नेपालमा विमान उडाउनु सजिलो छैन । हिमाल र पहाडले घेरिएका सोलुखुम्बुको लुक्लाजस्ता विमानस्थल जति सुन्दर र लोभलाग्दा देखिन्छन्, त्यहाँ उडान भर्न र अवतरण गर्न उति नै जोखिमपूर्ण र मुश्किल छ । यही कठिनाइका कारण इन्स्ट्रक्टर पाइलट सुनिल गुरुङ आफ्नो सन्तानलाई पाइलट पेसामा ल्याउन चाहँदैन थिए । तर सुनिलका छोरा सिद्धार्थ बाबुको बिँडो थाम्न पाइलट बनेरै छाडे ।
उसो त शिक्षकका सन्तान शिक्षक, डाक्टरका सन्तान डाक्टर बन्ने चलन नयाँ होइन । परिवारमा अभिभावक र ज्येष्ठ सन्तानले जुन पेसा अपनाउँछन्, अन्य सदस्यले पनि सोही पेसा अपनाउने सम्भावना ज्यादा हुने केही अध्ययनले पनि पुष्टि गरिसकेका छन् । परिवारका सदस्य एउटै पेसामा हुनुका फाइदा र बेफाइदा दुवै छन् । एकै परिवारबाट सुनिल र सिद्धार्थको बाबुछोराजस्तै दिदीभाइ कोमल बस्नेत र शुभव बस्नेत तथा श्रीमान्श्रीमती मोनिका प्रजापति र सुरज भण्डारी पनि विमान उडाइरहेका छन् ।बुध्द एयरका बाबुछोरा
बुबा – सुनिल गुरुङ, इन्स्ट्रक्टर पाइलट, बुध्द एयर । छोरा – सिद्धार्थ गुरुङ, जुनियर क्याप्टेन, बुध्द एयर
सन् २००९ मा ११ कक्षा पढ्दैगर्दा किशोरवयका सिद्धार्थ पहिलो पटक हिमाल हेर्न माउन्टेन फ् लाइटमा यात्रा गरिरहेका थिए । विमान उड्नुअघि उनी ककपिटको वातावरण नियालिरहेका थिए, जहाँ उनका बुबा क्याप्टेन सुनिल र अर्का कोपाइलट उडानको तयारी गरिरहेका थिए । उडान सुरु हुन लागेपछि उनी सिटमा आएर बसे तर उनको आँखामा भने बुबाको काम झल्झली आइरहेको थियो । ‘काठमाडौंबाट विमान उडेको केही समयपछि नै मैले हिमाल देख्न थालेँ, तर म कुन हिमाल हो चिन्दैनथेँ,’ सिद्धार्थ भन्छन् । माउन्टेन फ्लाइट सकेर घर फर्किंदासम्म उनले निश्चय गरिसकेका थिए, म बुबाजस्तै पाइलट बन्छु ।
छोरा इञ्जिनियर बनिदिए हुन्थ्यो भन्ने सुनिललाई लागेको थियो । ‘मलाई पनि परिवारले त डाक्टर बन्नु भनेको थियो,’ सुनिलले भने, ‘तर म पाइलट बनेँ ।’ सुनिलका बुबा अफ्रिकी राष्ट्र सुडानमा संयुक्त राष्ट्रसंघमा काम गर्थे । सुनिल सन् १९८७ मा बुबासँग सुडान घुम्न गएका थिए । त्यहीँ नै उनले आफू अमेरिका पढ्न जान चाहेको बुबालाई बताए । एक वर्ष अमेरिका बसेर सुनिल नेपाल फर्किए । सन् १९८८ मा पाइलट तालिम सकेपछि उनी दुई वर्ष कामविहीन भए । त्यो बेला नेपालमा एक मात्र शाही नेपाल वायुसेवा निगम सञ्चालनमा थियो । सन् १९९१ मा सञ्चालनमा आएको एभरेस्ट एयरमा १९९२ बाट सुनिलले विमान उडाउन थाले । सन् १९९७ मा एभरेस्ट एयर बन्द भयो र त्यही वर्ष बुध्द एयर सुरु भयो । ५ वर्षको हिमाली र पहाडी क्षेत्रको उडान अनुभवपछि उनले बुध्द एयरका विमान उडाउन थाले । पहाडका छोटा धावनमार्गमा उडान गरिसकेका पाइलटलाई तराईका विमानस्थलमा उडान गर्न सजिलो हुने उनको अनुभव छ ।
