प छिल्लो समय आवागमनको सबैभन्दा सहज माध्यम हवाई यातायात बनेको छ । तर, यसको सुरक्षाको विषय पनि उत्तिकै संवेदनशील छ । कुनै दुर्घटना भए यात्रु र चालक दलका सदस्यको ज्यान बच्ने सम्भावना अत्यन्त न्यून हुन्छ । त्यसैले सुरक्षित र व्यवस्थित रूपमा उडान, अवतरणका लागि पाइलटलाई उचित मार्गनिर्देशन चाहिन्छ । त्यो काम एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले गर्छन् ।
एटीसी चुनौतीपूर्ण पेसामध्ये एक मानिन्छ । कन्ट्रोल रुममा बसेर विमानको अवस्था, गति, उचाइ र मार्ग हेरेर उनीहरूले ठाउँको ठाउँ निर्णय लिनुपर्ने हुन्छ । र, त्यो निर्णयमा ठूलो संख्यामा यात्रु, चालक दल र विमानको सुरक्षा निर्भर हुन्छ ।
जिम्मेवारी यति विशाल भए पनि एटीसीबारे चर्चा कमै हुने गर्छ । हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा कार्यरत यस्तै चार जना आकाशका ट्राफिकसँग कुराकानी गरेका छौं । एयर ट्राफिक सर्भिस, सर्च एन्ड रेस्क्यु महाशाखा प्रमुख सीताराम भण्डारी, एटीसीहरू अस्मिता सुब्बा, रमेशबहादुर कुँवर र प्रतिमा पौडेलसँग उनीहरूको चुनौतीबारे बुझ्ने प्रयास गरेका छौं ।
सीताराम भण्डारी, प्रमुख, एयर ट्राफिक सर्भिस, सर्च एण्ड रेस्क्यु महाशाखा
२०४९ साल तिरको कुरा हो, सीताराम भण्डारी नुवाकोटको जनज्ञान निकेतन माध्यामिक विद्यालयमा पढाउँथे । गणित र विज्ञान पढाउने उनी पेसाबाट सन्तुष्ट थिएनन् । अर्को जागिर खोजीमा थिए । त्यसैबेला रेडियो नेपालबाट एयर ट्राफिक कन्ट्रोलर (एटीसी) का लागि आवेदन खुलेको सुने । विज्ञानमा स्नातक उनी आवेदनका लागि योग्य थिए ।
उनी गाउँको बसाइ र शिक्षण पेसा छोड्न चाहन्थे । त्यसैले एटीसी कुन क्षेत्रसँग सम्बन्धित पेसा हो भन्नेसम्म थाहा नपाई झोला बोकेर काठमाडौं हिँडिहाले । रेडियोले भनेको थियो, यससम्बन्धी विस्तृत जानकारी गोरखापत्रमा प्रकाशन गरिएको छ । काठमाडौं आएपछि उनले गोरखापत्र खोजेर विज्ञापनबारे जानकारी लिए । त्यसपछि आवेदन दिन नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान पुगे ।
त्यहाँ पुगेपछि मात्र उनलाई थाहा भयो, यो त उड्डयन क्षेत्रसँग सम्बन्धित पेसा पो रहेछ ! उनले तत्काल आवेदन दिए । परीक्षामा उत्तीर्ण भए र एक वर्षे एटिसी तालिमका लागि छानिए ।
२०५० सालमा तालिम सक्नेबित्तिकै उनको पोस्टिङ सोलुखुम्बुको लुक्ला विमानस्थलमा भयो । ‘लुक्लामा एटीसीका रूपमा काम गर्न सजिलो थिएन,’ भण्डारी विगत सम्झिन्छन्, ‘मौसम र भूगोल दुवै जोखिमपूर्ण थियो ।’
पाइलटलाई कसरी निर्देश गर्ने, सुरक्षित उडान गर्न कसरी सघाउने भन्ने त उनले तालिममा जानिसकेका थिए । ‘तर त्यसलाई ‘रियल टाइम’ मा व्यवहारमै उतार्न चाहिँ मुस्किल थियो,’ उनले भने । त्यसमा पनि लुक्ला त संसारकै अप्ठेरो विमानस्थलमध्ये एक थियो । एकतर्फबाट मात्र उडान र अवतरण गर्न सकिने पहाडले घेरिएको विमानस्थलमा एटीसीको काममा पारंगत बन्न उनलाई समय लाग्यो ।
