम्प घुम्ने उत्तम सिजन । एक्लै होइन, समूहमा पदयात्रा गर्नुपर्दछ । साथमा अनुभवी पथप्रर्दशक सहित ।

काठमाडौँबाट मकालु बेसक्याम्प पदयात्रा गरेर फर्कन १२ दिन समय । काठमाडौँ–खाँदबारी गाडीमा २० घण्टा । काठमाडौँबाट दिउँसो १ बजे छुटेको गाडीले भोलिपल्ट बिहान ८ बजे खाँदबारी पुरयाउँछ । अथवा काठमाडौँ–तुम्लिङटार ३५ मिनेट हवाईयात्रा । त्यहाँबाट सेदुवासम्म जिपमा यात्रा । त्यसपछि पदयात्रा ।
या ङ्लेखर्कबाट लाङ्माले जाने बाटोमा धार्मिक स्थल ‘ताडोसा’ (४,०००मिटर) छ । यहाँ ढुङ्गामा हात्तीको टाउकाको आकृति देखिन्छ । नजिकै घोडा बाँध्ने तबेला पनि छ । यहाँबाट हामाफोजुङ (आमाछोरा) पहाड देखिन्छ । झलक्क पहाड हेर्दा गर्भवती महिला जस्तो देखिन्छ । निःसन्तानहरू सन्तान माग्न हामाफोजुङको पूजापाठ गर्छन् ।
ताडोसामै निरन्तर पानी बग्ने ठाउँ छ । यसलाई हिन्दु र बौद्धमार्गीले आआफ्नो ढङ्गले व्याख्या गर्दछन् । एकथरी भन्छन्, गुरू रिम्पोचे अर्थात् पद्यसम्भवले बाण हानेर पानी निकालेका । अर्काथरी भन्छन्, भगवान शिवले त्रिशूलले हानेर पानी निकालेका ।
याङ्लेखर्कमा दुई रात बस्नु राम्रो । भोलिपल्ट त्यहाँबाट शिवधारा पुगेर फर्कन करिब ५ घण्टा लाग्छ । शिवधारा पहाड गणेशको टाउको आकारको देखिन्छ । यहाँ विशाल गुफा छन् । जनैपूर्णिमाका दिन मेला लाग्छ ।
पदमार्गमा भ्यु पोइन्ट (५,१३७ मिटर) छुटाउनु हुँदैन । लाङ्मालेबाट सेरसोङ हुँदै भ्यु पोइन्ट भएर मकालु बेसक्याम्प पुग्न करिब ५ घण्टा लाग्छ । भ्यु पोइन्टबाट ग्लेसियर लेक, नेपउ पिक, सेरसोङ पिक, ग्याल्जेन पिक, मकालु, सगरमाथा, ल्होत्से, नुप्से, पिक ३८, ग्लेसियर, बरूण नदीको उद्गमस्थल र सेर्पिनी कोल जाने बाटो देखिन्छ ।
लाङ्माले र मकालु बेसक्याम्पका बिचमा मनमोहक सेरसुङ ताल छ । बेसक्याम्प जाँदा पदमार्गबाट करिब ५ मिनेट दे्रबेतिर लागेमा देखिन्छ, मकालु क्षेत्रकै सबैभन्दा ठुलो हिमताल ।
सेदुवा–तुम्लिङटार (५,१८ मिटर), ६ घण्टा जिपमा ।
मकालु क्षेत्रका आधारशिविर, बरूण उपत्यका, शिवधारा लगायत सम्पदा अतुलनीय गन्तव्य हुन् । राम्रो प्रचारप्रसार गर्न सकेमा यहाँ संसारभरिका पर्यटक ल्याउन सकिन्छ । यसका लागि पर्यटन बोर्ड, टानजस्ता संस्थाले प्रभावकारी मार्केटिङ गर्नु पर्दछ । निकुञ्जले पनि पर्यटनमैत्री नीतिनियम बनाउनु परयो ।
छोपाल शेर्पा
वडाध्यक्ष, मकालु गाउँपालिका–२
सम्पर्क : ९८५१३४७८०५, ९८६३९९०९२७