पहिलो माउन्टेन फ्लाइटबाट फर्केलगत्तै सिद्धार्थले आफ्नो निश्चय बुबाआमालाई निर्धक्क सुनाए । ‘बुबाआमाले सुरुमा पाइलट नबन भन्नुभएको थियो,’ सिद्धार्थ विगत सम्झिँदै भन्छन्, ‘तर पछि मान्नुभयो ।’ नेपालमा विमान उडाउन जोखिमपूर्ण छ भन्ने थाहा भए पनि सुनिलले छोराको निर्णयको कदर गर्नु उचित देखे र साथसहयोग दिए ।
बुबा पाइलट भएका कारण अमेरिकामा तालिम लिन जानुअघि नै सिद्धार्थले विमान उडान र अवतरण गर्ने तरिका जानिसकेका थिए । सुनिलका एक साथीको न्युयोर्कमा विमान उडाउन सिकाउने सिमुलेटर थियो । प्रतिघण्टा ४०० डलर शुल्क लाग्ने भएपनि साथीले सुनिलसँग पैसा लिएनन् । ‘बुबाले बिचक्राफ्टमा विमान उडान र अवतरण गर्न सिकाइसक्नु भएको थियो । त्यसैले होला, अमेरिकामा गएर दुई सिटे जहाज उडाउन सिक्दा सजिलो महसुस भयो,’ सिद्धार्थले भने । अमेरिकामा तालिम सकेर उनी २०१२ को जुलाईमा नेपाल फर्के ।
बुबा बुध्द एयरमा नै चिफ इन्स्ट्रक्टर पाइलट भएकाले सिद्धार्थलाई जागिर पाउन मुस्किल भएन । यात्रुका रुपमा पहिलो पटक माउन्टेन फ् लाइट गरेको ४ वर्षपछि सिद्धार्थ आफैँले पाइलट भएर माउन्टेन फ्लाइट गरे । उनले पहिलो पटक पाइलट बन्ने सपना माउन्टेन फ्लाइटमै यात्रा गर्दा देखेका थिए । पाइलट बनिसकेपछि पहिलो व्यवसायिक उडान पनि माउन्टेन फ्लाइट नै गरे । ‘त्यसबेला आफ्ना सपना सार्थक भएजस्तो महसुस गरेँ,’ सिद्धार्थले सुनाए । हाल इन्स्ट्रक्टर पाइलट सुनिल र जुनियर क्याप्टेन सिद्धार्थ दुवै बाबुछोरा बुध्द एयरमा कार्यरत छन् ।
पतिपत्नीको उडान
पत्नि – मोनिका प्रजापति, जुनियर क्याप्टेन, यति एयरलाइन्स
पति – सुरज भण्डारी, सिनियर फस्ट अफिसर, हिमालय एयरलाइन्स
मोनिका प्रजापति र सुरज भण्डारीको पहिलो भेट सन् २०११ मा भएको थियो । दुवै यति एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ ट्रेनिङमा भेटिएका थिए । त्यसलगत्तै सिमुलेटरमा तालिम लिन जाँदा पनि उनीहरू सँगै भए । सँगै तालिम लिएको हुनाले उनीहरूले एकअर्कोलाई राम्ररी बुझेका थिए । त्यसैले उनीहरू एकअर्काप्रति प्रेमाशक्त हुन समय लागेन । सुरजलाई भेटेर मन पराइसकेपछि मोनिकाले बुबालाई पनि यो कुरा सुनाइन् । ‘आफ्नो जिन्दगी उहीसँग बिताउन चाहन्छौ भने हामीलाई केही फरक पर्दैन भन्नुभयो बुबाले,’ मोनिका सम्झिन्छिन्