आफ्नो साढे दुई दशकको करिअरमा भण्डारीले लुक्ला, जोमसोम, टीकापुर र पोखरामा काम गरे । हाल उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक सर्भिस, सर्च एण्ड रेस्क्यु महाशाखा प्रमुख छन् । उडिरहेका विमान एकअर्कासँग ठोक्किन नदिन, धावनमार्ग, पार्किङसम्म सुरक्षित पु¥याउन एटिसीको भूमिका हुन्छ । ‘विमान पाइलटले उडाए पनि हामी पाइलटलाई बाटो देखाइरहेका हुन्छौं । हाम्रो मुख्य ध्यान नै विमान र त्यसमा सवारको सुरक्षा हो’, उनी भन्छन्, ‘यात्रुको ज्यानसँग सम्बन्धित भएकाले यो पेसामा चुनौती धेरै छ ।’
विमान पाइलटले उडाए पनि हामी पाइलटलाई बाटो देखाइरहेका हुन्छौं
एटीसीका रूपमा लामो अनुभव बटुलिसकेका भण्डारीले थुप्रै आपतकालीन अवस्था भोगेका छन् । विमानको इञ्जिन फेल हुँदा, पांग्रा लक हुँदा वा लामो समय होल्डमा राख्नुपर्दा तेलको कमीका कारण हुने जोखिमबाट थुप्रै पटक बचाएका छन् । ‘यस्तो अवस्थामा एटीसीले पाइलटलाई सही गाइड गर्न सक्नुपर्छ,’ भण्डारी भन्छन्, ‘तत्काल परिस्थितिको मूल्यांकन गरेर निर्णय दिनसक्नु नै यो पेसाको सबलता हो ।’ केही सेकेण्डको ढिलाइले पनि दुर्घटना हुनसक्छ ।
तर, आम मानिसले एटीसीको भूमिकाबारे केही थाहा पाएका हुँदैनन् । नेपालमा त यो पेसा गुमनामै छ । भण्डारीले ‘एक्स्पोजर’ नपाएका कारण शिक्षण पेसा छोडेका थिए । एटीसी बनिसकेपछि पनि उनको अवस्था त्यस्तै रह्यो । धेरैले उनलाई नेपाल वायुसेवा निगमको कर्मचारी मान्छन् । चर्चामा नरहेपनि आफ्नो पेसामा रहेको ‘थ्रिल’ बाटै उनी सन्तुष्ट छन् ।
अस्मिता सुब्बा, एयर ट्राफिक कन्ट्रोलर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
’है न, कस्तो जागिर खायौ हौ छोरी तिमीले ?’ अस्मिताले बार म्बार आमाबाट यो प्रश्नको सामना गरिरहनुपर्छ ।
कारण, उनको अफिस जाने समय निश्चित छैन । कहिले राति, कहिले बिहान, कहिले दिउँसो । दुई–दुई दिनमा सिफ्ट बदलिइरहन्छ । काम त दिनको ६ घण्टा मात्रै हो । तर, सिफ्ट परिवर्तन भइरहने हुनाले उनी साथीभाइ तथा आफन्तसँग घुलमिल हुन पाउँदिनन् । उनको काम देखेर आमाबुबा चिन्ता गरिरहन्छन् ।
तर, मुसुमुसु हाँस्नु सिवाय आमालाई दिने अर्को जवाफ सुब्बासँग हुँदैन । कहिलेकाहीं उनी आमालाई आफ्नो कामबारे बताएर सम्झाउने प्रयास गर्छिन् ।
सानो छँदा उनको सपना थियो डाक्टर बन्ने । त्यसैले आईएससी पढिन् । तर जतिजति समय बित्दै गयो, उनको सपना बदलिँदै गयो । अनुसन्धाता बन्ने इच्छा पलायो । त्यसैकारण उनले माइक्रो बायोलोजीमा स्नातकोत्तर गरिन् । उनलाई जागिरको आवश्यकता पनि थियो । त्यसैबेला सँगै पढ्ने साथीले एटीसीको आवेदन खुलेको सुनाए । उनले आफ्नो योजना फेरि बदलिन् ।
