तपाईं कस्तो हवाईयात्रु - पाँच मिनेटमा पत्ता लगाउनुहोस् !

तपाईं कस्तो हवाईयात्रु  - पाँच मिनेटमा पत्ता लगाउनुहोस् !

बिन्दास यात्रु 

बिन्दास यात्रुलाई लाइट टाइमको बाल मतलब । कहिले प्लेन रनवेमा गुडिसकेपछि एयरपोर्ट पुग्छन् । कहिले आकाशमा उडिसकेपछि काउन्टरमा झुल्किन्छन् । यिनका लागि प्लेन छुट्नु पठाओ छुट्नुजस्तै हो । टिकट क्यान्सिलेसन इनड्राइभ क्यान्सिलेसनजस्तै हो । प्रायः स्पोन्सर्ड टिकटमा उड्नेहरूमा यो स्वाभाव पाइन्छ । उनिहरूको सिद्धान्त हुन्छ, ‘उडिहाले बाउको, छुटिहाले साहुको, मलाई बाल !’

उदास यात्रु

यिनीहरूलाई प्लेन चड्नु र सोला चढ्नु उस्तै लाग्छ । जहाजको टिकट र स्वर्गको टिकटमा केही फरक देख्दैनन् । मुहारमा हरक्षण देखिन्छ, औंसी । उड्ने बेलामा सबै लेनदेन परिवारलाई बताउँछन् । अवतरणपछि लेन सम्झिन्छन् , देन बिर्सिन्छन् । बिहे खान हिँडेको हो कि मलामीबाट फर्किएको हो, छुट्याउन सकिन्न । बरु २० हजारको गाडी रिजर्भ गर्छन् तर ५ हजारको टिकट काट्न यस्ता यात्रुका हात लल्याकलुलुक हुन्छन् । 

शूरदास यात्रु

शूरदासहरू यति आँटिला हुन्छन् कि प्लेन चढ्ने भनेपछि आँखा चिम्लिएर एयरपोर्ट पुग्छन् । जहाजको मेन्टिनेन्स हुँदै गरे पनि उडाइहाल्न किचकिच दिन्छन् । उनीहरूलाई वेदरको मतलब हुन्न, फिदर घुमे पुग्छ । जहाज होल्ड हुँदा तिनलाई पटक्कै डर लाग्दैन । सेम फेयरमा एक्स्ट्रा टाइम लाइटको मजा लिन्छन् । मौसमको गडबडीले बम्पिङ गरे पनि उडिरहेको प्लेनबाट जम्पिङ गरौंला झैं गर्छन् । झन् बादलमा जहाज हराउँदा मादल बजाउँदै रमाउँछन् । 

पढनदास यात्रु 

प्लेनमा चढ्नासाथ म्यागेजिन पल्टाउँछ । पहिला फोटोफोटो हेर्छ । फेरि म्यागेजिनको हेडलाइन हेर्न सुरु गर्छ । एउटा आर्टिकल पढ्न थाल्छ । जहाज हल्लिएपछि बन्द गर्छ । हल्लाउन छोडेपछि अर्को आर्टिकल पढ्न थाल्छ । पढ्न छोडेर मोबाइल खोल्छ । मोबाइलमा केही हेरेजस्तो गर्छ । पुनः म्यागेजिन तान्छ । ओल्टाउछ, पल्टाउँछ, राख्छ । उत्रिने बेलासम्म म्यागेजिन हातमै हुन्छ तर पढेको कुरा केही याद हुन्न ।

पावरफुल यात्रु 

यिनीहरूको पावर सोझै टावरसँग जोडिएको हुन्छ । यिनमा सर्वसाधारण यात्रुलाई क्यान्सिल गराएर आपूm उड्ने असाधारण क्षमता हुन्छ । प्लेनको स्टेसन म्यानेजरलाई औंलामा घुमाउने जादु हुन्छ । एयरपोर्ट अथोरिटीलाई इसाराले नचाउने कला हुन्छ । यिनीहरू उड्दाउड्दैको प्लेन बसाउन सक्छन् । बस्दाबस्दैको जहाज उडाउन सक्छन् । पाइलटी ज्ञान नभए पनि बहुलट्ठी लाइङ सिकाउन जान्दछन् । पावरफुल प्यासेन्जर ककपिटमा घुस्ने डेन्जर क्षमता राख्दछ । 