दुवैतर्फ घरमा कुरा भएपछि दुवै परिवार ट्यामरी रेष्टुरेन्टमा भेट्ने तय भयो । तर पारिवारिक भेटमा कुरा चाहिँ अर्कोतर्फबाट सुरु भए हुन्थ्यो भन्ने दुवै पक्षलाई लाग्यो । निकैबेर विवाहबारे कुरा सुरु नभएपछि सुरज आफैँ अघि सरे र भने, ‘तपाईंहरू हाम्रो बिहेको कुरा सुरु नगर्ने भए म आफैँ भन्छु । हामी एकअर्कालाई मनपराउँछौ । अब बिहे गर्न चाहन्छौँ । तपाईंहरूको विचार के छ ?’ तर मोनिकाको हजुरबा बितेकाले त्यसको एक वर्षपछि मात्रै २०१५ मा उनीहरूको विवाह भयो ।
सुरजको सपना थियो, जेट उडाउने । ‘त्यसैले २०१५ मा जोखिम मोलेर विमान नै नभएको हिमालयमा ज्वाइन गरेँ,’ सुरज भन्छन्, ‘बिहेको भोलिपल्ट म हिमालयमा अन्तर्वार्ता दिन गएको थिएँ ।’ केही समय कुरेपछि उनी अन्तर्राष्ट्रिय उडान गर्न थाले । ‘आन्तरिक उडान गरिराखेको मलाई एकैचोटि अन्तर्राष्ट्रिय उडान गर्दा पौडी खेल्न नजान्ने मान्छे समुद्रमा हाम फालेजस्तो भयो,’ उनी सुनाउँछन् ।
सन् २००८ मा फिलिपिन्सबाट तालिम लिएर फर्केकी मोनिकाको पहिलो उडान २००९ मा सिमिकोटका लागि थियो । २००८ मै अमेरिकामा तालिम सकेर फर्केका सुरजले फेरि फ्लाइट इन्स्ट्रक्टरको एकवर्षे तालिम लिए । त्यसपछि एक वर्ष नेपाली सेनामा काम गरे र २०१२ मा यति एयरलाइन्समा उडान गर्न थालेका थिए ।
मोनिका र सुरजको अनुभवमा विवाहपछि धेरैकुरा परिवर्तन भएको छ । ‘रेस्टुरेन्टमा भेट्ने, स्काइपमा घण्टौँ कुरा गर्ने समय बच्यो,’ सुरज भन्छन्, ‘पाइलट जोडी कम छन् । त्यसैले अहिले हामी सबैको आँखामा पर्न थालेका छौँ ।’ अन्तरजातीय विवाह भएपनि आफूले कुनै समस्या नभोगेको मोनिका बताउँछिन् । ‘सुरज केयरिङ र सपोर्टिभ छ । ऊ जस्तो मेहनती मान्छे मैले देखेको छैन,’ मोनिका भन्छिन्, ‘जीवनसाथी एउटै क्षेत्रमा हुँदा पेसालाई बुझेको हुन्छ त्यसैले झगडा हुँदैन । तर कहिलेकाहीँ सेड्युल मिलाउन नसक्दा चाहिँ भेट्न गाह्रो हुने रहेछ ।’
दिदीभाइ पाइलट
दिदी – कोमल बस्नेत, सिनियर क्याप्टेन । भाई – शुभव बस्नेत, जुनियर क्याप्टेन, बुध्द एयर
उमेरको फरक दुई वर्ष मात्र भएकोले होला कोमल र शुभव बस्नेत दिदीभाइ कम साथी बढी थिए । सँगै स्कुल आउजाउ गर्ने दुई जनाबीच झगडा नपरेको दिन हुँदैनथ्यो । तर जति नै झगडा परे पनि दुवैलाई खुब मनपर्ने आइसक्रिम भने सँगै खान छुटाउँदैनथे । कम्प्युटरमा पनि उडानसम्बन्धी नै खेल खेल्थे उनीहरू । खेल्दाखेल्दै दुवै जनाले कहिलेदेखि पाइलट सपना देख्न थाले, उनीहरूलाई नै थाहा छैन ।