‘आवेदन दिन जाँदा हामी दुवैलाई थाहा थिएन, एटीसीको बारेमा,’ सुब्बाले सुनाइन्, ‘विस्तारै यसबारे किताब पढें र थाहा पाएँ । परीक्षामा पास पनि भएँ ।’ तर उनलाई लिएर आवेदन दिन जाने साथी चाहिँ फेल भए ।
परीक्षामा उत्तीर्ण भए पनि जागिरको टुंगो थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको प्रतिष्ठानले लिएको पर ीक्षामा पास भएपछि एक वर्षको एटीसी तालिम दिइन्थ्यो । तालिममा पनि उत्तीर्ण भएकालाई मात्र प्राधिकरणले करारमा जागिर दिने प्रावधान छ । तालिम सकेपछि उनी २०७० मा एटीसी बनिन् ।
उनको पहिलो पोस्टिङ नै ताप्लेजुङ विमानस्थलमा भयो । ‘नयाँ थिएँ, पाइलटले बोलेको बुझ्नै गाह्रो भएको थियो,’ सुब्बा सम्झिन्छिन्, ‘साथमा सिनियर एटीसी पनि हुनुहुन्थ्यो । उहाँबाट धेरै सिक्ने मौका पाएँ ।’
सुब्बाभन्दा अघिल्ला ब्याचका महिला एटीसीलाई काठमाडौंबाहिर जानु पर्दैनथ्यो । तर उनको ब्याचदेखि त्यो व्यवस्था हट्यो । घरबाट टाढा रहेर चुनौतीपूर्ण काम गर्न पक्कै सहज थिएन । तर उनले सबै कठिनाइ हिम्मतसाथ सामना गरिन् ।
ताप्लेजुङमा एक वर्ष काम गरेपछि उनको सरुवा चन्द्रगढी विमानस्थल, झापामा भयो । त्यसबेलासम्ममा उनी स्थायी कर्मचारी बनिसकेकी थिइन् । एक वर्ष त्यहाँ बिताएर उनी काठमाडौं फर्किइन् ।
सुब्बाले उपत्यकाबाहिर दुई र काठमाडौंमा ४ वर्ष काम गरिसकेकी छन् । उनलाई पेसाप्रति गर्व छ । भन्छिन्, ‘हामी विमानको इन्जिन अन भएदेखि अफ नभएसम्म पाइलटलाई गाइड गर्छौं ।’
‘धेरैले विमान उडाउने भन्नेबित्तिकै पाइलटलाई हिरो ठान्छन्,’ उनी थप्छिन्, ‘तर एटीसीबिना उडान सुरक्षित हुँदैन ।’
हरेक दिन उनी अनेकौं विमानका पाइलटलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सघाउँछिन् । पाइलटसँग एटीसीले एउटै रेडियो फ्रिक्वेन्सीमा अंग्रेजी भाषामा सञ्चार गर्छन् । पाइलटको कुरा सुनेर तत्काल उसलाई निर्देश गर्नुपर्ने हुन्छ । यसरी निर्णय दिन एटीसी पहिले नै तम्तयार भइसक्नुपर्छ ।
‘धेरैले विमान उडाउने भन्नेबित्तिकै पाइलटलाई हिरो ठान्छन्, तर एटीसीबिना उडान सुरक्षित हुँदैन ।
‘विमान गाइड गर्दा हामीले कम्तीमा दुईतीनवटा विकल्प राख्नुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘पाइलटले बाटो भुल्यो भने, मौसम बदली भयो भने के गर्ने भन्ने उपाय पहिले नै खोज्नुपर्छ । एकछिन सोचेर पाइलटलाई गाइड गरुँला भन्ने समय हुँदैन ।’
पेसाप्रति पूरै प्रतिबद्ध भए पनि कामका कारण चाडबाडमा बिदा नपाउँदा, साथीभाइसँग घुम्न जाने समय निकाल्न नसक्दा उनलाई नरमाइलो लाग्छ । ‘हामीलाई त साथीहरूले सामाजिक जीवनबाटै बहिष्कार गरिसके,’ उनी सुनाउँछिन्, ‘दुईचार पटक उनीहरूले बोलाउँदा जान सकिएन । अहिले त चाडपर्व, भेटघाटमा बोलाउनै छोडिसके ।’
