१०८ फिट अग्लो ज्योर्तिलिंग dddddd

१०८ फिट अग्लो ज्योर्तिलिंग

सुन्दर सुदूरपश्चिमको प्रवेशद्धार एवं प्रदेश नं ७ को राजधानी हो कैलालीको धनगढी बजार । धनगढीमा धार्मिक महत्वका नैनादेवी, नवदूर्गा, वनदेवी, लक्ष्मीनारायण, रामजानकी र शिवपुरीधाम लगायत मन्दिर छन् ।

शिवपुरीधाममा १ सय ८ फिट अग्लो ज्योर्तिलिंग छ । शिवपुरीधाम नयाँ संरचना हो । मुक्तिनाथधाम वुटवलका सन्त लोकानन्द महाराजको परिकल्पनामा बनाइएको शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिंग धाम २.५ विगाहा क्षेत्रफलमा फैलेको छ । त्यस वरपर २९ हेक्टर धार्मिक वन छ ।

शिवपुरीधाम बनाउनुमा एउटा कारण छ–भगवान राम धनगढी हुँदै गोदावरीधाममा अनुष्ठान गरेर डोटीको शैलेश्वरी दर्शन पछि उत्तराखण्ड (भारत) गएका थिए । त्यही यात्राको स्मृतिमा लोकानन्दले धनगढीमा शिवपुरीधाम बनाउने इच्छा गरेका हुन् । उनले नेपालका पाँच ठाउँमा यस्तै धाम बनाउने संकल्प गरेका छन् । त्यस अनुसार धनगढी र बाँकेको बाँसगढीमा धमाधम निर्माण भैरहेको छ |

धनगढीको शिवपुरीधाममा तुलसीका १ सय ८ मठ, १ सय ८ गौमुखी धारा, नेपाल माताको मन्दिर र यज्ञ मण्डप बनाइएको छ । साथै सूर्यनारायण, मुक्तिनाथ, गणेश, उग्रतारा आदिका मन्दिर, शिव कुण्ड, विष्णु कुण्ड र खप्तड कुण्ड छन् ।

धामको गुरुयोजना पुरा गर्न १२ करोड रुपैयाँ लाग्ने छ । शिवपुरीधामका अध्यक्ष श्याम तायलका अनुसार आजसम्म तीन करोड रुपैयाँ भन्दा बढी खर्च भैसक्यो । सर्बसाधारणको सहयोगले निर्माण भैरहेको हो । शिवपुरीधाम धनगढीको चिनारी बन्दैछ ।

धनगढी बजारदेखि काठमाडौं ६७५ किमि टाढा छ । बस यात्रा गर्दा १२ घन्टा लाग्छ । काठमाडौं–धनगढी हवाई यात्रा १ घन्टा १० मिनेट । धनगढी बजारमा पर्यटकीय सुविधा भएका थुप्रै होटल छन् ।