छोरालाई भन्दा छोरीलाई बढी महत्व दिने परिवारमा हुर्केका थिए कोमल र शुभव । ‘हाम्रो परिवार अलि फरक छ,’ कोमल भन्छिन्, ‘पहिले छोरीले भनेको कुरा पूरा हुन्छ, अनि मात्र छोराको पालो आउँछ ।’ त्यसैले नै पाइलट बन्ने चाहना कोमलको पहिले पूरा भयो । पाइलट तालिम लिन उनी सन् २००६ मा अमेरिकाको टेक्सस गइन् । जागिरका लागि तालिममा जानुअघि नै बुध्द एयरमा कुरा भइसकेकोले नौ महिने तालिम सकेर नेपाल फर्केलगत्तै उनले काम सुरु गरिन् । १ अप्रिल २००८ का दिन उनले काठमाडौँदेखि सिमरासम्म पहिलो व्यवसायिक उडान भरिन् ।
छोरी पाइलट बनेपछि परिवारमा खुसी छाएको थियो । दिदीले विमान उडाएपछि शुभवमा पनि पाइलट बन्ने चाहना झनै तीव्र भयो । त्यसैले उनी सन् २००९ मा तालिम लिन फिलिपिन्स गए । तालिम अवधिभर फोनबाटै भए पनि कोमलले भाइलाई ध्यान दिनुपर्ने विषयमा सल्लाह दिइरहिन् । शुभव तालिम सकेर २०१० मा नेपाल फर्किए । तर तालिमपछि काम पाउन उनले करिब दुई वर्ष पर्खिनुप¥यो । ‘त्यो समयमा आफन्तहरू भेट भए कि तिमी कहिलेदेखि प्लेन उडाउने भनेर सोध्थे,’ उनले भने, ‘त्यसैल मैले आफन्तसँग निकै कम भेटघाट गरेँ ।’
अन्ततः उनले काम पाए र २०१२ को अक्टोबर १८ मा काठमाडौँ–भैरहवा पहिलो उडान भरे । ‘पहिलो उडान गर्न पाउँदा अत्यन्त उत्साहित थिएँ, डर पनि लागेको थियो,’ शुभव भन्छन्, ‘ट्रेनिङमा दुई सिटे विमान उडाएको, यहाँ ठूलो विमान उडाउनुपर्दा सुरुमा मुस्किल हुने रहेछ । पढेजस्तो नहुने रहेछ ।’
कोमल र शुभवलाई सँगै विमान उडाउन मन छ । तर ककपिट रिसोर्स म्यानेजमेन्ट पालना नहोला भनेर रक्तसम्बन्ध भएकालाई उडान गर्न एयरलाइन्सले दिँदैन । उसो त उनीहरूको घरमा पाइलट पेसामा आबद्ध चार सदस्य हुने भएका छन् । कोमलका पति पाइलट नै हुन् भने शुभवकी हुनेवाली पत्नी पनि पाइलट नै हुन् । शुभवले आगामी जनवरीमा विवाह गर्दैछन् । त्यसैले घरमा चारैजना भेट हुँदा सबैभन्दा बढी गफ उडानकै हुन्छ । ‘हामी ४ जना गफमा व्यस्त हुँदा दिदी, बुबा र आमा चाहिँ तिमीहरू आफ्नै मात्रै कुरा गर, हामी हिँड्यौँ भन्नुहुन्छ,’ शुभव सुनाउँछन् ।
कोमल र शुभवको सम्बन्धमा पहिलेदेखि अहिलेसम्म कत्ति पनि फरक आएको छैन । ‘मैले जे भनेपनि दिदीले मान्नुहुन्छ,’ शुभव भन्छन्, ‘उडानका समस्यामा पनि हामी छलफल गर्छौँ ।’