Buddha Air - My Second Home - Royal Club Members Review

Buddha Air - My Second Home - Royal Club Members Review

म पेसाले बिमा सर्भेयर हुँ । विगत साँढे २३ वर्षदेखि यही काम गर्दै आएको छु । हाम्रो काम सजिलो छैन, बिमा कम्पनी र बिमित कसैका प्रति पूर्वाग्रह नलिई स्वतन्त्र तथा इमान्दार भएर काम गर्छौं । 

कुनै पनि दुर्घटना बाजा बजाएर आउँदैन । अनायासै हुन्छ । यस्तो बेलामा जिउधनको क्षति हुन्छ । यसरी क्षति पुगेमा बिमितले बिमक कम्पनीसँग बिमा दाबी गर्छन् । अनि बिमा कम्पनीले त्यस घटनाको मिहिन ढङ्गले अध्ययन गर्नुपर्छ । इन्सुरेन्स कम्पनी आफैंले क्षतिको मूल्याङ्कन गर्न मिल्दैन । यसका लागि उसले हामीजस्ता सर्भेयरलाई नियुक्त गर्दछ । 

बिमा प्राधिकरणले सर्भेयरको लाइसेन्स दिन्छ । इन्जिनियर, चार्टड एकाउन्टेन्ट आदिले बिमा सर्भेयरको लाइसेन्स प्राप्त गर्न सक्छन् । मेरो पोर्टफोलियो अटोमोबाइल इन्जिनियरिङ भएको हुँदा म मूलतः गाडी तथा कन्ट्याक्टर प्लान्ट एन्ड मेसिनरी (सिपिएम) बिमाको सर्भे गर्दछु । त्यो लगायत मरिन वा ट्रान्जिट, मेसिनरी ब्रेक्डाउन पोलिसी आदिको पनि सर्भे गरेको छु ।

बिमितले बिमा रकम दाबी गरेपछि बिमा कम्पनीले सर्भेयर नियुक्त गर्छ । सबैभन्दा पहिला त्यो दुर्घटना हो कि नियोजित भनेर अध्ययन गरिन्छ । नियोजित देखियो भने हामी ‘नो क्लेम’ रिपोर्ट दिन्छौ । “दुर्घटना भएर क्षति भएको पाइएमा त्यसको विश्लेषण गरेर भ्यालुएसन वा असेस्मेन्ट सहितको रिपोर्ट वा प्रतिवेदन बुझाउँछौ" । त्यसपछि बल्ल कम्पनीले सम्झौताअनुसार बिमा रकम भुक्तानी गर्दछ । फेक घटनाका पनि धेरै उदाहरणाहरु छन् । त्यसैले हाम्रो काम चुनौतीपूर्ण छ । 

म नेपालका विभिन्न निर्जीवन बिमा कम्पनी करिब १० वटामा आबद्ध भएर काम गरिरहेको छु । सर्भेयरको लाइसेन्स त धेरैले लिएका छन् । तर, सक्रिय सर्भेयर अत्यन्तै कम छन्, सायद चुनौतीपूर्ण काम भएर होला ।

कामको प्रकृति नै यस्तो छ कि, कहाँकहाँ पुग्नुपर्छ पहिल्यै थाहा हुँदैन । धेरै दौडधुप हुन्छ । 

कामका सिलसिलामा ७७ ओटै जिल्लामा पुगिसकेको छु । म हवाई सुविधा भएका ठाउँसम्म हवाईयात्रा नै गर्छु । अनि त्यहाँका विमानस्थलबाट सडकयात्रा गरेर घटनास्थल पुगेर अध्ययन गर्दछु । सुरूवाती दिनमा हवाईयात्रा कम हुन्थ्यो । कति ठाउँमा उडानै हुने थिएन । वि.सं. २०६५ सालदेखि ३ वर्ष जति आफ्नै गाडीमा दौडिएँ । पछिल्लो १३ वर्ष यता धेरै उडान भरिरहेको छु ।

करिब ११ लाख माइलेज पोइन्टसहित अहिलेसम्म बुध्द एयरबाट मात्र ३५ सयभन्दा बढी उडान भरिसके । अरु कम्पनीका जहाजमा २ सयभन्दा बढी फ्लाइट गरिसकेको छु ।

हवाईयात्राले छोटो समयमै धेरैतिर जान सहज भएको छ । बुध्द एयर धेरै सेक्टरमा उड्छ । त्यसैले अचेल ९९ प्रतिशत उडान बुध्दबाटै हुन्छ । मेरो प्रगतिको ट्राभल पार्टनर बुध्द एयर नै हो । बुध्द एयर मेरो दोस्रो घर बनेको छ । यसका धेरैजसो क्याप्टेन, एयर होस्टेज र केहीबाहेक प्रायः सबै कर्मचारीहरुसँग मेरो राम्रो चिनजान छ । 

Lalit KC, Royal Club Frequent Flyer with Buddha Air Beechcraft Aircraft

विमान चढेका बेला म सुित्दनँ । ल्यापटप खोलेर रिपोर्ट लेख्ने वा सम्पादन गर्ने काम गर्दछु । जहाजभित्र ८० प्रतिशत समय काममै खर्चिन्छु र साँच्चै भन्नुपर्दा करिब ७५% रिपोर्टहरु फ्लाइट टाइममै सम्पन्न गरेको छु ।

आज उडान नै मेरो दिनचर्या बनेको छ । पहिलोपटक जहाज चढेको क्षण सम्झिन्छु । मिति ठ्याक्कै सम्झना भएन, काठमाडौँबाट भैरहवा उडेको । बुध्दको बिच्क्राफ़्त थियो त्यो । टेक्नोलोजीसँग परिचित मान्छे, डराउने कुरै भएन । मौसम पनि राम्रो थियो । रमाइलो लाग्यो । आकाशबाट तल हेरेको दृश्य वर्णन गर्नलायक थियो । 

म ललितपुरको बडिखेलमा जन्मेहुर्केको मान्छे । ठाउँठाउँमा जाँदा त्यहाँको भूगोल, संस्कृति र खानपिन अध्ययन गर्दछु । दुर्गममा नियमित उडान हुँदैन । उडान नभएका दिन वरपरका सम्पदा हेर्दै घुम्छु । जस्तो कि, केही वर्ष अघि जुम्लामा उडान थिएन, त्यो दिन राराताल घुमेर फर्कें ।
अन्त्यमा, बुध्द एयरप्रति आभारी छु । 

 

दिनमै ६ उडान ! 

म बिहानीको समय सदुपयोग गर्छु । जसले बिहानी सदुपयोग गर्छ, उसको दिन शुभ हुन्छ । योजना सफल बन्छ ।   

अचेल महिनामा कम्तीमा ५० फ्लाइट हुन्छ । म कुनै दिन दिनमै ४–५ पटक उडान भर्छु । दिनमै ६ पटकसम्म उडान गरेको अनुभव छ ।  

६ वटा उडानका क्रममा केही वर्ष अघि काठमाडौँबाट सिमरा, नेपालगन्ज र भद्रपुर ओहोरदोहोर गरेको थिएँ । बिहानको फ्लाइट ७ बजेतिर थियो भने भद्रपुरबाट साँझ ७ः४५ को जहाजमा फर्केको थिएँ ।   

बुध्द एयर नहुँदो हो त, यसरी यात्रा गर्न सम्भव हुँदैनथ्यो । मलाई बुध्द एयरले सधैँ कनेक्टिङ फ्लाइटले सजिलो बनाइदियो ।