रमेशबहादुर कँुवर, एयर ट्राफिक कन्ट्रोलर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
‘त पाईं प्रहरी हो ?’ चुस्तदुरुस्त रमेशबहादुर कुँवरलाई मान्छेहरू सोधिरहन्छन् ।
उनी प्रहरी होइनन् । तर प्रहरीमा भर्ना हुन चाहन्थे । देशमा युद्ध चलिरहेको हुनाले आमाबुबाबाट स्वीकृति पाएनन् । त्यसपछि शिक्षक बन्ने सपना बुन्न थाले । कक्षा ९ र १० लाई तीन वर्षजति गणित विषय पढाए पनि । ‘तर दाइहरूले एटीसीतर्फ जाँदा ठिक हुन्छ भनेर कर गर्नुभयो,’ कुँवरले सुनाए । ठूलीआमाको छोरा र फुपुको छोरा दुवै जना उड्डयन क्षेत्रमै काम गर्ने हुनाले यस्तो प्रस्ताव स्वाभाविक थियो ।
दाइहरूसँग कुँवरले एटीसी पेसाबारे जानकारी लिए । ०५९ मा एटिसीका लागि आवेदन खुुल्यो । उनले नाम निकाले । परिवार पनि खुसी भयो ।
अत्याधिक मानसिक दबाबका कारण सुरुमा चुनौतीपूर्ण लागे पनि उनी काममा बिस्तारै अभ्यस्त भए । ‘कहिले हिमाल, कहिले पहाड, कहिले तराईमा पोस्टिङ हुने,’ कुँवर सुनाउँछन्, ‘फरकफरक स्थानमा काम गर्न पाउँदा झनै आनन्द आउँछ ।’ राडारमा रहेको सूचनाका आधारमा पाइलटलाई निर्देशन गर्न पाउँदा खुसी हुन्छन् उनी । कुन विमान कहाँ उडिराखेको छ, कति उचाइमा छ, अवतरण हँुदै छ कि उडान गर्ने तयारीमा छजस्ता सूचना एटीसीले राडारमार्फत् जानकारीमा राख्छ ।
उडानमा पाइलटले अनिवार्य एटीसीको निर्देशन मान्नुपर्छ
‘धेरैलाई विमान उडान कसरी हुन्छ भन्ने थाहा हुँदैन,’ १५ वर्षदेखि एटीसीका रूपमा कार्यरत कुँवर भन्छन्, ‘पाइलटलाई बाटो देखाउने जागिर खाने मान्छे हौं हामी । सडकमा ट्राफिक प्रहरीले जे काम गर्छन्, हामीले पनि आकाशमा त्यही गर्ने हो ।’
उनको अनुभवमा पहाडी क्षेत्र र तराईमा एटीसीको काम गराइ फरक हुन्छ । ‘पहाडका विमानस्थलमा भिजुअल फ्लाइट रुल (भीएफआर) अन्तर्गत पाइलट आफैंले बाहिरको वातावरण हेरेर उडान गर्छ,’ उनले भने, ‘यस्तो अवस्थामा एटीसीले पाइलटलाई मौसमलगायतका सामान्य जानकारी दिँदा पुग्छ ।’ तर समथर भागमा तथा अन्तर्राष्ट्रिय उडानमा पाइलटले इन्स्ट्रुमेन्ट फ् लाइट रुल (आईएफआर) अन्तर्गत रहेर उडान गर्नुपर्छ । यस्तो उडानमा पाइलटले अनिवार्य एटीसीको निर्देशन मान्नु पर्छ । ‘त्यसैले एटीसीले गल्ती ग¥यो भने दुर्घटना हुने सम्भावना धेरै हुन्छ,’ उनी भन्छन्, ‘त्यसैकारण एटीसीले एक्लै नभएर समूहमा काम गर्ने गर्छ ।’
प्रतिमा पौडेल, एयर ट्राफिक कन्ट्रोलर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
‘ति मी के काम गर्छौ ?’
‘प्लेनलाई बाटो देखाउँछु,’ कसैले आफ्नो कामबारे प्रश्न गर्दा प्रतिमा उत्तर दिन्छिन् ।
लगत्तै उनले प्रतिप्रश्न झेल्नुपर्छ, ‘यति ठूलो आकाश छ, विमान जता उडाए नि हुन्न ?’