पावरलेस यात्रु 

आनो टिकटमा अर्को उड्दा पनि गुनिलो गाईजस्तो उग्राएर बस्छन् । ५०० ग्राम वेट बढी हुँदा पनि ६०० ग्राममा पैसा तिर्छन् । यहाँसम्म कि यिनलाई इसेवाले पनि टिकट प्याक देखाइदिन्छ । ट्राभल एजेन्सीमार्फत् सबैभन्दा महँगो टिकट किन्ने यिनै हुन् । जो होचो, उसैको मुखमा घोचो भनेजस्तो, लाइटमा सामान यिनैको छुट्छ । सबैभन्दा ढिलो ब्यागेज आउने पनि यिनैको हो । यहाँसम्म कि यिनीहरूलाई ट्याक्सीले पनि प्लेन टिकटभन्दा महँगो भाडा ठटाइदिन्छ । 

म्यानरलेस यात्रु 

म्यानरलेसहरू म्यान र वमेन दुवै हुन सक्छन् । चुइँगम चपाएर सिटमुनि कोच्नु, सँगैको यात्रुलाई कुहिनाले घोच्नु, चकलेटको बोक्रा ट्रे टेबलमा ठोस्नु यिनीहरूको राष्ट्रिय स्वभाव हो । उडिरहेको प्लेनमा मोबाइल रिसिभ गर्नु, धूम्रपान निषेधित क्षेत्रमा धुवाँ उडाउनु यिनका लागि सामान्य कुरा हो । क्रुलाई ल्याङ गर्नु र पेसेन्जरलाई ल्याङल्याङ गर्नु यिनको सोख हो । नजान्नेलाई सिकाउँदा मान्छन् तर म्यानारलेसहरू जानेर पनि मान्दैनन् । म्यानरलेस यात्रु चढेको प्लेन र माछाबजार उस्तै लाग्छ । 

काँतर यात्रु 

टेकअफ लिँदा स्वास अड्किएजस्तो हुन्छ । ल्यान्डिङ गर्दा दिमाग खुस्किएजस्तो लाग्छ । जहाज हल्लिँदा मुटु काँप्छ । बादलमा पस्दा सातो जान्छ । होल्डमा बस्दा पिसाब आउँछ । डाइभर्ट गर्दा डाइपर चाहिन्छ । एयरहोस्टेस हाँस्दा भर लाग्छ । सिरियस हुँदा डर लाग्छ । जहाज हल्लिँदा मुटु हल्लिन्छ । तल हेर्दा रिँगटा लाग्छ । बाहिर हेर्दा सातो जान्छ । आँखा चिम्लिँदा पुत्लो हराउँछ । 

आँटर यात्रु 

टेकअप लिँदा हनुमानको फिलिङ्स आउँछ । ल्यान्डिङ गर्दा विन्ध्याचलजस्तो लाग्छ । बादलमा पस्दा स्वर्गलोकजस्तो लाग्छ । उचाल्दा रेस्लिङजस्तो लाग्छ । पछार्दा कुस्तीको मजा आउँछ । हल्लाउँदा कृष्णझुलाको याद आउँछ । मौसम खराब हुँदा यमदेवको प्रार्थना गर्छ । वेदर क्लियर देख्दा इन्द्र भगवानको सम्झना आउँछ । 

ढाँटर यात्रु 

ढाँटरहरू मोवाइल स्विच्डअफ गरेँ भनेर ढाँटछन् । ऊ जहाजको सिटमा घुँडा मारेर बस्छ । ट्रे टेबल खोल्दै बन्द गर्दै गर्छ । बटम थैली च्यात्छ । वाटर ग्लास कुच्याउछ । चकलेटका खोल सिटमुनि घुसार्छ । अर्को सिटमा बस्ने यात्रुको काँधमा टाउको राख्छ । जबर्जस्ती बोल्न खोज्छ । खुट्टा बोकाउछ । जुत्ता खोलेर बस्छ । मोजा गनाउँछ ।