पौडेल यसलाई सामान्य रूपमा लिन्छिन् । ‘किनभने म पनि पहिले त्यस्तै सोच्थेँ,’ उनले भनिन् ।
थुप्रै केटाकेटीमा पाइलट बन्ने सपना हुन्छ । किनभने उनीहरूलाई थाहा छ, पाइलटले विमान आकाशमा उडाउँछ । तर एटीसीको कामबारे थाहा नपाएकैले नयाँ पुस्तासमेत यो पेसाप्रति आकर्षित हुन नसकेको पौडेलको ठम्याइ छ ।
उनले साथीको मुखबाट यो पेसाबारे सुनेकी थिइन् । त्यसबेला उनी स्नातक सकेर कामको खोजीमा थिइन् । एटीसीले पाइलटलाई पनि निर्देश गर्छ भन्ने थाहा पाएपछि यसप्रति उनको चासो बढ् यो र आवेदन भर्न पुगिन् । ०६९ सालमा उनको तालिम सुरु भयो । तालिम लगत्तै उनी भरतपुर विमानस्थल, चितवनमा खटिइन् ।
मेडिकल इमर्जेन्सी, विमानको इञ्जिन खराबी र भीभीआईपीको यात्रामा एटीसीको चुनौती झन् थपिन्छ
‘धेरै महिला एटीसीले काठमाडौंबाहिर जान मानेनन्,’ पौडेलले सुनाइन्, ‘तर म यो काम गर्न आतुर थिएँ । त्यसैले बाहिर जान पनि गाह्रो मानिनँ ।’ वर्ष दिन उनले भरतपुर विमानस्थमा काम गरिन् । गत चार वर्षदेखि उनी काठमाडौंमै कार्यरत छिन् ।
काम गर्ने समय परिवर्तन भइरहने हुनाले परिवारमा समय व्यवस्थापन गर्न मुस्किल हुन्छ । कतिपयलाई परिवार सम्हाल्नै गाह्रो पर्छ । तर सहयोगी श्रीमानका कारण समय व्यवस्थापन सजिलै गरिरहेको पौडेल बताउँछिन् । फरक–फरक सिफ्टमा काम गरेर
पनि उनले आमा र बुहारीको भूमिकामा कमी आउन दिएकी छैनन् ।
एटीसीको काम चुनौतीपूर्ण हुन्छ । ‘अझ मेडिकल इमर्जेन्सी, विमानको इञ्जिन खराबी र भीभीआईपीको यात्रा छ भने चुनौती झन् थपिन्छ,’ पौडेल भन्छिन्, ‘एटीसीले त्यस्ता विमानलाई छिटोभन्दा छिटो उडान र अवतरण गराउन सहयोग गर्नुपर्ने हुन्छ ।’
भीभीआईपीको उडान भए विशेष ध्यान दिनुपर्ने हुन्छ । ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको उडान हँुदा अन्य विमानलाई होल्डमा राख्ने गरिन्छ,’ उनले भनिन्, ‘आकाशमा भएका विमान आकाशमै र जमिनमा भएका विमान जमिनमै रहनु पर्छ ।’
सुरक्षालाई आधार मानी भीभीआईपी मुभमेन्ट भएको समयमा अन्य विमानलाई २० मिनेट होल्डमा राखिन्छ । यस्तो बेलामा हवाइ ट्राफिक जाम हुने गर्छ । त्यसको व्यवस्थापन चुनौतीपूर्ण हुन्छ । ‘यस्तो अवस्थामा कतिपय पाइलट रिसाउँछन् । चिनियाँ र कोरियाली पाइलट कम रिसाउँछन्, भारतीय अलि बढी रिसाउँछन्,’ उनले अनुभव सुनाइन्, ‘हामी चाहिँ उनीहरूलाई सम्झाउँछौं ।’
यस्ता अप्ठेरा सम्बोधन गर्नकै लागि एटीसीको आवश्यकता पर्छ । पौडेलको नजरमा सफल एटीसी त्यही हो जसले यी चुनौतीलाई सहर्ष स्वीकार गर्छ र विमानको सुरक्षामा ध्यान दिन्छ ।